विद्यालयको भवन निर्माणमा रकम हिनामिना


रामेछाप/२८ जेठ-विद्यालय भवन निर्माण गर्दा आफूखुशी रकम झिकी भवन निर्माणमा खर्च देखाई व्यक्तिगत लाभ लिई निर्माण समाग्रीहरु लुकाई विक्री वितरण गरेको भन्दै आरोप पत्र दयर भएको छ ।


रामेछाप जिल्लाको, कण्ठेश्वर माध्यमिक विद्यालय, टोकरपुर, दोरम्बा–३ का प्रधानाध्यापक सहितले भवन निर्माणमा खर्च देखाई व्यक्तिगत लाभ लिइएकोले विशेष अदालतमा आरोप पत्र दयर गरीएको हो ।


तत्कालीन प्रधानाध्यापक रामबाबु कडेल, सहायक प्रधानाध्यापक, लेखापाल रामलाल कडेल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर भएको अख्तियार अनुसन्धान आयोगले जनाएको छ ।


उजुरीका आधारमा अनुसन्धान हुँदा उनीहरुले विद्यालयको भवन निर्माणमा विद्यालय कोषको रकम खर्च गर्दा कानुनको परिपालना नगरी अनावश्यक रुपमा खर्च भएको भनी विद्यालय कोषको रकम निकाली अस्वभाविक आधार प्रमाण देखाई रु.१२,८४,१२२।७३ हिनामिना गरेको पाइएको सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।


त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद थापामगरले खर्चको आवश्यकतालाई ध्यानमा नराखी विद्यालय कोषको रकम खर्च गर्ने कार्यमा सहमति जनाएको, विद्यालय कोषको नियमन गर्न नसकेकोले निजहरु प्रति असुलउपर गराउन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको वेदप्रसाद भण्डारीले जानकारी दिए ।