काठमाडौं/७ माघ–भूकम्प गएको चार वर्ष पूरा भईसक्दा पनि पाँच सय ९२ वटा विद्यालय पुनःनिर्माणको सूचीमा अटाउन सकेका छैनन् ।
भूकम्पले ३२ जिल्लाका सात हजार नौ सय २३ वटा विद्यालयमा क्षति पुगेको थियो । क्षति पुगेका मध्ये पाँच हजार तीन सय ८४ वटा विद्यालय पुनर्निर्माण भइसकेको छ भने एक हजार पाँच सय ७७ वटा विद्यालयको पुनर्निर्माण कार्य भईरहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का सूचना अधिकारी प्रविन बाबु भट्टराईका अनुसार दुई सय १० वटा विद्यालय पुननिर्माणका लागि छनोट भएका छन् । तर, पाँच सय ९२ वटा विद्यालयमा पुग्न नसकेको उनको भनाई छ ।
बजेट अभावका कारण निर्माण कार्यमा ढिलाई भएको उनले खबर एजुकेशनलाई बताए । उनका अनुसार ७ अर्ब पैसा अपुग भएको छ । उनले बजेट स्रोतको सुनिश्चिता नभएका कारणले विव्यस अन्तर्गत निर्माण हुनुपर्ने विद्यालय पुनर्निर्माण कार्यमा ढिलाइ भएको जानकारी दिए । अर्थ स्रोत उपलब्ध भए पुनर्निमार्णको काम सुरु गर्ने उनको भनाई छ ।
इकाईका अनुसार विद्यालय व्यवस्थापन समिति अन्र्तगत चार हजार तीन सय ५२ वटा विद्यालय पुनर्निमार्ण भइसकेको छ भने एक हजार दुई सय ९३ विद्यालय पुनर्निमार्ण भइरहेको छ । विव्यस अन्तर्गत विद्यालय पुनर्निमार्णका लागि एक सय ७४ वटा विद्यालय छनोटमा परेका छन् । इकाइले साना र थोरै क्षति भएका विद्यालयलाई विव्यस अन्तर्गत निर्माणको जिम्मा दिएको उनको भनाई छ ।
भूकम्प गएको यति लामो समय भइसक्दा पनि विद्यालय पुनर्निमार्णमा ढिलाइ हुँदा विद्यार्थीहरु क्षतिग्रस्त विद्यालयमा भवनमा पढिरहेका छन् भने कति विद्यार्थीहरु टिएलसीका टहरामै बसेर पठनपाठन गरिरहेका छन् । पाँच वर्षभित्र प्रभावित सबै विद्यालयको पुनर्निमार्ण गरिसक्ने लक्ष्य लिएको भएपनि विभिन्न कारणले गर्दा पुनर्निमार्ण कार्यमा ढिलाई भईरहेको छ ।