काठमाडौं/१२ असोज – नेपाल राष्ट्रिय शिक्षक संगठनले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा व्यवस्था गरिएको प्रोत्साहन भत्ता सबै प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीलाई समान रूपमा उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
संगठनले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा राहत, करार, साविक उमावि तथा प्राविधिक धार, संघीय शिक्षण सिकाइ अनुदान, बालविकास, विद्यालय कर्मचारी, लेखा सहायक, विद्यालय नर्स तथा स्थानीय र प्रदेश अनुदानबाट कार्यरत शिक्षक–कर्मचारीलाई भत्ताबाट वञ्चित गरिनु न्यायोचित नभएको जनाएको हो ।
संगठनका अनुसार स्थायी र अस्थायी दुवै प्रकृतिका शिक्षक–कर्मचारीले एउटै विद्यालय र कक्षाकोठामा समान जिम्मेवारी बहन गरिरहेका छन् । त्यसैले ’समान कामका लागि समान सेवा सुविधा’ को सिद्धान्त अनुसार सबैलाई समान व्यवहार गर्नुपर्ने संगठनको भनाइ छ ।
विज्ञप्तिमा अस्थायी शिक्षक तथा कर्मचारीको सेवा निरन्तरता, सामाजिक सुरक्षा, पेसागत सम्मान र दीर्घकालीन रोजगारी सुनिश्चित गर्ने स्पष्ट नीति ल्याउन पनि सरकारको ध्यानाकर्षण गराइएको छ । साथै, पटक–पटक करार नवीकरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि माग गरिएको छ ।
संगठनले आफ्ना माग तत्काल सम्बोधन नभए शिक्षक–कर्मचारी तथा सरोकारवाला पक्षसँग समन्वय गरी दबाबमूलक कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ ।



