शिक्षकका समस्या के के छन् भनेर शिक्षकसँगै सोधेका छौँ त ?

काठमाडौं/१० माघ-काठमाडौं विश्वविद्यालयले शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न छोटा कोर्सहरुको निर्माण गरी कक्षाहरु सञ्चालन गरिरहेको छ । पछिल्लो समय गुणस्तरीय शिक्षाको बारेमा निकै चर्चा हुने गरेको सन्दर्भमा विश्वविद्यालयहरुले दक्ष शिक्षक उत्पादन नगरेसम्म यो सम्भव देखिदैन । एकातिर विद्यालय तहमा दक्ष शिक्षकको संख्या कमी अर्को तर्फ भएका शिक्षहरुमा नयाँ शिक्षण विधि र पद्धतिका बारेमा कम जानकारी भएको देखिएको छ । शिक्षकहरुले आफ्नो क्षमता विकास गर्न, नयाँ नयाँ विषयको ज्ञान लिन र त्यसको प्रयोग कक्षा कोठामा गर्न सहज होस भनेर काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशनले विभिन्न विषयमा छोटा कोर्सको निर्माण गरेको हो । यसै विषयमा रहेर काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशन अन्तर्गत सिपिइपी कार्यक्रमका संयोजक डा. पार्वती ढुंगानासँग गरिएको संवाद ।


विद्यालय शिक्षा रुपान्तणका लागि काठमाडौं विश्वविद्यालयले विभिन्न तालिम सञ्चालन गरेको छ । यो कसरी सम्भव छ ?


रुपान्तरण ल्याउने भन्दा पनि रुपान्तरण हुने जस्तो लाग्छ । विद्यालय शिक्षामा रुपान्तरण हुनका लागि विद्यार्थीको सिकाईलाई केन्द्रमा राख्न आवश्यक छ । विद्यार्थीले कसरी सिक्छन् भन्ने कुरलाई ध्यानमा राखेर त्यसै अनुरुपको वातावरण सिर्जना गर्नुपर्ने हुन्छ । त्यसैले रुपान्तरण गराउने भन्दा पनि हुने कुरा हो । त्यसका लागि शिक्षकको तर्फबाट, विद्यालयको तर्फबाट, प्रधानाध्यापकको तर्फबाट लगायतका कुरामा काम गर्ने हो जस्तो लाग्छ ।


शिक्षामा रुपान्तरण गर्ने भन्दा पनि हुने भन्नु भयो, त्यसो भए शिक्षामा रुपान्तरण हुनका लागि त्यसलाई प्रभाव पार्ने तत्व के हो त ?


सिकाइ भनेको गर्भ अवस्था देखिनै हुन्छ भनेर मैले सुनेको थिए । सायद हो जस्तो पनि किन लाग्छ भने बच्चामा जुन प्रश्न गर्ने, जिज्ञासा हुने, केहि बुझ्ने, अनुभव गर्ने, नयाँ कुरा जान्न खोज्ने लगायतका कुरा बच्चामा हुन्छ । त्यसलाई थप सहयोग गरेर जिज्ञासा मेटाउनुको सट्टा रोक्ने, सिमित गरीने, उनीहरुले सोधेका कुरालई वेवास्ता गरिदिने जस्ता कुराले सिकाइ नहुँने रहेछ भन्ने मेरो अनुभव छ । शिक्षकहरुमा पनि प्रश्न सोध्ने, केही नयाँ कुरा सिक्न खोज्ने, जान्न खोज्ने कुरा सानो नानीहरुको भन्दा कम हुने रहेछ । जुन शिक्षकहरुसँग नयाँ कुरा सिक्न, जान्न चाहाने इच्छा छ भने सानो सानो कुरामा पनि प्रश्न सोध्ने बानी हुनुपर्छ ।


एउटा शैलीमा पढाएर आएका शिक्षकहरुमा यो समस्या होला । शिक्षकहरु लामो समयदेखि मैले पढाएर भएकै छ त, अब किन परिवर्तन हुनु भन्ने सोँच होला । तर, शिक्षामा रुपान्तरण हुनका लागि शिक्षकले त्यस्तै खालको शिक्षा र संस्कार दिन सक्नु भयो भने मात्रै शिक्षामा रुपान्तरण हुने होला नि ? यस्तो अवस्थामा कसरी शिक्षामा परिवर्तन ल्यउन सकिएला ?


