काठमाडौँ /१ फागुन – मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा।डा।नन्द बहादुर सिंहले नेताहरूलाई राष्ट्र र माटो प्रति माया नभएका कारण देश हराएको बताएका छन् । विश्वविद्यालयलाई आफ्नै देशको उद्योग र आवश्यक जनशक्ति अनुसार उत्पादन गर्न योजना बनाएर दिनुपर्नेमा त्यसो नगरिएकोले देश हराएको बताएका हुन् ।
यो देशका नेताहरूलाई माटो र राष्ट्र प्रति माया भएको भए एक शताब्दीको देश कस्तो बन्ने भन्ने बारे योजना बनाउनु पर्नेमा नगरिएको उनले बताएका छन् । यस्ता योजना राष्ट्रिय योजना आयोगले बनाउनुपर्ने उनको भनाई छ ।
सिंहले ५० वर्ष वा एक शताब्दीको योजना बनाउँदा मुख्य राजनीति दलहरू एकसाथ लागिदिएको भए शिक्षामा कति, स्वास्थ्यमा कति, कृषिमा कति, वनमा कति लगायत चाहिएको जनशक्ति विश्वविद्यालयलाई उत्पादन गर्न दिनुपर्ने बताए । उनले भने “बजारमा बिक्री हुने सिपसहितको आफ्नै देशको उद्योगसँग जोडिएको जनशक्ति उत्पादन गर भनिदिएको भए हामी गर्थौ होलानी । दुर्भाग्य नेपाल हराएको छ । कहिले सम्म हराउने हो भन्ने मेरो भनाई छ । चिनले सय वर्षको योजना बनाउछ, भारतले ५० वर्षको बनाउँछ हामी किन बनाउन सक्दैनौ । यसमा राष्ट्रिय सहमति किन हुँदैन ।”
राज्यले यसबारेमा विश्वविद्यालयलाई अनुमति दिएको भए आफै कोर्स अफ स्टडी बनाएर लागु गर्ने र देशलाई आवश्यक पर्ने उच्च र दक्ष जनशक्ति उत्पादन गर्ने उनले बताए । देश चल्नका लागि कृषिमा आधुनिकीकरण, औद्योगिक करण र सर्भिस क्षेत्रको विकास गर्न सकियो भने देश विकास तर्फ जाने बताए । देशमा कृषि, औद्योगीकरण नहुँदा अहिले भएको जनशक्ति विदेश पलायन भएको उनको तर्क छ ।
विद्यार्थीहरू विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र बोकेर खाडी जान बाध्य भएको र बाह्र कक्षा पढेकाले देश छोडेर जाने बाहेक विकल्प नरहेको सिंहले बताए । ती विद्यार्थीलाई रोक्नका लागि योजना आयोग, शिक्षा र औद्योगीकरण एकै ठाउँमा ल्याउनु पर्ने र यसको लागि राज्यले नीति बनाउनुपर्ने बताए ।
सरकारले विद्यालय शिक्षा विधेयक, उच्च शिक्षाको विधेयक ल्याउँदै परिवर्तन गर्दै गरेको बताउँदै सरकोकारवालहरूलाई राखेर कस्तो खालको शिक्षा नीति बनाउन उपयुक्त हुन्छ भन्ने कुरा गर्न सरकारले नसकेको उनको भनाई थियो । लेख्ने बेला विधेयक लेख्ने तर त्यसको अपनत्व कसैले नलिनु दुर्भाग्य भएको बताए । साथै शिक्षामा रिफर्म गर्न आवश्यक रहेको बताए ।
सिंहले शिक्षा, खेलकुद, स्वास्थ्य, निजामती कर्मचारी, सुरक्षाका निकाय राष्ट्रको हुने कुनै व्यक्ति र पार्टीको नहुँने भएकोले पाँच क्षेत्रमा राजनीति गर्न नहुने बताए ।