काठमाडौँ /२ फागुन – काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशनले शैक्षिक प्रशिक्षण कार्यक्रम समापन गर्दै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेको छ । शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उदेश्यले शैक्षिक प्रशिक्षण इकाई (सिपिइसी)ले हालसालै शिक्षक प्रशिक्षकहरुको तालिम सत्र समापन गरी प्रमाणपत्र वितरण गरिएको हो ।
अगस्ट ३० देखि फेब्रुअरीसम्म सञ्चालनमा रहेको कार्यक्रमले शिक्षक तालिम र शिक्षाको गुणस्तर विकासको लागि शिक्षक प्रशिक्षकहरूलाई आवश्यक दक्षता प्रदान गर्ने गरेको थियो । काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन अन्तर्गत सिपिईसीले ३ क्रेडिट (४८ घण्टा)को कोर्स पुरा गर्दै शिक्षक प्रशिक्षकहरूको लागि विभिन्न प्राक्टिकल तथा तालिममा आवश्यक सिद्धान्तका बारेमा अध्यापन सम्बन्धी तालिमहरू सञ्चालन गरिएको थियो ।
प्रशिक्षक सहभागिहरूको विभिन्न सिप, ज्ञान अभिवृद्धि तथा शिक्षण मनोवृत्ति सुधारका लागि कार्यक्रमको सहजकर्ताका रूपमा प्रशिक्षक डा.बासु प्रसाद सुवेदीले रहेका थिए । तालिम सकिएसँगै स्कुल अफ एजुकेशनका डीन प्रा.डा.बालचन्द्र लुइटेल, एसोसिएट डीन डा. प्रकाशचन्द्र भट्टराई तथा सहप्राध्यापक डा.हेमराज काफ्लेको उपस्थितिमा प्रमाणपत्र वितरण गरिएको थियो ।
शिक्षकहरूको पेसागत विकास तथा सिप अभिवृद्धिको लागि डिजाइन गरिएको सो कार्यक्रममा ३५ जनाको सहभागिता रहेको थियो भने प्रयोगात्मक कक्षामा उत्कृष्ट हुने १० जना सहभागीहरूलाई पुरस्कृत समेत गरिएको थियो ।