इम्पेरियल वर्ल्ड स्कुल : गणित शिक्षा सम्वन्धी प्रदर्शनी र सम्मेलन

काठमाडौं/१ चैत – गणितलाई कला, सिर्जनाको माध्यमबाट मनोरञ्जनात्मक वातावरणमा सिकाउने सिक्ने अवसरका लागि राजधानीमा गणितसँग सम्वन्धीत दुइदिने सिर्जनात्मक प्रदर्शनी र कार्याशाला सुरू भएको छ ।


बुढानिलकण्ठस्थित इम्पेरियल वर्ल्ड स्कुलले अन्तर्राष्ट्रिय गणित दिवसको अवसर पारेर अध्ययन अध्यापनमा गाह्रो विषयको रूपमा लिइने गणितलाई सरल र सहज रूपमा कला सिर्जनाको माध्यमबाट बुझाउन गणितसँग सम्वन्धीत प्रदर्शनीको आयोजना गरेको हो ।


नेपालका लागि इजरायलका राजदुत हनान गोडेरले विहिवार उद्घाटन गर्नुभएको यस प्रदर्शनीमा विद्यार्थीहरूले कागज, काठ, ढुङ्गा, माटो,अन्न, फूलपातलगायतका प्राकृतिक रूपमा उपलब्ध सामाग्री र विभिन्न रङ्गको माध्यमबाट बनाइएका चित्र र स्टलहरू राखिएका छन् ।


स्कुलका संस्थापक निर्देशक कुमार कार्कीले गत वर्षदेखि गणितलाई सरल र चाख लाग्दो रमाइलो गतिविधी चित्र, फोटो, पजलको अभ्यासबाट सिकाउने लक्ष्यले स्कुल परिसरमा घाम पानीले नबिग्रीने सामाग्रीको प्रयोग गरेर “गणित पार्क” बनाएको बताउनुभयो । साथै गणित विषय नबुझिने, गाह्रो हुन्छ, भन्ने अवधारणामा परिवर्तन ल्याउन सकिने विश्वाससहित आयोजित प्रदर्शनीको अवलोकनका लागि बुढानिलकण्ठ नगरपालिकालगायतका नीजि र सामुदायिक विद्यालयका विद्यार्थी, शिक्षकलाई आमन्त्रण गरिएको स्कुलले जनाएको छ ।


प्रदर्शनीको दोस्रो दिन भने गणित विज्ञ र गणितका शिक्षक, अभिभावक, विद्यार्थीबीच गणित कार्यशालाको आयोजना गरिएको छ । प्रधानाध्यापक जुनिता कार्कीले सो स्कुलमा अध्ययनरत कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूले गणितलाई सुत्र र विभिन्न विम्बात्मक अभ्याससहित सिक्ने क्रममा तयार भएका सिर्जनात्मक सामग्री नै प्रदर्शनीको प्रमुख आकर्षण हुन्, भन्नुभयो ।


उहाँले गणित सम्मेलनले विद्यालय शिक्षामा गणितमा रूपान्तरण, प्रभावकारी सिकाई र गणितको महत्व उजागर गर्न मद्दत मिल्ने विश्वास व्यक्त गर्दै हालसम्म सुत्रको माध्यमबाट सिकाउने गणित विषयलाई कला सिर्जनासँग जोड्दै मनोरञ्नात्मक माध्यमबाट पनि सिकाउन सकिने उदाहरण प्रस्ततु गरिएको बताउनुभयो । प्रधानाध्यापक कार्कीले गणित प्रदर्शनी, सम्मेलन एवं कार्यशालामा गणित विषय विज्ञ एवं शिक्षकहरूले कार्यपत्र प्रस्तुत र सजिलो सिकाईबारे छलफल हुने जानकारी दिनुभयो ।


काठमाडौँ विश्वविद्यालयका सह–प्राध्यापक विनोद पन्तले गणित विषय दैनिक जीवनमा समेत सधैं उपयोगमा आउने र सिक्ने रहर भए असम्भव विषय होइन, भन्दै गणित गाह्रो हुने भन्ने अवधारणामा परिवर्तन ल्याउन गणितबारे छलफल, कलात्मक ढङ्गले सिक्ने र सिकाउने अभ्यास आवश्यक रहेको बताउनुभयो ।