काठमाडौं/१५ साउन-जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको बताएका छन् । उनले नेपालको शिक्षा क्षेत्र अराजक र बेवारिसे भएको बताउँदै सरकारले लगानी गरेको विद्यालय, क्याम्पस र विश्वविद्यालयमा पढ्ने विद्यार्थी नै पाउन छोडिसकिएको बताएका हुन् ।
आइतबार समाजवादी मोर्चा निकट विद्यार्थी सङ्गठनले आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि सबै भन्दा धेरै शिक्षा क्षेत्र ध्वस्त भएको बताए । उनले शिक्षा क्षेत्र गणतन्त्र स्थापना पछि सबै भन्दा अगाडि सैब भन्दा बढी बरबाद भएको, बढी अराजक भएको, सबभन्दा बढी बेवारिसे भएको बताए ।
उनले भने ‘चाहे त्रिभुवन विश्वविद्यालयमा जानुस्, अन्त जानुस् । सरकारले लगानी गरेको स्कुलमा जानुस् । सरकारले चलाएको विश्वविद्यालय र क्याम्पसमा हेर्न जाने हो भने अब त विद्यार्थी पाउन पनि छोडिसक्यो । किन जानु त्यहाँ पढेर के हुन्छ ? मान्छेलाई विश्वास पनि भएन यति ध्वस्त भइसकेको छ ।’



