अनुसन्धान क्षमता विकासमा केन्द्रित दुई महत्त्वपूर्ण कार्यशाला सम्पन्न

काठमाडौं /१३ असोज – अनुसन्धान संस्कृति प्रवद्र्धन तथा अनुसन्धानकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी), कमलादी, काठमाडौंमा दुईवटा पाँचदिने अनुसन्धानमुखी कार्यशाला सम्पन्न भएका छन् । सक्षम रिसर्च इन्स्टिच्युटसँगको सहकार्यमा आयोजित यी कार्यशालामा नेपालका अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी, प्राज्ञ तथा बैंकिङ तथा वित्त क्षेत्रका पेशेवरहरूको सहभागिता रहेको थियो ।


पहिलो कार्यशाला “कार्य–कारण अनुमान विषयमा सेप्टेम्बर १४ देखि १८, २०२६ सम्म सञ्चालन भएको थियो । अमेरिकास्थित बोस्टन युनिभर्सिटीको मेट्रोपोलिटन कलेजकी फाईनान्स प्रोग्राम डिरेक्टर प्रा.डा. इरेना भोदेन्स्काको नेतृत्वमा सञ्चालित कार्यशालामा अनुसन्धानबाट कारण–परिणाम सम्बन्धबारे विश्वसनीय निष्कर्ष निकाल्ने आधुनिक विधिबारे सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण दिइएको थियो ।


कार्यशालामा पूर्वाग्रह, मिलान, डिफरेन्स–इन–डिफरेन्सेस, इन्स्ट्रुमेन्टल भेरिएबल्स, रिग्रेसन डिस्कन्टिन्युटी, तथा यादृच्छिक प्रयोगहरू र प्राकृतिक प्रयोगहरू लगायतका विषयमा सहभागीहरूलाई प्रयोगात्मक अभ्याससहित प्रशिक्षण दिइएको थियो । गम्भीर अनुसन्धानमा संलग्न हुन चाहने तथा आधारभूत मात्रात्मक अनुसन्धानसम्बन्धी ज्ञान भएका अनुसन्धानकर्तालाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रम फुलब्राईटको सहयोग तथा सक्ष्यम रिसर्च इन्स्टिच्युट र एमआईटीको सहकार्यमा सम्पन्न भएको हो ।


त्यसैगरी, दोस्रो कार्यशाला “ पुँजी बजारसम्बन्धी अनुसन्धान” शीर्षकमा सेप्टेम्बर २१ देखि २५, २०२६ सम्म सञ्चालन भएको थियो । कार्यशालाले पुँजी बजारसम्बन्धी आधुनिक अनुसन्धान विधि तथा तिनको व्यावहारिक प्रयोगमा केन्द्रित प्रशिक्षण प्रदान गरेको थियो ।


कार्यशालामा आधुनिक पोर्टफोलियो सिद्धान्त, भ्यालु एट रिस्क र स्ट्रेस टेस्टिङ, टेल रिस्क, वित्तीय सञ्जाल तथा प्रणालीगत जोखिम तथा समाचार विश्लेषण र घटना–आधारित लगानी लगायतका समसामयिक विषयमा छलफल तथा अभ्यास गरिएको थियो ।


दुवै कार्यशालामा करिब ८० जना सहभागी भएको आयोजकले जनाएको छ । कार्यक्रमले नेपालमा अनुसन्धानमा रुचि राख्ने विद्यार्थी, अनुसन्धानकर्ता, प्राज्ञ तथा वित्तीय क्षेत्रका पेशेवरहरूबीच ज्ञान, सीप र अनुसन्धान अभ्यास आदानप्रदान गर्ने अवसर प्रदान गरेको थियो ।


एमआईटीका सहसंस्थापक आर. के. दाहालले नेपालमा अनुसन्धानमा आधारित शैक्षिक वातावरण तथा सुदृढ अनुसन्धान प्रणाली निर्माणका लागि यस्ता कार्यक्रम उपयोगी हुने बताए । उनले अन्तर्राष्ट्रिय विज्ञ, अनुसन्धान संस्था तथा शैक्षिक साझेदारसँगको सहकार्यले नेपालमा उच्चस्तरीय अनुसन्धान क्षमता विकास गर्न थप अवसर सिर्जना गर्ने उल्लेख गरे ।


दुई हप्तासम्म सञ्चालन भएका यी कार्यक्रम सेप्टेम्बर २५, २०२६ शुक्रबार ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित प्यानल छलफल तथा प्रमाणपत्र वितरण कार्यक्रमसँगै सम्पन्न भएका हुन् ।


यस्ता अनुसन्धानमुखी कार्यक्रमले नेपालको उच्च शिक्षा क्षेत्रमा प्रमाणमा आधारित अनुसन्धान, आधुनिक अनुसन्धान पद्धति र अन्तर्राष्ट्रिय अनुसन्धान अभ्यासलाई प्रवद्र्धन गर्न योगदान पु¥याउने अपेक्षा गरिएको छ ।