मुलुकलाई अभिभावक सचेतताको शिक्षा प्रणाली आवश्यक छ

काठमाडौं /२४ पुस-किशोरावस्था नै सक्षम जनशक्ति उत्पादनको समयावधि हो । तर किशोरावस्था तथा जनशक्ति विकास मार्गका जोखिमपूर्ण दुर्घटनाका घुम्तीहरु यसै अवधिमा धेरै पाइन्छन् । दक्ष जनशक्ति विकास गर्ने सबै अभिभावकहरुका महत्वाकांक्षा कसरी शिशाझैँ टुट्न पुग्दछन् ? आत्मकुण्ठा शिकार भएर हरेक मोडमा असफलताको भूँमरीमा फस्दै हाम्रा बालबालिकाहरु तनाव, डिप्रेसनको फन्दामा पर्दै कसरी लागू पदार्थको नसामा लठ्ठिन पुग्दछन् ? आफ्नो सुनौलो भविष्य समाप्तपार्दै कसरी घरपरिवार तथा समाजलाई असुरक्षा तथा समस्यामा पुराउँदछन् ? आदिकोे यथार्थ अवस्था अध्ययनका लागि नेपालमा सञ्चालित नेपालप्रहरीको सुधार केन्द्र तथा अपराध तथा नेपालप्रहरीको अपराध अनुसन्धान विभाग तथा सिबिआइको प्रतिवेदनहरु प्रति विशेष ध्यानदिनु पर्दछ ।


समाजका समस्याहरु:

गृह मन्त्रालय लागू औषध तथा दुव्र्यसन तथा नियन्त्रण क्षेत्रका प्रहरीबाट प्रसारित समाचारहरुले जो सुकै सचेत नागरिकको आङ्ग सिरिङ्ग हुन्छ । मानवपूँजी विकास तथा दक्षजनशक्तिका रुपमा आफ्ना सन्तानलाई विशेष दक्ष तथा काबिल बनाउने आशामा कतिपय अभिभावकहरु कसरी बर्बाद हुन्छन् ? अभिभावकले बालमनोविज्ञान तथा सन्तानको बौद्धिक क्षमताको राम्रो जानकारी नराख्दा के कति क्षति व्यहोर्न पर्दछ ? अभिभावकको सामाजिक दम्भमा आफ्ना होनहार किशोरावस्थाका सन्तानहरु कसरी गुमाइरहेका हुन्छन् ? कतिपयको दर्दनाक आत्महत्या, कतिपय जीवित भएर पनि मानसिक समस्याग्रस्त वा अपाङ्गतामा प्रवेश भएका घटनाहरु देख्न, पढ्न र अनुभव गर्न परिरहेका छन् ।


नेतृत्व प्रतिको निराशा :
सार्वजनिक सेवामा पेसागत नैतिकता, आचरण, कानुनी प्रावधानको कार्यान्वयनमा समस्या, सामाजिक दुष्प्रभावहरु, सुशासन निष्प्रभावीकार्यहरु तथा राज्य प्रणाली माथि उठाइने प्रश्नहरुले मुलुकका सरोकारवाला निकायहरुका धारणाहरु खुलेर आइरहेका छैनन् । राजकीय सुशासनको चाहना, सेवाप्रदायक निकाय तथा सबै राजनीतिक दलहरु तथा प्रणालीमा नै त्रुटी रहेको देखाइएको कुरा स्पष्ट हुन्छ ।

आमजनताका बीचमा गरिने प्रतिवद्धता र भाषण तथा नतिमा आकाश पातालको फरक रह्ने गरेको छ । यद्यपि मुलुकमा प्राविधिक, प्रशासनिक, आर्थिक सार्वजनिक सेवा क्षेत्रमा पेसागत आचरण तथा जवाफदेहिता कायम गर्न विविध ऐन, कानुन र संवैधानिक संस्था तथा संरचनात्मक प्रबन्ध गरिएको हुन्छ । ता पनि प्राविधिक, प्रशासनिक, आर्थिक तथा पेसागत क्षेत्रमा निरन्तर गैरकानुनी र अपराधजन्य घटनाहरु दोहोरिने र सञ्चार क्षेत्रमा नकारात्मक समाचार प्रवाह हुनुले सामाजिक चरित्रको पतन तथा राजनीतिक नेतृत्व प्रतिको निराशा बढेको स्पष्ट देखिन्छ ।


