काठमाडौँ/१३ असोज – काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले पहिलो चरणमा सामुदायिक विद्यालयका कक्षा ९ मा अध्ययनरत ४०० जना छात्रालाई आत्मरक्षासम्बन्धी तालिम दिने भएको छ। छात्राहरूलाई हिंसाको पहिचान गर्न सक्षम बनाउने र हिंसाको जोखिममा परेको अवस्थामा आफूलाई सुरक्षित राख्न सक्ने बनाउनु तालिमको उद्देश्य हो ।
दुई दिनको यो तालिम महानगरभित्रका १० वटा विद्यालयमा सञ्चालन हुनेछ। प्रत्येक विद्यालयबाट ४० जना छात्रा सहभागी हुनेछन् ।
परीक्षा तथा कार्यक्रम महाशाखा प्रमुख सुशील सुवेदीका अनुसार शिवपुरी, जनकल्याण, रत्नराज्य, विश्व निकेतन, ज्ञानोदय, जनपथ, जनजागृति ज्ञान रश्मि, तरुण, कन्या र पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयमा तालिम सञ्चालन गरिनेछ ।
नेपाल सेल्फ डिफेन्स मार्सल आर्ट एसोसिएसनका प्रमुख प्रशिक्षक सञ्जु महर्जनले हिंसा के हो भन्ने बुझ्न सक्ने बनाउनु तालिमको मुख्य लक्ष्य भएको बताइन्। तालिममा गलत नियतले छोएको वा हेरेको पहिचान गर्न सिकाइनेछ। साथै, यस्तो नियत राख्ने व्यक्तिको आक्रमणबाट आफ्नै हात र खुट्टाको प्रयोग गरेर कसरी बच्ने भन्ने सिप पनि सिकाइनेछ। तालिममा सैद्धान्तिक कुरा कम र प्रयोगात्मक सिपमा बढी जोड दिइने उनको भनाइ छ ।
महानगरले कार्यक्रमको प्रभावकारिताको मूल्याङ्कन गरी क्रमशः सबै विद्यार्थीलाई यस्तो तालिम उपलब्ध गराउने तयारी गरेको छ।



