युवराज रेग्मी
झापा/८ चैत – नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष सोमनाथ गिरिले गुणस्तरीय शिक्षा भनेको चर्का नारा लगाएर र गीत गाएर प्राप्त नहुने बताउदै यसका लागि शिक्षा छेत्रमा गुणस्तरीय लगानी र गुणस्तरीय व्यवस्थापन आवश्यक रहेको बताएका छन् ।
नेपाल शिक्षक संघले आयोजना गरेको जिल्ला कार्य समिति झापाको २५ औँ प्रतिनिधिसभामा आफ्ना धारणा राख्दै गिरिले शिक्षामा उचित लगानी र व्यवस्थापनको खाँचो रहेको औँल्याएका हुन् ।
राज्यले शिक्षालाई औद्योगिक आँखाले हेर्दै शिक्षामा व्यापारिक दृष्टिकोण राख्नाले शिक्षा भनेको किनबेच गर्ने साधनको रूपमा राज्यले हेर्ने गरेका कारण राज्यले गुणस्तरीय शिक्षा दिन नसकेको औँल्याए ।
गिरीले पछिल्लो ६ महिनाको तथ्यांकमा करिब ३ लाख ६० हजार भन्दा बढी युवाहरू रोजगारीका लागि विदेशीएको बताउदै यो अवस्था नेपालका लागि दुखदायी पूर्ण रहेको बताए । सन १९७० मा विश्वको अति गरिब मुलुकको सुचीमा रहेको फिनल्याण्डले आफू समुन्नत र समृद्ध बन्न प्राविधिक युक्त शिक्षामा लगानी गर्दै आफ्नो सम्पूर्ण लगानी शिक्षा छेत्रमा खर्च गरेकोले आज आएर विश्वको सबैभन्दा शिक्षित र समृद्ध राष्ट्र बन्न सफल भएको इतिहास अवगत गराउँदै नेपाल राज्यलाई शिक्षा छेत्रमा लगानी गर्न अब अझै पछि नपर्न सुझाब दिएका छन् ।
अर्को प्रसङ्गमा संसारका सयौँ देशहरूमा सङ्घीयता रहेता पनि नेपाल बाहेक कुनै पनि मुलुकले शिक्षाको सम्पूर्ण दायित्व स्थानीय तहलाई नदिइएको बताउदै नेपालमा भने शिक्षाको सम्पूर्ण अधिकार स्थानीय तहलाई दिइएको भन्दै राज्य आफ्नो दायित्वबाट पन्छिन खोजेको र शिक्षाको दायित्व स्थानीय तहलाई दिन नहुनेमा जोड् दिए ।
उनले शिक्षाको व्यवस्थापकीय अधिकार मात्र स्थानीय तहलाई दिनुहुने र अन्य सम्पूर्ण अधिकार सङ्घीय सरकारमै रहनुपर्ने बताए ।
नेपाल शिक्षक संघ झापाका अध्यक्ष तोया नाथ दाहालको अध्यक्षतामा झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा प्रमुख अथिती गिरि सहित कार्यक्रमका विशिष्ट अतिथि शिक्षक संघका केन्द्रीय महासचिव ज्ञानेन्द्र रावल, विशिष्ट अतिथि केन्द्रीय उपमहासचिव नारायण प्र. तिमल्सिना, शिक्षक संघ कोशी प्रदेश अध्यक्ष तेज प्र. चौलागाईं, विशिष्ट अतिथि नेपाली काँग्रेस जिल्ला सचिव कृष्ण हुमागाँइ लगायतले सम्बोधन गरेका थिए ।
झापाका १५ स्थानीय पालिकामा कुल २ हजार ३२ सदस्यता रहेको शिक्षक संघ झापाको २५ औं जिल्ला प्रतिनिधिसभामा अध्यक्ष, सचिव र अर्थ सचिवले क्रमशः प्रस्तुत गरेको अध्यक्ष प्रतिवेदन , साङ्गठनिक र आर्थिक प्रतिवेदनलाई सर्वसम्मत पारित गरिएको थियो ।
शिक्षक संघ जिल्ला कार्यसमिति झापा उपाध्यक्ष लता खरेलले स्वागत गरेको कार्यक्रम संस्थाका सचिव देवेन्द्र चन्द्र सिंह राजवंशीले सञ्चालन गरेका थिए ।