ललितपुर/२९ फागुन-ललितपुर महानगरपालिकाका सबै विद्यालयमा सडक सुरक्षा शिक्षा दिने भएको छ । महानगरपालिकाले सडक सुरक्षा शिक्षा प्रकाशित गर्दै विद्यालय तहबाटै सडक सुरक्षाको व्यवहारिक एवम् सैद्धान्तिक शिक्षा दिने भएको हो ।
आज सडक सुरक्षा शिक्षा पुस्तक विमोचन गर्दै सबै विद्यालयमा अध्यापन गराउने उदेश्य सहित प्रकाशित गरिएको जनाएको छ । पुस्तक महानगर प्रहरी प्रमुख सीताराम हाछेथुद्वारा सम्पादन गरिएको हो । सडकमा हिँड्दा, सडकपेटी, बाटो काट्ने तरिका, ट्राफिक सङ्केतहरु, हेल्मेट र सिटबेल्ट, सबैका लागि सडक, खेलकुद र सडक, आकाशेपुल, सब वे, बसमा सुरक्षा, ताँती–पङ्क्ति, मादक पदार्थ सेवन, ट्राफिक अङ्कल, साइकल, दुर्घटना र बच्ने उपाय, प्राथमिक उपचार, म त ज्ञानी विद्यार्थी, सहित गलत र ट्राफिक चिन्हहरू गरी पुस्तकमा कुल १९ वटा विषय सूची समावेश गरिएको छ ।
कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले साना विद्यार्थीहरूलाई विद्यालय देखिनै सडकको प्रयोग, सडकपेटी र यससँग सम्बन्धित अन्य पूर्वाधारका विषयमा जानकारी, सतर्कता र सुरक्षाका विषयमा व्यवहारिक शिक्षा दिने उद्देश्यले सडक सुरक्षा शिक्षाको सुरुवात गरेको बताए । सडक, आकाशे पुल, सब वे, सडकपेटी, साइकल लेनहरूको प्रयोगका बारेमा विद्यालयस्तरमै हासिल गरेका ज्ञानले सीमित पूर्वाधारमा पनि सुरक्षित भएर हिँड्न सकिने उनको भनाई थियो ।