समस्याको मूल जरो दक्ष जनशक्तिको अभाव:
मुलुकमा सुयोग्य तथा पेसागत प्रतिवद्ध र जवाफदेही नागरिक सार्वजनिक सेवामा प्रवेश नभएको वा सक्षम जनशक्तिलाई मुख्य जिम्मेवारीबाट बञ्चित गरिएको अनुमान गर्न सजिलै सकिन्छ । विषयगत क्षेत्रका जनशक्ति उत्पादन, विकास र प्रयोगमा देश चुकिरहेको छ र नयाँ रेलको डेढ वर्षको त्रिपाल नियतिले यो सवाललाई बलियोसँग पक्डेको छ ।


यस सन्दर्भमा महालेखा नियन्त्रण कार्यालय, महालेखा परीक्षकको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवाआयोग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभाग, राष्ट्रिय सतर्कता केन्द्र, न्यायपालिका तथा व्यवस्थापिकाका संसदीय समितिहरु, कानुन मन्त्रालय तथा वरिष्ठ कानुनविद्हरुका दृष्टिकोणबाट सार्वजनिक सेवाका पदाधिकारी वर्गको प्रवृत्तिगत, मनोसामाजिक सिकाइ तथा बाधा व्यवधान माथि पाइएका तथ्यहरु तथा विवरणहरुमा राष्ट्रिय बहस साथ छलफल गरी मानव संसाधन विकास योजना, नीति तथा कार्यक्रम तयार पार्न र शिक्षा पद्धति र सिकाइका विषयमा रुपान्तरण गर्न सहयोग पुग्ने आशा गर्न सकिन्छ । अन्यथा मुलुकको समस्याको मूल जरो दक्ष तथा इमानदार जनशक्तिको अभाव हट्ने छैन र देश अझ अधो गतिमा फस्दै दलाल र बिचौलियाको राज्यको कुचक्रमा फसिरह्ने छ ।


कसरी गर्ने त वैज्ञानिक जनशक्ति विकास नीतिनिर्माण तथा कार्यान्वयन ?
मुलुकमा मानवपूँजी, जनशक्ति उत्पादन, विकासमा राज्यको साधनस्रोतबाट उपलब्ध धेरै शैक्षिक सेवा सुविधाहरु निर्धारित गरिएका छन् । देश विकासमा जनशक्तिको उत्पादन, विकास तथा तिनको प्रयोग एवम् मुलुक समृद्धिको मार्गमा प्राप्त नतिजाहरुबारे विश्लेषण गर्न, गराउन आवश्यक हुन्छ । जनशक्ति विकासका लागि मुख्य सरोकारवाला निकाय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयनै हो ।


मानवपूँजी विकास तथा विषयगत जनशक्ति उत्पादनका क्षेत्रमा राज्यतह तथा विविध निकाय अन्तर्गतका सबै किसिमका छात्रवृत्ति तथा ती सम्बद्ध निकायहरु तथा वरिष्ठ शिक्षाविद् एवम् छात्रवृत्ति अनुसन्धाकर्ताहरुका वैज्ञानिक अवधारणाका आधारमा वैज्ञानिक जनशक्ति विकास नीति निर्माण तथा कार्यान्वयन आजको आवश्यकता भएको छ ।

राज्यतह तथा विविध निकाय अन्तर्गतका सबै किसिमका छात्रवृत्ति तथा ती सम्बद्ध निकायहरु तथा वरिष्ठ शिक्षाविद् एवम् छात्रवृत्ति अनुसन्धाकर्ताहरुका वैज्ञानिक अवधारणाका आधारमा वैज्ञानिक जनशक्ति विकास नीति निर्माण तथा कार्यान्वयन आजको आवश्यकता भएको छ । 


