काठमाडौँ /२ चैत – त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका डिन प्रा.डा. चित्र बहादुर बुढाथोकीले विश्वविद्यालयहरू किताबको ज्ञान मात्र पढाउने नभइ व्यवहारिक ज्ञान दिने कार्यमा केन्द्रीत हुनु पर्ने बताएका छन् ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपाल वाग्मती प्रदेशको त्रिभुवन विश्वविद्यालयमा आयोजना गरिएको चौथो प्रदेश अधिवेशनको उद्घाटन सत्रमा उनले आज विश्वविद्यालयमा पढाउने प्राध्यापक प्राध्यापक जस्तो नभएको, विद्यार्थी विद्यार्थी जस्तो नभएको, विश्वविद्यालयहरू किताबी ज्ञानमा मात्र केन्द्रित भएकोले उच्च शिक्षामा राम्रो उपलब्धि हासिल गर्न नसकिएको कुरा उल्लेख्य गर्दै विश्वविद्यालयहरू व्यवहारिक शिक्षामा केन्द्रीत हुनु पर्ने विषय बताएका हुन् ।
उनले विद्यार्थी भर्ना राम्रो देखिए पनि अध्ययन गर्न आउने विद्यार्थी घटदै गइरहेको, सिकाइ केन्द्रित शिक्षामा कमि भएको, विद्यार्थी, शिक्षक र प्राध्यापक विश्वविद्यालयको नभएर अलग अलग पार्टीको भएकोले शिक्षा क्षेत्र बिग्रिरहेकोमा चिन्ता व्यक्त गरे । साथै विश्वका विश्वविद्यालयहरूमा राम्रो शैक्षिक वातावरणमा पठनपाठन हुने, विश्वका अलग अलग विचारहरूमा बहस छलफल हुने गरेको तर हाम्रोमा भने त्यो वातावरण नै हुन नसकेको भनाई यनको थियो । विद्यार्थी परिषद्ले शिक्षा क्षेत्रमा गरिरहेको सकारात्मक कार्यले नेपालको शिक्षा क्षेत्रमा राम्रो सुधार ल्याउने विश्वस्त भएको समेत उनले बताए ।
त्यसैगरी उद्घाटन सत्रमा विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिवले नेपालको शिक्षा गलत दिशा तर्फ अगाडि बढिरहेकोले यसलाई नेपाली माटो सुहाउँदो किसिमले पाठ्यक्रम निर्माण गर्न आवश्यक रहेको र हाम्रो इतिहास, भूगोल, महापुरुषहरूको बारेमा ज्ञान दिनु पर्ने, नैतिक र संस्कृत शिक्षालाई पुन लागु गरिनु पर्ने जस्ता विषयहरू बताउदै आजको युवा पुस्तालाई राष्ट्र पुनर्निर्माणको दिशामा अगाडि बढन आग्रह गरे ।
त्यसैगरी अधिवेशनका स्वगत समिति अध्यक्ष एवम् महर्षि फाउन्डेसनका अध्यक्ष दीपक बाँस्कोटाले नेपालमा वैदिक शिक्षा, ज्ञान, विज्ञान, र योगलाई आजको युवा पुस्तालाई सिकाउनु पर्ने आवश्यकता रहेकोले त्यस दिशामा सबै मिलेर कार्य गर्नु पर्ने कुरा बताए ।
नेपालको समग्र शिक्षा क्षेत्र सुधारका लागि परिषद्को चौथो प्रदेश अधिवेशन भन्ने मुलनाराका साथ तीन दिन सम्म सञ्चालन हुनेछ । अधिवेशनमा अलग अलग सत्रमा शैक्षिक र समसामयिक प्रस्ताव, खुल्ला अधिवेशन, सङ्गठनात्मक कार्यपद्धति, सैद्धान्तिक भूमिका , परिषद्को आगामी कार्य योजना, सांस्कृतिक कार्यक्रम, देशको वर्तमानमा अवस्थाको विषयमा छलफल हुने तथा नयाँ प्रदेश कार्यकारिणी समिति घोषणासँगै अधिवेशन सम्पन्न हुने विद्यार्थी परिषद्ले जनाएको छ ।