सामाजिक शिक्षाको विषयमा कुनै निर्णय भएको छैन, नेपाली माध्यममा नै उत्तर दिनुपर्ने

काठमाडौं/२५ बैशाख-कक्षा १२ का विद्यार्थीले सामाजिक अध्ययनको पठनपाठन तथा परीक्षामा उत्तर लेख्दा नेपाली माध्यम नै राखिएको पाठ्यक्रम विकास केन्द्रले बताएको छ । अहिलेसम्म त्यसबारे कुनै निर्णय नभएको जानकारी दिँदै नेपाली माध्यम नै रहेको जनाएको हो ।


पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठ प्रसाद अर्यालले गत वर्ष झै यो वर्ष पनि पठनपाठन तथा परीक्षाको माध्यम नेपाली नै हुने बताए । उनले भने ‘पठनपाठन तथा परीक्षाको माध्यम नेपाली नै राखिएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप अनुुसार नेपाली भाषालाई कायम गरिएको छ । यस सवालमा कुनै छलफल भएको पनि छैन र निर्णय गरिएको पनि छैन ।’


राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले सामाजिक शिक्षाको परीक्षाको माध्यम नेपाली वा अङ्ग्रेजी राख्न पाठ्क्रम परिषदमा प्रस्ताव लगेपनि कुनै निर्णय नभएको बताए । उनले विभिन्न ठाउँबाट अंग्रेजी माध्यममा पनि लेख्न पाउनु प¥यो भन्ने गुनासो आएको र त्यसै अनुरुप छलफलका लागि लगिएपनि निर्णय नभएको बताए ।


अध्यक्ष शर्माले केही दिन अगाडि सुझावका लागि मात्रै अनलाइनमा अंग्रेजी र नेपाली माध्यममा प्रश्न राखिएपनि पाठ्यक्रम विकास केन्द्रले कुनै निर्णय नगरेपछि अहिले त्यसलाई अनलाइनबाट झिकिएको जानकारी दिए । साथै गत वर्ष जसरी सञ्चालन भएको थियो त्यसरी नै पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रम प्रारुप अनुसार नै परीक्षा सञ्चालन हुने र यसमा कुनै परिवर्तन नभएको जानकारी दिए ।


त्यसैगरी पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठ प्रसाद अर्यालले विदेशस्थित नेपाली विद्यालयका तथा नेपालमा अध्ययनरत विदेशी विद्यार्थीले अङ्ग्रेजी भाषामा नै कक्षा १० को सामाजिक शिक्षा अध्ययन गर्न पाउने भन्ने विषयमा छलफल भएपनि निर्णय प्रमाणिकरण नभइसकेको जानकारी दिए । उनले परिषद्को बैठकमा छलफल मात्रै भएको तर अहिलेसम्म प्रमाणिकरण नभएको बताए ।


राष्ट्रिय पाठ्यक्रम प्रारुपले सामाजिक विषयको पठनपाठन नेपाली भाषामा नै गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।