त्यसका लागि चाहाना त हुनै पर्यो, तर चाहानु हुन्छ की हुन्न भन्ने कुरालाई छलफलमा जानु पर्छ । हरेक शिक्षकसँग पुगेर साच्चिकै परिवर्तन गर्न नचाहेको हो त ? वा उनीहरुका समस्यालाई हामीले पो साधारण रुपमा लियौँ की ? शिक्षक मै पुगेर उहाँहरुसँगै बसेर कुरा कती सुनेका छौं, छलफल कति गरेको छौं र काम गर्ने विद्यालयमा कस्ता समस्या छन् ? किन नयाँ सिकाइ भइरहेको छैन ? प्रयोग किन कक्षा कोठामा भएको छैन ? भन्ने कुरा थाहा पाउन शिक्षक मै पुग्नु पर्छ । कोही पनि व्यक्ति सिक्न नखोज्ने हुँदैन हरेकले दैनिक रुपमा सिकिनै रहेको हुन्छ ।


सैद्धान्तिक हिसाबले तर्क गर्ने कुरा एउटा होला तर, समस्या काहाँ देख्नु हुन्छ ?


मैले समस्या नै देखेको छैन । समस्या मात्रै होइन की जे देखिरहेका छौं वास्तवमा त्यो समस्या नहुन पनि सक्छ भन्ने मेरो बुझाई हो । जस्तै एउटा शिक्षकले सिकाउन चाहानु हुन्न भन्ने जुन हाम्रो भनाई छ नि, त्यहीँ समस्या हो जस्तो लाग्छ । शिक्षक भएपछि विद्यार्थीले सिकोस भन्ने चाहानु हुन्छ भन्ने पनि त छ नी ।


त्यसो भए यो विषयमा कम्जोरी के के देख्नु हुन्छ ?


कम्जोरी मात्रै होइन यसका राम्रा पक्ष पनि छन् भन्ने धारणामा म हो ।


राम्रा र नराम्रा पक्ष के के हुन त ?


कम्जोरी अवश्य छ, त्यसको सँगसँगै उहाँहरुले गरेका राम्रा अभ्यासहरु पनि छन् । त्यसलाई हामीले खोतल्न पर्यो भन्ने कुरा हो ।


के के हुन त ?


जस्तै म एउटा शिक्षक, मलाई अरु कसैले मेरा कम्जोरी र राम्रा कुरा पनि सोध्नु पर्यो नि । मैले अभ्यास गर्न पाउनु पर्यो नि त्यो कुराको, मैले अभ्यास किन गरिरहेका छैन ? त्यो कुरा किन भैरहेको छैन ? भन्ने कुराको खोज हुनपर्यो । मेरा कम्जोरी मात्रै हुँदैनन मेरा राम्रा पक्ष पनि हुन्छन् ।


कम्जोरी के के हुन सक्छन ? यसको समाधान के हुन सक्छ ? तपाइले देखेको के हो त्यो भन्नुस न ?


फेरी म त्यसैमा आए समाधान भनेको कम्जोरी किन भयो र त्यो कम्जोरीलाई ओभरकम गर्नलाई शिक्षकसँग नै रहेको हुन्छ । उहाँको एउटा अभ्यास हुन्छ की उहाँ शिक्षक किन हुनु भयो भन्ने कुराबाट थाहा पउन सकिन्छ । जाहाँ समस्या छ समाधान त्यहाँ छ भन्न खोजेको हो ।


सैद्धान्तिक रुपमा मात्रै भन्ने भन्दा पनि तपाइँहरुले अभ्यास गरिराख्नु भएको होला नि ?


सैद्धान्तिक मात्रै होइन व्यवहारीक रुपमा पन त्यही हो । समस्या मात्रै नहेरौँ त्यहाँ सम्भावना पनि छ भन्न खोजिएको हो ।


तपाइँले शिक्षकहरुसँग काम गरिहनु भएको छ, विभिन्न फिल्डमा पुग्नु हुन्छ, काठमाडौं विश्वविद्यालयले विद्यालय तहमा पुगेर शिक्षकहरुसँग नै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । शिक्षकले सिक्न चहानु हुन्छ थाहा छ । तर, यी यी कम्जोरी छन्, त्यसलाई यसरी समाधान गर्न सकियो भने शिक्षामा परिवर्तन ल्याउन सकिन्छ वा गुणस्तरीय शिक्षाको सम्भावना छ भन्ने त होला नी ?


