काठमाडौँ /१२ चैत – चैत१५ गते बिहीबारदेखि सुरु हुने यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा १० हजार ८ सय ६ ओटा विद्यालयका ५ लाख ४ हजार ४ सय १४ जना विद्यार्थीहरू सहभागी हुँदै छन् । सामुदायिक र संस्थागत गरी २, लाख ५० हजार ७ सय ७२ छात्रा, २ लाख ५३ हजार ६ सय २७, छात्र र अन्य १५ जना परीक्षार्थीहरू सहभागी हने भएको हुन् ।
कुल परीक्षार्थीहरूमध्ये ५सय ६ विद्यालयका १५ हजार ७ सय ४९ जना परीक्षार्थीहरू प्राविधिक धार तर्फका हुनेछन् । त्यसैगरी २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक÷सहयोगी कर्मचारी र सुरक्षाकर्मी समेत गरी जम्मा ७७ हजार ५ सय ५जना जनशक्ति प्रत्यक्ष रूपमा परीक्षा केन्द्रमा खटिने बोर्डको भनाई छ ।
माध्यमिक शिक्षा परीक्षालाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सात ओटै प्रदेशका प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको समन्वयमा ७७ ओटै जिल्ला परीक्षा समन्वय समितिहरूबाट परीक्षामा खटिने केन्द्राध्यक्ष लगायतका जनशक्तिलाई अभिमुखीकरण गर्ने कार्य सम्पन्न गरी प्रश्नपत्र, उत्तरपुस्तिका लगायत परीक्षासँग सम्बन्धित सामग्रीहरू नजिकैको सुरक्षा निकाय र परीक्षा केन्द्रमा पु¥याउने जस्ता तयारी सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न भइसकेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए ।
उनले यो वर्षको एसईई माध्यमिक शिक्षा पाठ्यक्रम २०७८ अनुसार सञ्चालन हुने पहिलो परीक्षा भएको र एउटा नियमित प्रक्रिया भएकोले सम्पूर्ण परीक्षार्थीहरूलाई बिना सङ्कोच उच्च मनोबल र निर्भयका साथ उक्त परीक्षामा सहभागी हुन आग्रह गरेका छन् ।
साथै राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने उक्त परीक्षालाई स्वच्छ, व्यवस्थित, मर्यादित, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न गराउन परीक्षासँग प्रत्यक्ष र परोक्ष रूपमा संलग्न सबै सरोकारवालाहरूलाई परीक्षा सम्पन्न नहुँदासम्म आवश्यक सहयोग र समन्वयका लागि आग्रह गरेका छन् ।