शिक्षकका माग र मुद्धाहरु अबिलम्ब सम्बोधन गर्न नेपाल शिक्षक सघंको माग

काठमाडौं/२१ बैशाख-नेपाल शिक्षक सघंले शिक्षकका जायज माग र मुद्धाहरु अबिलम्ब सम्बोधन गर्न सरकारसँग माग गर्दै सरकार आफैँले गरेको सम्झौता प्रति इमान्दार नरहेको आरोप लगाएको छ । सरकार र पेशागत संगठनहरु बीच भएका विगतका ५१ बुँदे लगाएत सम्झौताहरु कार्यान्वयन गर्न नसकेको संघको भनाई छ ।


आज संघले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा शिक्षकहरुले भोग्नुपरेका समस्याहरु समाधानका लागि निरन्तर रुपमा सरकारसँग दबाब निर्माण गरिरहँदा पनि शिक्षा र शिक्षक मैत्री शिक्षा ऐन जारी हुन नसकेको र सरकार इमान्दार नभएका कारण शिक्षकका माग र मुद्धाहरु यथावत् रहेकोले अविलम्ब शिक्षा ऐन जारी गर्न माग गरेको छ ।


सरकार र पेशागत संगठनहरु बीच भएका विगतका ५१ बुँदे लगाएत सम्झौताहरु कार्यान्वयन हुन नसकेका कारण नेपाल शिक्षक संघले नेपाल शिक्षक महासंघमार्फत आगामी दिनमा परिणाममुखि निष्कर्षका लागि संवाद र आन्दोलनका कार्यक्रहरु सँगसँगै सञ्चालन गर्ने तयारी गरेको संघका महासचिव ज्ञानेन्द्र बहादुर रावलले बताए ।


पटक पटकका आन्दोलन र त्यसका बलमा भएका सहमतीहरु कार्यान्वयनमा राज्य उदासिन भएकाले देश शैक्षिक वेथितिमा रुमल्लिएको छ । हरेक सरकारको संवेदनहिनता तथा शिक्षा–शिक्षाकर्मी विरोधी सोचका कारण शिक्षा ,शिक्षक तथा विद्यालय कर्मचारीका समस्याहरुको अग्लो चाङमा थुप्रै मुद्दा र समस्या थपिंदै गएका छन् । तिनको निदानकालागि शिक्षक तथा विद्यालय कर्मचारीका सबै मागमुद्दा सम्बोधन हुने गरी सङ्घीय शिक्षा ऐन अविलम्व जारी हुन आवश्यक छ विज्ञप्तिमा भनिएको छ ।


नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीले शिक्षकहरुको तलब, ग्रेड विभेद तथा प्राविधिक ग्रेड, निवृत्तिभरण, बाल कक्षाका शिक्षक, विद्यालय कर्मचारीहरुको तलब वृद्धि लगाएतका मागहरु आउँदो आर्थिक बजेटमा सम्बोधन हुनुपर्ने बताए । उनले सरकारले वेवास्था गरे कै कारण दबाबका लागि बैशाख २९ गते काठमाडौंको माइतिघरमा बृहत प्रर्दशन गर्न लागिएको जानकारी दिए ।


त्यसैगरी नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले सरकार र पेशागत संगठनहरु बीच भएका विगतका ५१ बुँदे लगाएत सम्झौताहरु कार्यान्वयनका लागि प्रदर्शन गर्न लागिएको जानकारी दिए । उनले भने जेठ १५ गते बजेट आउँदै छ । शिक्षकका माग,मुद्धाबारे ध्यानाकर्षण र दबाब दिनका लागि एकदिने प्रदर्शन गर्ने कार्यक्रम आयोजना गरिएको हो ।

नेपाल शिक्षक संघका मागहरु यस प्रकार छन् :

१. राष्ट्रिय शिक्षा ऐनबारे :


हरेक सरकारको संवेदनहिनता तथा शिक्षा–शिक्षाकर्मी विरोधी सोचका कारण शिक्षा ,शिक्षक तथा विद्यालय कर्मचारीका समस्याहरुको अग्लो चाङमा थुप्रै मुद्दा र समस्या थपिंदै गएका छन् । तिनको निदानकालागि शिक्षक तथा विद्यालय कर्मचारीका सबै मागमुद्दा सम्बोधन हुने गरी नयाँ राष्ट्रिय/सङ्घीय शिक्षा ऐन अविलम्व जारी हुन आवश्यक छ ।


