काञ्जीरोवामा विज्ञान तथा प्रविधि सम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौँ /२ फागुन – काञ्जीरोवा नेशनल माध्यमिक विद्यालयले स्टिम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रम विज्ञानमा महिला र केटीहरूको योगदानको सम्मान गर्ने दिनको ९फेब्रुअरी ११० अवसर पारेर कार्यक्रमको आयोगना गरिएको हो ।


कारखाना र रोबोटिक एसोसिएसनसँगको सहकार्यमा सञ्चालन भएको स्टिम अन्तरक्रियामा उपत्यकाका ६० भन्दा बढी विद्यालयका विद्यार्थी, शिक्षक तथा प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीका लागि नवीनतम आविष्कार सम्बन्धी चुनौती तथा रोबोटको प्रयोग, सञ्चालन तथा रोबोटिक्स प्रतियोगिता प्रमुख आकर्षण थिए ।


सो अवसरमा विभिन्न विद्यालयका विद्यार्थीहरूले विज्ञान र प्रविधि सम्बन्धी प्रतिस्पर्धामा सहभागी हुदै वैज्ञानिक सोच र प्रयोगले कसरी आधुनिक समाजलाई प्रभावित पार्न सक्छ भन्ने कुराको प्रत्यक्ष अनुभव गर्न पाए ।


साथै शिक्षकहरू स्टिम सम्बन्धी विविध अन्तक्र्रियात्मक गोष्ठीमा सहभागी थिए । पूर्व–प्राथमिक विद्यालयका प्रधानाध्यापकहरू अर्को एक गहन कार्यशालामा सहभागी भए भने कार्यशालामा विज्ञहरूले स्टिम विधिलाई कसरी साना बालबालिकाहरूको सिकाईमा प्रयोग गर्ने तथा यसबाट हुने फाइदा र यसका लागि आवश्यक श्रोत र साधनहरू सम्बन्धी विविध आयामहरूका बारेमा विचार–विमर्श गरे ।


कार्यशालामा समसामयिक शैक्षिक विषयहरूका अनेकन् पाटाहरूमा विशेष परिचर्चा गर्दै बालबालिकाहरूको सिकाइलाई कसरी सरल र सहज बनाउन सकिन्छ भन्ने उपायको बारेमा छलफल गरिएको थियो । स्टिम भेलाले नेपालमा विज्ञान, प्रविधि, इन्जिनियरिङ्, कला र गणितको एकीकृत तथा प्रभावकारी सिकाइ कसरी सम्भव हुन्छ र सो प्रयोजनका लागि कारखाना र रोबोटिक एसोसिएसन लगायत नवीनतम खोज गर्ने संस्थाहरूसँगको सहकार्य रहेको थियो ।


कोटेश्वरमा रहेको यस विद्यालयले गत वर्ष पनि आफ्नो पच्चिसौँ वार्षिकोत्सवको अवसरमा विज्ञान, प्रविधि, इन्जिनियरिङ्, कला तथा गणितसँग सम्बन्धित स्टिम सिकाइ चौतारी आयोजना गरेको थियो ।