काठमाडौँ /६ फागुन – सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक सङ्घले विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट कार्यविधि फरक फरक बनाइएको भन्दै उजुरी दर्ता गराएका छन् ।
उनीहरूले सुदूरपश्चिम विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयको भिसी नियुक्ति तथा विभिन्न विश्वविद्यालयको उपकुलपति छनौटका लागि तोकिएको मापदण्ड फरक फरक भएको भन्दै प्रधानमन्त्री कार्यालयदेखि संसद्को शिक्षा समिति सम्ममा उजुरी दर्ता गराएका हुन् ।
सङ्घले विश्वविद्यालयका ऐनले व्यवस्था गरेको सिफारिस समितिको प्रावधानको विपरीत भएको र सुदूरपश्चिम विश्वविद्यालय ऐन, २०६७ को परिच्छेद ९ को दफा २४ को उपदफा २ र ३ को विपरीत रहेर मापदण्ड बनाइएको सङ्घको दाबी गरेको छ ।
ऐनको प्रावधानविरुद्ध काम गरिरहेका छनौट समितिले विभिन्न विश्वविद्यालयको उपकुलपतिको छनौटका लागि तोकिएको मापदण्डले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति पदका लागि निवेदन दिने व्यक्तिहरूको लेखन, अध्ययन, अनुसन्धानको भार अन्य विश्वविद्यालयको भन्दा कम राखिएको छ भने पूर्वाञ्चल विश्वविद्यालयमा निवेदन दिन त्रिभुवन विश्वविद्यालयभन्दा दुई गुना र मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयमा सात गुना बढी लेख र रचना SCImago Journal Ranking मा Q1 देखि Q4 सम्म Rating भएको अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान परियोजना सम्पन्न गरेको हुनुपर्ने प्रावधान राखिएको छ ।
जसले गर्दा केही संकायका प्राध्यापकहरू छनोट हुनै नसक्ने प्रावधानहरू रहेको सङ्घको दाबी छ । मातृभाषा नेपालीमा गरिने अनुसन्धानप्रति आफ्नै मुलुकभित्र पनि स्पष्ट बेवास्ता गरेको देखिएको सङ्घले दिएको उजुरीमा उल्लेख गरिएको छ ।
उपकुलपतिको छनोट गर्न बनाएका मापदण्डहरू कुनै विधाको प्राध्यापक छनोटको लागि र पूर्वाग्रही ढङ्गले व्यक्ति केन्द्रित भई बनाएको जस्तो देखिन्छ । साथै विभिन्न विश्वविद्यालयको उपकुलपतिको छनोटको लागि अल्पसूचीको प्रक्रिया पनि विभेदकारी तथा नियोजित देखिन्छ उजुरीमा उल्लेख छ ।
योग्य उपकुलपति चयनका लागि बनाइएको छनोट समिति र तिनले बनाएका मापदण्ड विवादास्पद भएकोले सो प्रक्रिया रोकी नियमअनुसार अर्को आवश्यक पहलका साथै सम्पूर्ण विश्वविद्यालयमा एउटै मापदण्ड कायम गर्न माग गरेको ।