२. राहत तथा साविक उ.मा.वि शिक्षकबारे :


नेपाल शिक्षक महासङ्घ र सरकार बीच भएको सम्झौता वमोजिम् सबै राहत र साविक उमावि दरबन्दीलाई स्वीकृत दरबन्दीमा परिणत गर्दै उमेरको हद नलाग्ने गरी तोकिएको दरबन्दीमा आन्तरिक÷खुला प्रतियोगिताद्वारा शिक्षक सेवा आयोग मार्फत् स्थायी गर्न नयाँ ऐनमा आवश्यक कानुनी प्रबन्ध गर्नुपर्दछ । लाइसेन्सको बखेडा झिकी कतिपय स्थानिय तहले साविक उमावि तहका शिक्षकलाई दुःख दिने , सेवाबाट हटाउने प्रपञ्च रचीरहेका छन् । यस्ता गलत प्रपञ्च नगर्न र सबै शिक्षकलाई यथावत् काम गर्ने वातावरण दिन ने.शि.सङ्घ सम्बन्धित सबैसँग जोडदार माग गर्दछ ।


३. उमेरको हद सम्बन्धमा :


कार्यरत सबै शिक्षकलाई अब हुने सबै विज्ञानपमा सामेल हुन उमेरको हद नलगाउने कानुनी प्रबन्ध गरिनु पर्दछ ।


४.बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको प्रबन्ध बारे :


बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको हकमा अघिल्लो आ.व.बाट केही मात्रामा भए पनि तलब बृद्घि गराउन हामी सफल भएका थियौं तर यसबाट उनीहरुको पीडाको खास सम्बोधन हुन सकेको छैन । त्यसैले सबै कर्मचारी र बालकक्षाका शिक्षकको दरबन्दीलाई स्वीकृत दरबन्दीमा परिणत गरी दरबन्दी अनुसार तलवभत्ता खुवाउनु पर्छ । साथै उनीहरुका लागि महङ्गी भत्ताको समेत व्यवस्था हुनुपर्दछ । त्यसपछि महासङ्घसँग भएको सम्झौता वमोजिम् शिक्षक सेवा आयोग मार्फत् उनीहरुलाई स्थायीत्वको प्रक्रियामा लैजानु पर्दछ ।


५.स्थायी शिक्षकको बढुवा सम्बन्धमा :


लामो समय देखि बढुवा हुन नपाएका स्थायी शिक्षकहरु अत्यन्त पीडित छन् । यो समस्याको निराकरणकालागि प्रत्येक दश वर्षमा आवधिक बढुवाको प्रबन्ध हुनु पर्दछ । साथै शिक्षण सेवामा समेत विशिष्ट श्रेणीको प्रबन्ध गरी बढुवाको अहिलेको अनुपात (८०ः१८ः२) मा बृद्घि गरी नयाँ अनुपात((६०ः२५ः१०ः५) कायम गरिनुपर्छ । माथिल्लो योग्यता र अध्यापन अनुमतीपत्र भएका तल्लो तहमा कार्यरत शिक्षकको हकमा तहगत बढुवाको समेत प्रबन्ध गर्नुपर्दछ । हरेक पटकको खुला विज्ञापनमा तल्लो तहमा स्थायी भएका शिक्षकले मात्र प्रतिस्पर्धा गर्न पाउने गरी निश्चित प्रतिशत कोटा(२०%) छुट्याइने कानुनी प्रबन्ध गरिनु पर्दछ ।


६. स्थानिय तहको ज्यादती सम्बन्धमा :


