कास्की/१ फागुन – नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागरि खाएको भन्दै बिशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । कास्की जिल्लाको श्रीराम प्राथमिक विद्यालयका प्राथमिक तहको स्थायी शिक्षक विन्दु गौतम शर्मा उपर मुद्दा दायर गरिएको हो ।
पोखरा महानगरपालिका वडा नं. ८ मा सञ्चालित श्रीराम प्राथमिक विद्यालयका प्राथमिक तहको स्थायी शिक्षक विन्दु गौतम शर्माको शैक्षिक योग्यताको प्रमाणपत्रहरु नक्कली भएकोले उजुरीका आधारमा छानविन गर्दा नक्कली शैक्षिक प्रमाणपत्र भएको अख्तियार अनुसन्धान आयोगले जनाएको छ ।
शर्माले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाईस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, यु.पी. भारतबाट एस.एल.सी. तहको नक्कली शैक्षिक प्रमाणपत्र र लब्धाङ्क पत्रहरु पेश गरी प्राथमिक तहको अस्थायी र स्थायी शिक्षक पदमा नियुक्त भएको पुष्टि हुन आएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिमको कसुर भएको हुँदा शर्माउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम सजाय हुन मागदावी लिई बिशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।