उच्च शिक्षातर्फ स्वास्थ्य, इन्जिनियरिङ्ग, कृषि, पशु, वनविज्ञान, विविध प्राविधिक, व्यावसायिक तथा विज्ञान प्रविधि र साधारण शिक्षा क्षेत्रमा समेत शैक्षिक सहुलियत, सेवासुविधा कतिपय विद्यार्थीलाई आवास व्यवस्था र अरबौँ अरब रकमको छात्रवृत्तिमा सरकारी, सामुदायिक, निजी तहबाट स्वदेश तथा विदेशमा अध्ययन गर्ने पहुँचको अवसर राज्यले दिएको छ । तर मुलुकमा निम्न सीप, मध्यमसीप र दक्ष सीपको क्षेत्रमा पर्याप्त जनशक्ति नहुँदा राज्यको ध्यान यी विषयमा जानुपर्ने देखाउँछ ।


यसर्थ राज्यका सबै सरोकारवालाको सहमतिमा सबै पक्ष र वर्गका पेसा, व्यवसाय तथा क्षेत्रका जनशक्ति विकासमा किशोरावस्थाका बालबालिकाहरुलाई मुख्य केन्द्रविन्दुमा राखेर मुलुकको शिक्षा प्रणाली तथा जनशक्ति विकासमा ध्यानदिनु आजको मुख्य आवश्यकता भएको छ ।


शिक्षण सिकाइमा नागरिक सचेतता कसरी ?
यसर्थ शिक्षण सिकाइ प्रणालीले हरेक समाजका सामाजिक वर्गीय चरित्रका आधारमा किशोरावस्था वा युवावस्थामा हुन सक्ने लक्षण तथा मनोसामाजिक पक्षको अध्ययन गर्न, गराउन आवश्यक हुन्छ । समाजलाई अगाडि बढाउन व्यवधान खडा हुने हरेक विकृति, विसंगतिको चिरफार गर्ने अभिभावक सचेतताको शिक्षा प्रणाली मुलुकलाई आवश्यक भएको छ । मानिसमाभय, त्रास, तनाव तथा जीवन मार्गको विनास वा अधोपतनको बाटो अवलम्बन गर्ने सोच किन उत्पन्न हुन्छ ? किशोरावस्थाका बालबालिकाहरु माथि सामान्य लापर्वाही गर्दा समेत राष्द्रिय क्षति, बहु आयामिक प्रकृतिका अपराधिक श्रृंखलाहरुमा कसरी वृद्धि हुन्छ ? असामाजिक गतिविधिमा बालबालिकाको अनपेक्षित सहभागिता तथा बढ्दो विकृतिको ग्राफको उकालो कसरी लाग्छ ? त्यसकारण यी सबै विषयमा समाजशास्त्री एवम् मानवशास्त्रीहरुका अनुभव तथा आधिकारिक धारणा सहितका विचारलाई संयोजन गरी हाम्रा पाठ्यक्रम, पाठ्यपुस्तक तथा शैक्षणिक परामर्शका कार्यक्रमहरु सञ्चालन गर्न, गराउन अति जरुरी भएको छ ।


शिक्षा नेतृत्वको संवेदनशीलता मुख्य प्रश्न :
यी सबै गतिविधिमा संलग्नता तथा तथ्यपरक विवरणहरुको अध्ययनगर्दा हाम्रो घर, परिवार तथा समाजको अवस्था चिन्तनीय रुपमा डरलाग्दो चित्रमा उपस्थित हुन गएको पाइन्छ । फलत : असल र सक्षम बनाउन खोजिएका हाम्रा किशोर किशोरीहरु लुटपाट, हत्या, आत्महत्या, लागू पदार्थ दुव्र्यसनमा फस्दै गएका छन् । सुन्दर, शान्त देशलाई विकृति तथा अपराधका श्रृङ्खलाबद्ध जन्जालबाट बचाएर लैजान ढिला भएको छ ।


जुन घरमा विद्यार्थी कुसंगतको शिकारमा फस्दै छ, प्रारम्भमा एउटा परिवार, घर, आफन्तजनको समस्या हुन सक्छ तर कालान्तरमा देशकै मूल समस्या हुन जान्छ । यस्ताखालका अपराधी क्रियाकलापको क्षतिलाई न्यूनीकरण गर्दे सामाजिक शान्ति सुव्यवस्था कायम गर्न र देशलाई समुन्नत बनाउन शैक्षिक तथा सीपगत क्षेत्रमा राज्यको नीतिगत व्यवस्था गर्न आवश्यक छ ।

लेखक ईश्वरीप्रसाद पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव हुन् ।