विद्यार्थीसँग न्यानो लुगा नभएपछि कक्षाकोठामा हिटर जडान

बैतडी/२४ पुस-जाडो बढेसँगै पठनपाठन प्रभावित नहोस भन्दै पाटन नगरपालिका–९ हुक्केडाँडास्थित सिद्धेश्वर माविका प्रत्येक कक्षाकोठामा हिटर जडान गरिएको छ । विद्यार्थीलाई चिसोबाट बचाउनका लागि प्रत्येक कक्षा कोठामा हिटर जडान गरिएको हो ।


विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाटका अनुसार शिशु कक्षादेखि १० कक्षासम्म प्रत्येक कोठामा दुई/दुईवटा हिटर जडान गरिएको बताए । उनले भने, “कतिपय अभिभावकहरुको आर्थिक अवस्था नाजुक हुँदा विद्यार्थीले पनि न्यानो लुगा लगाउन नपाएकाले आफूहरुले कक्षा कोठा न्यानो गरी पठनपाठन गराउन हिटर जडान गरेका हौँ ।”


प्रत्येक विद्यार्थीबाट रु २०० सङ्कलन गरिएको र अपुग रकम विद्यालयबाट थप गरी हिटर खरिद गरेर जडान गरिएको भाटले बताए । उनले यस कार्यका लागि रु ८३ हजार खर्च भएको जानकारी दिए । विद्यालयमा हाल २८५ जना विद्यार्थी अध्यनरत छन् ।