त्यो कसले प्रश्न गरेको हो भन्ने कुरा भयो के, जस्तै तपाइले प्रश्न गर्नु भयो भने तपाई कसलाई प्रश्न गर्नु भयो ? सायद शिक्षकले त्यही प्रश्न गरेको हो त ? हामीले कसले प्रश्न गर्यो के त्यो कुरा ? शिक्षकको साच्चिकै समस्या त्यो हो वा होइन ? हामी कसले भनिरहेका छाँै ? त्यो कसको प्रश्न हो ? शिक्षकमा समस्या छ भन्ने कुरा शिक्षकले भनेको हो की अरु कसैले भनेको हो ? हामीले त्यो शिक्षकले के भन्छ भन्ने कुरासम्म थोरै नै पुगेका छौँ के । हामीले शिक्षकको समस्या के के छन् भनेर प्रआलाई सोध्छौं । प्रअका पनि धरै समस्या होलान तर, शिक्षकको भन्दा प्रअको धेरै समस्या छन् । शिक्षकका समस्या के के छन् भनेर शिक्षकसँगै कति सोधेका छौँ ? उनीहरुसँगै पुगेका छौँ त ? मेरो प्रश्न त्यहाँ हो । शिक्षकसँगै बसेर बिहानदेखि छलफल गर्ने, उहाँहरुका समस्या बुझ्ने, साच्चिकै उहाँको अवस्था के छ , विद्यालयको अवस्था के छ, कस्तो खालको शिक्षक हुनुहुन्छ र उहाँले कसरी काम गर्नु भएको छ, त्यो बुझ्ने मान्छे पनि चाहियो नि ।


त्यसो हो भने विद्यालय शिक्षालाई राम्रो बनाउनका लागि नेतृत्व कस्तो चाहिन्छ र शिक्षक कस्तो हुनुपर्छ ?


पहिलो कुरा जो लिडर हुनुहुन्छ उहाँ शिक्षक भएर लिडर हुनुपर्छ । दोस्रो शिक्षक र लिडर विचमा सहकार्य हुनुपर्छ । दुई जना एक अर्कासँग परिपुरक भएर काम गर्न सक्नुपर्छ, एक अर्कालाई बुझ्ने, सहयोग गर्ने र सहभागिताका लागि जागरुक हुने खालको हुनुपर्छ । फरक फरक परिवेशको अवस्था अनुसार, त्यहाँको समाज, संस्कृति, चालचलन आदीको परिवेशमा रहेर त्यहीँको अवस्था अनुसारको सम्बन्ध हुनुपर्छ ।


काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनले विद्यालय शिक्षाका लागि के गर्दैछ ?


विद्यालय शिक्षाको लागि मेरो सिकाइको अनुभवका आधारमा वा जसरी विद्यालय मै खटेर मैले काम गरे त्यसको अधारमा विद्यालयमा काम गर्न सकिने रहेछ भन्ने लाग्यो । त्यसैका अधारमा मैले काम गरिरहेको छु । विद्यालय शिक्षामा नराम्रो मात्र हैन धेरै कुरा राम्रा छन् । राम्रा कुरालाई पनि बाहिर ल्याउने र नराम्रा कुरालाई राम्रो अभ्यासबाटै सुधार गर्न सकिन्छ भन्ने मोडालिटिबाट अगाडी जाने मैले कोशिस गरेको छु ।


विद्यालय शिक्षामा दुई तरिकाले काम भइरहेको छ । एउटा स्कुल बेस प्रोफेस्नल डेभलपमेन्ट मोडलमा छ जुन स्कूल, कलेजहरुमा गएर शिक्षहरुलाई त्यहीँ बसेर नयाँ कुरा सिक्ने सिकाउने छलफल गर्ने, काम गर्ने र काम गरेकै कुरालाई एजुकेशनको रुपमा जोड्ने गरिरहेका छौं । उहाँहरुले ४८ घण्टा बराबरको सेसनमा सहभागि हुनुभयो र काम गर्नु भयो भने तीन क्रेडिट विश्वविद्यालयले दिने मोडलमा काम भइरहेको छ । अर्को भनेको छोटा अवधिका कोर्सहरु निर्माण गरेका छौं । यो तालिम मोडेलमा छ । कसैले पेशागत विकासका लागि पढ्न चाहानु भयो भने व्यक्तिगत रुपमा पनि यो कोर्स पढ्न सक्नु हुनेछ ।


यो कोर्स भित्र के के समावेश गरिएको छ ?


