कास्की/५ फागुन- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देशको जनशक्ति विदेश पलायन हुनेक्रम बढिरहेको बताउँदै विश्वविद्यालयले दिने शिक्षा बढ्दो युवा विदेश पलायनलाई रोक्ने हुनुपर्ने बताएका छन् । गण्डकी विश्वविद्यालयको चौथो वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।
साथै शिक्षा क्षेत्रमा राजनीतिकरण हुन नहुने उल्लेख गर्दै उनले यसका लागि सबै इमानदार बन्नुपर्ने र विश्वविद्यालयले विद्यार्थीको विश्वास जित्न नसकेको उनको भनाइ छ ।
गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले युवा पलायनसँगै घरवार, संस्कृतिका साथै पूँजी पलायन भइरहेका कारण यसबारे गम्भीर बन्नुपर्ने बताए । गण्डकी विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट मुक्त राख्दै अनुसन्धान एवं रोजगारमूलक शिक्षामा जोड दिनुपर्ने उनको भनाइ छ ।
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वविद्यालयको अभावका कारण नभइ प्रदेश एवं देशको आवश्यकता अनुसारको शिक्षा दिने सोचका साथ गण्डकी विश्वविद्यालय स्थापना भएको स्पष्ट पारे ।
गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले विश्वविद्यालयले देशका लागि आवश्यक पर्ने जनशक्ति तयार गर्ने किसिमले त्यही किसिमका पाठ्यक्रम पढाउँदै अध्ययन अनुसन्धानमा जोड दिएको बताए ।