आज सरस्वती पूजा, साना नानीहरूले अक्षरारम्भ गर्ने दिन

काठमाडौँ /२ फागुन – आज सरस्वती पूजा अर्थात् श्रीपञ्चमी आज विद्याकी देवी सरस्वतीको पूजा अर्चना गरेर श्रीपञ्चमी मनाइँदै छ । माघ र फागुन महिनालाई शिशिर ऋतु मानिएकाले यो ऋतुमा पर्ने पञ्चमीलाई श्रीपञ्चमी भनिएको हो ।


आज साना नानीहरूका निम्ति अक्षरारम्भ गर्ने दिन हो । सरस्वती पूजा या श्रीपञ्चमी वा वसन्त पञ्चमी जे भनिए पनि आज विद्या र संगीतकी प्रतिरूप सरस्वतीको पूजा आराधना गरी मनाइने विशेष दिन हो । आजबाट क्रमशः वसन्त ऋतुको सुरुवात हुने मान्यता राखिन्छ ।


देवी भागवत र भविष्य पुराणको उत्तर पर्वमा सरस्वती पूजाको विधि तोकिएको छ । ‘ब्रह्मा भिभर्त पुराण’मा प्रस्ट रूपमा उल्लेख छ कि विद्या, कला, शब्द, विज्ञान अनि विचारकी देवी सरस्वतीलाई आजको दिनमा सबैले सम्झना गर्दै पूजा गर्नु भनी भगवान श्रीकृष्णले वरदान दिएका हुन् । बिहानै उठेर प्रातः स्नान पश्चात् चोखो–नितो गरी सफा कपडा लगाएर कलश स्थापना गरिन्छ । अनि क्रमशः गणेश, विष्णु, शिव आदि देवताहरूको अर्चना गरिन्छ, सूर्यको अर्चना पनि गरिँदै सरस्वतीको उपासना गरिन्छ ।


विद्यालयहरूमा आज विशेष पूजा–आजाका साथ अक्षरारम्भ गर्ने गरिन्छ । साथै आज धेरै विद्यालयले भर्ना गर्ने विद्यार्थीलाई निःशुल्क भर्ना पनि गर्छन । विभिन्न रङ्ग रंगीनहरूले धेरै विद्यालयहरू सजिसजाउ हुन्छन ।


लेलेको सरस्वती कुण्ड, ठिमिको सरस्वती खेल, सूर्यपुरा रूपन्देहीको सरस्वती मन्दिर, विशालनगरको नील सरस्वती, मैतीदेवीको सरस्वती, खलङ्गा प्युठान, पालुङको घट्टेचौरको सरस्वती मन्दिरमा यो दिन विशेष मेला लाग्छ ।