स्थानिय तहबाट शिक्षक तथा कर्मचारीलाई नियम विपरित गरिएका सरुवा ,पदस्थापन तथा खोसुवाको घटनाप्रति सरकार मूकदर्शक बन्ने गरेको छ । यी समस्यासँग जुध्न हाम्रो तर्फबाट कानुनी तथा कडा साँगठनिक प्रतिरोध आवश्यक भएको छ । स्थानिय तहमा हुने द्वन्द तथा निर्वाचित पदाधिकारीको अहंकारयुक्त ज्यादतीका कारण थुप्रै पालिकामा शिक्षक तथा कर्मचारीले लामो समय देखि तलव खान पाएका छैनन् । कतिपय पालिकाले अस्थायी÷करार शिक्षक–कर्मचारीलाई नयाँ करार सम्झौता गराउने भन्दै आस्थाका आधारमा सेवाबाट हटाउने षडयन्त्रपूर्ण कार्य थालनी गरेकाछन् । शिक्षक–कर्मचारीलाई हतोत्साहित तथा प्रताडित गर्ने यी र यस्ता कार्य अविलम्ब रोकिनुपर्छ । यी ज्यादती विरुद्घ अहिले देशभरिका साथीहरु आन्दोलित हुन थालेका छन् भने यस्ता अन्यायको कानुनी प्रतिरोधका लागि अदालतमा हजारौं मुद्दाहरु परेका छन् । यी र यस्ता समस्याहरुको निराकरण गर्न तथा भविष्यमा यस्तो अवस्था आउन नदिन कठोर पक्षीकरण र दबाब आवश्यक छ । साथै यस्ता अन्याय रोक्न नयाँ सङ्घीय शिक्षा ऐन मार्फत शिक्षक–कर्मचारीको पेसागत सुरक्षाको प्रत्याभूतिको अवस्था कायम गरिनुपर्छ ।


७. दरबन्दी मिलान बारे :

नेपाल सरकारले नेपाल शिक्षक महासङ्घसँग भएको सम्झौता विपरित शिक्षक दरबन्दी मिलानको कार्यक्रम अघि बढाएकोछ । यो कार्य अविलम्व रोकी महासङ्घसँगको सम्झौता वमोजिम् दरबन्दी मिलान गर्न तथा त्यस अघि आवश्यक अपुग दरबन्दी प्रक्षेपण गर्न सरकार माथि दवाव सिर्जना गर्न आवश्यक छ । दरबन्दी मिलान गर्दा कार्यरत शिक्षकलाई मर्कामा नपार्ने कुराको प्रत्याभूति समेत हुन आवश्यक छ ।


८. एकै प्रकारका शिक्षक र आकर्षक सुविधा :


शिक्षाको समुचित विकास तथा गुणस्तर बृद्घिको लागि शिक्षण पेसा आकर्षक हुनुका साथै यस पेसामा योग्य, उत्साहित तथा अभिपे्ररित जनशक्ति प्रवेश गर्ने र प्रवेश भएको जनशक्ति टिकाउ हुने प्रबन्ध हुन आवश्यक छ । यसका लागि देशमा एउटै सेवा, शर्त र सुविधा पाउने शिक्षकको प्रबन्ध गरी शिक्षक सेवा आयोगमार्फत नियमितरुपमा स्थायी शिक्षक आपूर्ति हुनुपर्दछ । हचुवाका भरमा थोरै सुविधा भएका नयाँ खाले शिक्षक कोटाको सिर्जना गर्ने प्रक्रिया अविलम्व रोक्नु पर्दछ । राम्रो जनशक्तिलाई शिक्षण पेसामा ल्याउन र टिकाउन शिक्षण पेसाको सेवा शर्त र सुविधा अन्य पेसाको भन्दा आकर्षक गराउने तर्फ राज्यबाट गम्भीर पहल हुन आवश्यक छ ।


९. संस्थागत विद्यालयका शिक्षक बारे :


निजी विद्यालयका शिक्षक तथा सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकहरुको पेसागत सुरक्षा हुनुपर्दछ । साथै यी शिक्षकका लागि सामाजिक सुरक्षा कोषको प्रबन्ध अनिवार्य लागू गरिनु पर्दछ । संस्थागत स्कुलमा सेवाबाट निकालिएका शिक्षक–कर्मचारी फेरि सेवामा फर्काइनु पर्दछ । यस्ता स्कुलहरुको अनुगमन र नियमनका लागि बलियो र प्रभावकारी सन्यन्त्र बनाइनु पर्छ ।


