सामाजिक विषयको परीक्षा अंग्रेजीमा लेख्न पाइने निर्णय सच्याउन माग

काठमाडौं/२१ बैशाख-कक्षा १२ को अनिवार्य सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको नमुना प्रश्नपत्र अंग्रेजी भाषामा अनुवाद गरेको र परीक्षा अंग्रेजीमा समेत दिन सक्ने निर्णय गरेपछि सामाजिक विषय शिक्षकहरूले आपत्ति जनाएका छन् ।


सामाजिक अध्ययनको सिकाई सहजिकरण तथा पठनपाठनको माध्यम भाषा अनिवार्य नेपाली हुनुपर्ने र मुल्याङ्कनमा प्रश्नपत्रको भाषा तथा परीक्षार्थीले पनि सोही भाषामा उत्तर दिनुपर्ने प्रष्ट व्यवस्था हुँदाहुँदै अङ्ग्रेजीमा पनि लेख्न पाइने निर्णयमा सामाजिक विषय शिक्षकहरूले आपत्ति जनाएका हुन् ।


बुधबार सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपालले विज्ञप्ति जारी गर्दै नेपालको राष्ट्रि शिक्षा नीति, २०७६ तथा राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ र सम्बद्ध अन्य निकायहरुबाट विद्यालय शिक्षाको सामाजिक अध्ययनको सिकाई सहजिकरण तथा पठनपाठनको माध्यम भाषा अनिवार्य नेपाली हुनुपर्ने र नेपाली मै उत्तर दिनुपर्ने प्रष्ट व्यवस्था हुँदाहुँदै राष्ट्रिय परीक्षा बोर्डले गलत निर्णय गरेको भन्दै आपत्ति जनाएका छन् ।


वौद्धिक वर्गाको सुझबुझ, गहिरो अध्ययन र राष्ट्रको भविष्य समेतलाई मध्यनजर गरी तय गरिएको शिक्षण सिकाईको माध्यम भाषालाई राष्ट्रको एक जिम्मेवार निकायबाट अन्यथा निर्णय गरिएकोमा सिङ्गो शिक्षा क्षेत्र अन्योलग्रस्त भएको सवत्र महसुस गरिएको छ विज्ञप्तिमा भनिएको छ ।


साथै उक्त निर्णयलाई अबिलम्ब सच्याउन र शिक्षा नीति तथा पाठ्यक्रम प्रारुपको पूर्ववत रुपमा कार्यान्वयन गर्न सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपालले माग गरेको छ ।