पोखरा विश्वविद्यालयद्धारा स्नातक तहको छात्रवृत्तिका लागि दरखास्त आह्वान

कास्की/५ मंसिर-पोखरा विश्वविद्यालयले स्नातक तहको छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेको छ । विश्वविद्यालयल आङ्गिक, संयुक्त आङ्गिक र सम्बन्धन प्राप्त स्कुल तथा कलेजहरुमा निशुल्क छात्रवृत्ति अध्ययनका लागि खुला प्रतियोगिताबाट उम्मेदवार छनोट गर्नुपर्ने भएकाले दरखास्त आह्वान गरेको हो ।

विश्वविद्यालयलाई हुन जाने छात्रवृत्ति कोटाहरु मध्ये स्थानीय छात्रवृत्ति र शिक्षक तथा कर्मचारी सन्तति छात्रवृत्तिको कोटा बाहेक ६० प्रतिशत कोटा खुला र ४० प्रतिशत कोटा अपाङ्ग, सहिद तथा जनआन्दोलन घाइते पिडित,दुर्गम, दलित,जनजाति र मधिसी समुदायलाई सुरक्षित गरिने जनाएको छ । खुला र आरक्षित दुबै प्रकारका छात्रवृत्ति कोटामा महिलाहरुका लागि ५०÷५० प्रतिशत छत्रवृत्ति कोटा सुरक्षित गरिने छ ।


छात्रवृत्तिका लागि विश्वविद्यालयलाई प्राप्त हुनजाने निःशुल्क छात्रवृत्ति कोटामा नियमानुसार सार्वजनिक विद्यालयमा कम्तीमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गरी एसईई वा एसएलसी उत्तीर्ण गरेका हुनुपर्ने छ ।


त्यस्तै छात्रवृत्ति छनोट प्रवेश परीक्षामा समेत सफल भएका उम्मेदवारहरुलाई तेस्रो चरणको छात्रवृत्ति वितरण गरी सकेपछि पनि कोटा कोटा रिक्त रहन गएमा सार्वजनिक विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययन गरेका बाहेक संस्थागत विद्यालयमा अध्ययन गरी एसईई वा सोसरह उत्तिर्ण गरेका उम्मेदवारलाई मेरिटका आधारमा छत्रवृत्ति उपलब्ध गराइने विश्वविद्यालयले जनाएको छ ।


सार्वजनिक र संस्थागत विद्यालयमा अध्ययनगरी एसईई पास गरेका उम्मेदवारलाई तोकिएका कागजातहरु बाहेक कुनै पनि सिफासि पत्र पेश गर्न नपर्ने सूचनामा उल्लेख गरीएको छ ।


छात्रवृत्ति कार्यक्रमा दरखास्त दिन इच्छुक उम्मेदवारले मंसिर ५ गतेदेखि २५ गते भित्र अनलाईन दरखास्त फारम भरसिक्नु पर्ने छ । त्यस्तै छात्रवृत्तिका लगि परीक्षा पुष ३ र ४ गते सञ्चालन गरीने जाएको छ ।