मध्यपश्चिम विश्वविद्यालयको सम्बन्धन प्रक्रिया स्थगन

काठमाडौं/२५ बैशाख-मध्यपश्चिम विश्वविद्यालयले सम्बन्धन सम्बन्धी प्रक्रिया स्थगन गरेको छ । कार्यविधिमा संशोधन गर्नुपर्ने कारण देखाउँदै जेठ २० गतेसम्मलाई स्थगन गरेको हो ।


मध्यपश्चिम विश्वविद्यालय कार्यकारी परिषद्को बैशाख २१ गते बसेको बैठकले तत्कालका लागि सम्बन्धन सम्बन्धी प्रक्रिया स्थगन गर्ने निर्णय गरेको विश्वविद्यालयले जानकारी दिएको छ ।


बैठकको निर्णय नं.१३१० बमोजिम सम्बन्धन सम्बन्धी प्रक्रिया एक महिनाभित्र नागरिक समाजका प्रतिनिधि, विद्यार्थी प्रतिनिधि, प्रध्यापक, सरकारी निकायका प्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिहरुसँग आवश्यक छलफल, संवाद एवं अन्तरक्रिया गरी सम्बन्धन प्रक्रिया अघि बढाउने निर्णय भएको जनाएको हो ।


कार्यविधि संशोधन गर्न आवश्यक भएमा संशोधन गरी प्रक्रिया अघि बढाउन जेठ २० गतेसम्मका लागि स्थगन गरिएको विश्वविद्यालयको जानकारि दियो ।


विश्वविद्यालयले गत चैत २९ गते सम्बधन दिने निर्णय गर्दै सम्बन्धनका लागि आवेदन माग गर्दै सूचना जारी गरेको थियो । त्यसपछि सम्बन्ध सम्बन्धी विषयलाई लिएर विश्वविद्यालयमा विवाद उत्पन्न भएको थियो ।