नेपालमै पहिलोपटक पद्यकन्या माविमा सौन्दर्यकला विषयको पठनपाठन

काठमाडौं/२८ जेठ-काठमाडौ २७ जेठ डिल्लीबजार स्थित पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयले सौन्दर्यकला विषयको पठनपाठन गर्ने भएको छ । यही शैक्षिक सत्रदेखि कक्षा ९ का विद्यार्थीलाई सौन्दर्य विषयमा पठनपाठन सञ्चालन गर्ने भएको हो ।


चालु शैक्षिक सत्रमा कक्षा ९ बाट सुरु गरिएको यो विषयको पढाइ कक्षा १२ सम्म क्रमशः पुर्याइने लक्ष्य रहेको विद्यालयका प्रधानाध्यापक रिता तिवारीले बताइन् । उनले विद्यालय शिक्षा समाप्त भए पश्चात छात्राहरु स्वावलम्बी बन्न सकुन् भन्ने उद्देश्यले यही शैक्षिक सत्रदेखि कक्षा ९ र ११ बाट सौन्दर्यकला विषयको पठनपाठन सुरु गरेको बताइन ।


कार्यक्रममा सौन्दर्य कला व्यवसायी संघ नेपालकी अध्यक्ष कमला श्रेष्ठले आफूले सौन्दर्यकलालाई पाठयक्रममा समावेश गराउन २०७१ सालदेखि यता निकै मेहेनत गरेको बताइन । जीवनमा सौन्दर्यकलाको महत्व बताउदै यसलाई सातवटै प्रदेशमा विस्तार गरेर धेरै भन्दा धेरै विद्यार्थीलाई सौन्दर्यकलाको शिक्षा दिएर आत्मनिर्भर हुन सिकाउने उदेश्य रहेको बताइन । योगा, आयुर्वेद, लगायतका धेरै विषय समावेश गरेर पाठ्यक्रम र पुस्तक तयार पारीएको समेत जानकारी दिइन ।


पाठ्यक्रम विकास केन्द्रका शाखा अधिकृत खिलानाथ धमलाले यस्ता विषयले विद्यार्थीहरुलाई आत्मनिर्भर हुन र केही गर्नका लागि सहयोग हुने बताए । यो पाठ्यक्रम निर्माणमा कमला श्रेष्ठले निकै संघर्ष गरेको बताउँदै आफ्नो र पाठ्यक्रम विकास केन्द्रको पूर्ण सहयोग रहने बताए ।

राष्ट्रिय पाठ्क्रम प्रारुपले सौन्दर्यकला विषयलाई माध्यमिक तहमा ऐच्छिक विषयका रुपमा राखेको छ । पाठ्यक्रमले नै यसको ५० प्रतिशत सैद्धान्तिक र ५०प्रतिशत प्रयोगात्मक कक्षा सञ्चालन गर्न निर्देश गरेको छ । प्रयोगात्मक कक्षाक लागि विद्यालयले ल्याब निर्माण गरिरहेको छ ।


पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयमा पहिलो वर्ष नै १५ जना विदार्थीले सौन्दर्यकला विषय रोजेका छन् ।

Leave a Reply

Your email address will not be published.