१०. ग्रेड विभेद तथा प्राविधिक ग्रेड :
सम्मानित सर्वोच्च अदालतबाट फैसला भइसकेपछि पनि शिक्षकलाई प्राविधिक ग्रेड उपलब्ध गराउन राज्यले झेल गरीरहेको छ । राज्यले सम्मानित अदालतको निर्णय वमोजिम् अविलम्व प्राविधिक ग्रेड उपलब्ध गराउनु पर्छ । साथै शिक्षण पेसा आफैंमा प्राविधिक काम भएकोले सबै शिक्षककालागि प्राविधिक ग्रेडको प्रबन्ध हुनु उपयुक्त हुन्छ । यसले शिक्षण पेसाको आकर्षण बढाउन समेत बल दिन्छ । समान तहको निजामती सेवा र शिक्षण सेवा बिचमा रहेको अहिलको ग्रेड तथा तलव विभेद सरकार र महासङ्घ बीच भएको सम्झौता वमोजिम् अविलम्व अन्त्य गरिनुपर्छ । सबै तह र श्रेणीका शिक्षकको लागि प्राविधिक ग्रेडको प्रबन्ध हुनु पर्दछ ।


११. अस्थायी अवधि गणना :
लामो समय अस्थायी सेवा गरेर आन्तरिक तथा खुला परीक्षाबाट स्थायी भएका थुप्रै शिक्षकहरु अनिवार्य अवकाश हुँदा स्थायी सेवा अवधि पेन्सनका लागि नपुग हुने अवस्था छ । अस्थायी सेवा गणना नहुने हो भने जीवनको उर्वर समय देशको शिक्षाको विकासमा खर्चेका यी शिक्षकहरु पेन्सनको सुविधाबाट बञ्चित हुनेछन् । तसर्थ बढुवा, पेसन्न तथा उपदानका लागि शिक्षकको सबै अस्थायी सेवा अवधि गणना गरिनु पर्छ । साथै अनिवार्य अवकासको अवस्था नहुँदै अस्थायी अवधि गणना गरी पेन्सनमा बस्न चाहने शिक्षकलाई समेत त्यो सुविधा दिलाइनु पर्छ ।


१२. संवैधानिक प्रबन्ध(अनुसूची–८) :


नेपालको संविधानले विद्यालय तहको शिक्षालाई संविधानको अनुसूची –८ अन्तर्गरत स्थानिय तहको एकल अधिकार सूचीमा राखेको छ । यो प्रबन्धले विद्यालयमा स्थानिय द्वन्द र राजनैतिक चलखेलको छाँया परी सार्वजनिक शिक्षा तहस नहस हुने अवस्था सिर्जना गरेको छ । यो अवस्थालाई निस्तेज गर्न अन्तराष्ट्रिय अभ्यासलाई समेत दृष्टिगत गरी विद्यालय तहको शिक्षाको अधिकार अनुसूची–९( साझा अधिकार सूची) मा व्यवस्थित गरिनु पर्दछ । साथै तिनै तहका सरकार बीच अधिकारको प्रष्ट बाँडफाँड गरी विद्यालय शिक्षामा सबै तहका सरकारको सकारात्मक सहभागिता र सहकार्यको वातावरण निर्माण गरिनु पर्दछ ।


१३. शैक्षिक प्रशासनमा शिक्षकको सहभागिता :


नेपाल सरकार, प्रदेश सरकार एवम् जिल्ला र स्थानिय तहको शैक्षिक प्रशासनमा समान तहका पदमा शिक्षकबाट काजमा ल्याई काम गराउने पद्घति शुरु गर्न आवश्यक कानुनी प्रबन्ध गरिनु पर्दछ । यसले शिक्षण पेसाको स्वभिमान र सम्मान बृद्घिमा समेत सघाउने छ ।


१४. विशेष शिक्षाका शिक्षक :


विशेष शिक्षा तर्फ काम गरिरहेका अस्थायी शिक्षकलाई विशेष शिक्षा परिषदबाट निर्णय गरी स्थायी गरिनु पर्छ ।


१५. प्राविधिक धार र शिक्षण सिकाइ अनुदान कोटाका शिक्षक :


यी कोटाहरुलाई स्वीकृत दरबन्दीमा परिणत गरी त्यहाँ काम गर्ने शिक्षकहरुलाई समेत स्थायित्वको प्रकृयामा लैजानु पर्दछ । यस्ता कोटाको रहेका कतिपय शिक्षकको हालै तलव रोक्का भएको भन्ने जानकारी आएकोले त्यसरी रोक्का भएको तलव अविलम्व निकासा गरिनु पर्दछ ।


