काठमाडौं/२ चैत – मधेश प्रदेशमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीहरूले ९ महिनासम्म तलब नपाएको गुनासो गरेकाछन् । स्थानीय तहका निर्वाचित नेतृत्वका बीचमा हुने आपसी द्वन्दका कारण समयमा पालिका परिषद् सम्पन्न हुन नसक्दा तलब नपाएको गुनासो गरेका हुन् ।
रौतहटको फतुवा विजयपुर नगरपालिका, सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका तथा सर्लाही जिल्लाका हरिपुरवा नगरपालिका र चन्द्रनगर गाउँपालिकाका शिक्षक–कर्मचारीले २०८० श्रावण महिना पछि तलब भत्ता पाएका छैनन् ।
शिक्षकहरूले पटक पटक तलब उपलब्ध गराउन दबाब दिएपछि हरिपुरवा नगरपालिका रकम निकासा गर्नका लागि शिक्षकहरूको खाता खोलेको शिक्षकहरूले बताएका छन् । उनिहरूलाई छिटै तलब उपलब्ध गराईने जनाएका छन् । अन्य पालिकाहरूले पनि तलब उपलब्ध छिटै आश्वासन दिएको शिक्षकहरूले बताएका छन् ।
त्यसैगरी तलब नपाएपछि रौतहटको फतुवा विजयपुर नगरपालिकाका शिक्षकहरू आज तेस्रो दिन पनि धर्ना बसेका छन् । शुक्रवार कार्यालय समय सुरु हुनासाथ बिहान १० बजे देखि दुई दर्जन बढी शिक्षक नगरपालिका अगाडी धर्ना बसेका हुन् ।
आन्दोलनरत शिक्षकहरूले खातामा तलब नगएसम्म धर्ना जारी राख्ने अडान लिएका छन् । साथै धर्ना बसेका ४ माविका प्रधानाध्यापक सहित १६ विद्यालयका प्रधानाध्यापकहरूले वार्षिक परीक्षा बहिष्कार गरेका थिए । बहिष्कारको कारण केही विद्यालयमा परीक्षा सञ्चालन भएको छ भने केही विद्यालयमा स्थगित भएको छ । नगरक्षेत्र अन्तर्गत ३२ विद्यालयमा अध्ययनरत कक्षा १ देखि ९ सम्मका झन्डै ६ हजार बालबालिका मध्ये १६ विद्यालयका ३ हजार विद्यार्थी वार्षिक परीक्षामा सहभागी भएका छन् भने त्यतिकै सङ्ख्यामा विद्यार्थीहरू परीक्षा दिनबाट वञ्चित भएका हुन् ।
फतुवा विजयपुर नगरक्षेत्र अन्तर्गत प्रस्तावित सहित ७ मावि ४ नमाबी र २१ प्राथमिक विद्यालयमा कार्यरत २०४ शिक्षक कर्मचारी तथा अन्य क्षेत्रमा कार्यरत गरी ३५० कर्मचारी गत साउन देखि हालसम्म तलब पाएका छैनन् ।