तनहुँ /६ फागुन – आँबुखैरेनी गाउँपालिका–१ स्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्तिका रूपमा बाख्राको पाठी दिइएको छ । छात्रवृत्तिका रूपमा नगद वा शैक्षिक सामग्री दिने चलन परिवर्तन गर्दै विद्यालयले तनहुँ जिल्लामै पहिलो पटक बाख्राको पाठी प्रदान गरेको हो ।
विद्यालयले तीनजना विद्यार्थीलाई छात्रवृत्तिका रूपमा पाठी वितरण गरेको प्रधानाध्यापक सुरेन्द्र बोगटीले जानकारी दिए। नगद वितरण गर्दा छिटो खर्च हुने र पुनः उही समस्या दोहोरिने भएकाले विद्यार्थीलाई आत्मनिर्भर बनाउन प्रेरित गर्ने उद्देश्यले छात्रवृत्तिमा पाठी वितरण अभियान सुरू गरिएको उनले बताए ।
’विद्यार्थीलाई आयआर्जनसँग जोड्न पहिलो पटक पाठी वितरण अभियान सुरू गरिएको हो। पैसा दिँदा खर्च हुने र अर्को वर्ष पनि उही विद्यार्थीलाई दिनपर्ने अवस्था आउँछ। पाठी दिएपछि विद्यार्थीको परिवारलाई समेत आयआर्जनमा जोड्न सकिने विश्वास लिएका छौं,’ उनले भने ।
प्रधानाध्यापक बोगटीका अनुसार कक्षा ८, ७ र ६ मा अध्ययनरत तीन छात्रालाई छात्रवृत्तिका रूपमा एक÷एक वटा पाठी वितरण गरिएको छ । विद्यालयमा स्थापना गरिएको दुइटा छात्रवृत्ति कोषबाट प्राप्त २१ हजार रूपैयाँमा तीनवटा उन्नत बाख्राको पाठी किनिएको उनले बताए ।
’बोर र जमुनापारी जातका बाख्राको पाठी उपलब्ध गराएका हौं। विद्यार्थी र अभिभावक प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास छ,’ उनले भने । उक्त छात्रवृत्ति काराखेती अस्मी स्मृति र गाउँवेशी कृषि अनुसन्धान केन्द्रबाट विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि उपलब्ध भएको हो ।
छात्रवृत्ति वितरण प्रभावकारी र दिगो बनाउन, दीर्घकालीन रूपमा आयआर्जनसँग जोड्न सुरू गरिएको अभियान प्रभावकारी हुने विश्वास लिइएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। ’यसले विद्यार्थीलाई आयआर्जन जोड्न सहयोग पुग्छ,’ उनले भने। रासस