१६. पद समायोजन :


सोझै प्राथमिक द्वि. र नि.मा.द्विमा स्थायी भएका र त्यही तहबाट बढुवा भएका शिक्षकको अविलम्व पद समायोजन गरिनु पर्दछ ।


१७. वित्त आयोगको सुझाव र शिक्षक–कर्मचारीको तलव :


हालसालै राष्ट्रिय वित्त आयोगले शिक्षक–कर्मचारीको तलवभत्ता पालिकामा समानीकरण अनुदान शीर्षकमा पठाउने सुझाव दिएको छ । सशर्त अनुदान अन्तर्गत गएको तलबभत्ता समेत पालिका भित्रको अन्तरद्वन्दका कारण समयमा शिक्षकले नपाएको अवस्थामा समानीकरण शीर्षकमा सो रकम निकाशा हुँदा भोलि शिक्षक कर्मचारीको तलवभत्ता समेत पालिकाबाट मनखुशी अन्य शीर्षकमा खर्च भई शिक्षक–कर्मचारीले समयमा तलव पाउन नसक्ने अवस्था सिर्जना हुन्छ । यसबाट अस्थायी प्रकृतिका दरबन्दीमा रहेका शिक्षकको पेसागत असुरक्षा बढ्ने र तलव घटाघटमा शिक्षक नियुक्ति भई शिक्षामा बेथिति बढेर जाने अवस्था सिर्जना हुन्छ । त्यसैले शिक्षक कर्मचारीको तलवभत्ता यथावत् रुपमा सशर्त अनुदान शीर्षकमा जाने प्रबन्ध गर्नुपर्दछ । साथै सशर्त अनुदान शीर्षकमा गएको यस्तो रकम भुक्तानी दिन पालिकामा परिषदको निर्णय हुन नपर्ने कानुनी प्रबन्ध गरिनु पर्दछ ।


१८. शिक्षक–कर्मचारी स्वास्थ्य सुरक्षा कोष :


वागमती प्रदेशको चितवनमा शिक्षक अस्पताल निर्माणको काम अघि बढीरहेको छ । केही वर्षमा स्रोत साधन सम्पन्न भव्य अस्पताल निर्माण गर्न हामी प्रतिबद्घ छौं । शिक्षकका लागि अस्पतालको प्रबन्ध भए पनि कतिपय रोगमा उपचार अत्यन्त खर्चिलो हुने तथा नियमित महङ्गो औषधी सेवन गर्नुपर्ने अवस्था हुन्छन् । त्यस्ता जटिल र खर्चिलो रोग लागेका शिक्षक–कर्मचारीलाई सहायता गर्न शिक्षकहरुको समेत सहभागिता र सरकारको लगानीमा शिक्षक कर्मचारी स्वास्थ्य सुरक्षा कोष खडा गर्नुपर्दछ ।


१९. प्राकृतिक विपत्ती तथा दुर्घटना कोष :


प्राकृतिक प्रकोप र दुर्घटनामा परी गम्भीर चोट लागेका शिक्षक–कर्मचारीको उपचारमा सहायता दिन प्राकृतिक विपत्ती तथा दुर्घटना कोष खडा गर्नुपर्दछ ।


२०. निवृत्तिभरण सम्बन्धमा :


२०७५ चैत्र ४ गते प्रमाणीकरण भएको निवृत्तीभरण कोष ऐन, २०७५ ले सो मितिभन्दा पछि स्थायी नियुक्त हुने कुनै पनि सेवाका पेशाकर्मीलाई पुरानो प्रणालीबाट पेन्सन नदिइने तथा तिनका लागि योगदानमा आधारित निवृत्तीभरण प्रणाली थालनी गर्नु पर्ने कुरा उल्लेख गरेको छ । यसप्रति हाम्रो गम्भिर ध्यानाकर्णण भएको छ । एउटै मुलुकको एउटै पेशामा कार्यरत शिक्षक कर्मचारीलाई फरक–फरक ढंगवाट निवृत्तीभरण दिने विषय न्यायसंगत हुदँैन । अतस् २०७५ चैत्र ४ अगाडीका शिक्षकहरु सरह नै सो मिति पछिका शिक्षकहरुलाई पनि निवृत्तीभरण उपलब्ध गराउन जोडदार माग गर्दछौँ ।