यो आवश्यकतालाई हेरेर त्यसै अनुसारको कोर्स निर्माण गरिएको हो । यसको अर्थ विश्वविद्यालयले पढाइरहेको भन्दा फरक छ । अहिले मैले काम गर्दै गर्दा विभिन्न विद्यालयहरुमा आवश्यकता देखेको र अनुभव गरेको आधारमा सर्वेको माध्यमबाट, अन्तवर्ता गरेर यो किसिमको कोर्स आवश्यक छ भनेर निर्माण गरिएको कोर्स हो । सैद्धन्तिक हिसाबले पढेपनि विभिन्न तालिम लिएपनि पर्टिकुलर कुनै पनि विषयको बारेमा जान्न मन भएकाहरुका लागि केन्द्रमा राखेर यो कोर्स निर्माण गरिएको छ । जस्तै कसैलाई स्टेम पेडागोजि बारे जान्न मन भयो, एउटा शिक्षकले व्याक्तिगत रुपमा यो कोर्सबाट सिक्न सक्ने छन् ।


यो कोर्स पढ्नका लागि शैक्षिक योग्यता वा मापदण्ड के के छन् ?


यो कोर्स भर्खर मात्रै विश्वविद्यालयले सञ्चालन गरेको हुनाले कम्तिमा १२ पास गरेका शिक्षकहरु देखि एमफिल गरिसक्नु भएको जो कोहिले पनि यो कोर्स पढ्न सक्नु हुन्छ । त्यसैगरी लिडर्सहरुका लागि नयाँ कोर्सको निर्माण गरिरहेका छौं, यो पनि छिटै सञ्चालनमा ल्याउने तयारीमा छौं । साथै मास्टर्स, पिजिडी गरी तीनै तहको कोर्स खुला गर्दै छौँ । यो भनेको कुनै डिग्री हासिल गर्नका लागि नभई स्किल विकास गर्नका लागि, ज्ञान लिनका लागि र त्यस बारे बुझ्नका लागि भनेर नै यस्ता कोर्सको निर्माण गरिएको हो ।


सहभागिहरुले ज्ञान मात्रै लिनु हुन्छ की मान्यता हुने सर्टिफिकेट पनि पाउनु हुन्छ ?


यो कोर्स अध्ययन पश्चात विश्वविद्यालयले मान्यता दिएको छ र सर्टिफिकेट प्राप्त गर्न सक्नु हुन्छ । यसमा ४८ घण्टाको कोर्स डिजाइन गरिएको छ । यसका लागि तीन के्रडिट राखेका छौं, जुन ट्रान्सफर गर्छौ ।


कुन कुन विषयमा कोर्स निर्माण गर्नु भएको छ ?


स्टिम एण्ड पेडागोजि, स्टिम इन साइन्स, स्टिम इन म्याथम्यटिक्स् र स्टिम शिक्षाका बारेमा पुरै बुझ्न चाहानेका लागि स्टिम पेडागोजि इन स्कूल लगायतका कोर्स निर्माण गरेको छौं । यी कोर्स विद्यालयका शिक्षक, लिडर्स वा जो केहिले पनि लिन सक्नु हुनेछ । साथै यो प्रयोगात्मक मोडल हो । यसमा सैद्धान्तिक कुरा पनि हुन्छ र उहाँहरुले दैनिक रुपमा आफ्नो जिवनमा प्रयोग गरेको हुनुपर्छ । त्यसैका आधारमा यो कोर्स निर्माण गरेको छौं । यो कोर्सलाई ब्लेनडेट मोडेलमा पढाउने गरेका छौं ।


भर्ना कहिले कहिले खुल्छ ? भर्नाका लागि इच्छुक शिक्षकहरुले कसरी भर्ना गर्न सक्छन् ?


अहिले दुईवटा कोर्सको कक्षा सञ्चालन भइरहेको छ । बाँकी छिटै नै भर्नाका लागि आवेदन माग गर्दैछौं । आवेदन दिनका लागि ५ सय र एउटा कोर्स पढ्नका लागि १५ हजार शुल्क लाग्छ ।


स्टिम भनिरहनु भएको छ के सबै कोर्समा स्टिम अनिवार्य हो ?


होइन, सुरुवाति चरणमा भएका कारण स्टिमबाट सुरु गरेका हौं । बागमती प्रदेशले स्टिम इम्लिमेन्टेसन प्रोजेक्ट अन्तर्गत हामीले कोर्सको मोडेलमा सुरु गर्यौ तर, यसो गर्दा स्टिम पेडागोजिमा साइन्स र म्याथले मात्रै पुग्दैन भनेर धरैले भनेपछि यसबारेमा पुरै बुझ्न र सिक्नका लागि स्टिम पेडागोजि इन स्कूल कोर्सको निर्माण गरेका छौं । यो सँगै अन्य १७ देखि १८ वटा कोर्सको निर्माण गर्दै छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *