शिक्षण पेसा : अधुरो रहेका दुई सपना


चितवन /२ मंसिर-त्रिभुवन विश्वविद्यालय किर्तिपुर काठमान्डौमा एम.एड अध्ययन गर्दैगर्दा शिक्षक सेवा आयोगले शिक्षकको रिक्त पदपूर्तिका लागि विज्ञापन प्रकाशित गर्यो । साथिहरूले परीक्षा दिन जाने विभिन्न जिल्लाहरूको बाँडफाँड गर्नुभयो । मेरो भागमा चितवन जिल्ला पर्न गयो । शिक्षक पदका लागि प्रकाशित विज्ञापनमा चितवन जिल्लाबाट फारम भर्ने काम गरियो । परीक्षा दिएर सफल पनि भएँ । जिल्ला शिक्षा कार्यालय चितवनले सफल उम्मेदवारका लागि नियुक्तिपत्र लिन आउनु भनी सूचना प्रकाशित गर्यो ।


वि.सं.२०७१ साल भाद्र ४ गते प्राथमिक शिक्षकको रूपमा स्थायी नियुक्ति लिएँ । शिक्षा नियमावली,२०५९ को नियम ९५र शिक्षक सेवा आयोग नियमावली,२०५७ को नियम २४ अनुसार योग्यताक्रमका आधारमा विद्यालय रोज्न पाउने अधिकार सुरक्षित थियो । तर खुल्ला कोटाबाट नाम निस्किएको भएपनि अपाङ्ग, महिला, आदिवासीलाई पहिलो प्राथमिकता दिनुपर्ने हुँदा योग्यताक्रम अनुसार विद्यालय रोज्न भने पाइएन ।


यस्तो किन भईरहेको छ ? किन ऐन, नियम विपरीत काम भइरहेका छन् ? महिला, अपाङ्ग, जनजातिले नै पहिले विद्यालय रोज्न पाउनुपर्ने कारण के –के हुन ? अहिले पनि बारम्बार मलाई यि प्रश्नले घोचिरहेको छ । म अनुत्तरित छु । नियुक्ति पश्चात कर्म क्षेत्र रह्यो साविकको चण्डीभञ्ज्याङ गाउँ विकास समिति वडा नं.७ स्थित श्री राष्ट्रिय प्राथमिक विद्यालय, तुन्तेष ।


भौगोलिक हिसावले चितवनकै अति विकट ठाउँमा अवस्थित थियो यो विद्यालय । यहाँ मुख्य गरी चेपाङ जातिको बाहुल्यता थियो । घर्ती र गुरूङ जातिको अलिक कम बसोवास रहेको थियो ।यहाँ पुग्न चितवनको सदरमुकाम भरतपुरबाट उत्तर तर्फ नारायणगढ मुग्लिन सडक खण्डको काली खोला भन्ने ठाउँ सम्म गाडिमा यात्रा गर्न सकिन्थ्यो । गाडीबाट कालिखोलामा उत्रिए पश्चात करिब पाँच घण्टाको उकालोको यात्रा गर्दै, डाँडै डाँडाले बनेको चेपाङ बस्ती पार गरेर मात्र विद्यालय पुग्न सकिन्थ्यो । विकासको दृष्टिकोणले पछाडि परेको यो ठाउँ यातायात, विद्युत, सञ्चार, खानेपानीको प्रयाप्त सुविधाबाट समेत वञ्चित थियो । यहाँ बसोबास गर्ने मानिसहरूको जनजिवन अत्यन्त कष्टकर थियो ।


भर्खरै शिक्षण पेशामा प्रवेश गरेकोले म भित्र नयाँ जोस, जाँगर अनि उत्साह त छँदै थियो अझ शिक्षण पेशामा स्थायी जागिरेको रुपमा प्रवेश भएकोले शरिरमा अलिक रगतको प्रवाह बढेको थियो । बिग्रदै गएको शिक्षा क्षेत्रलाई कसरी सुधार गर्न सकिन्छ ? शिक्षण पेशालाई कसरी मर्यादित बनाउन सकिन्छ ? भनेर विद्यार्थी अवस्थादेखि नै देखेको सपना अब साँच्चै पुरागर्ने समय आएको छ भनी मनमनै प्रफुल्लित पनि थिए ।


पुस्तकमा पढेको कुरा व्यवहारमा लागू गर्न सकिन्छ कि सकिँदैन भनेर मनमा अनेक तर्कना नउब्जिएका पनि होईनन् । तुन्तेष विद्यालयमा केही राम्रो काम गर्न सकिन्छ भन्ने कुरामा मनोवल उच्च थियो । भुगोलका कारणले सोचे जति गर्न सकिने अवस्था थिएन । आफ्ना व्यक्तिगत काम लगायत विद्यालयको कामको लागि टेलिफोन सम्पर्क गर्न त्यहाँबाट एक घण्टाको उकालो चढेर ईच्छाकामनाको डाँडामा पुग्नु पर्दथ्यो । त्यो ठाउँ बाहेक सञ्चारसँग जोडिने कुनै अर्को विकल्प थिएन । यो क्रम करिब दुई वर्षसम्म चलिरह्यो । साथीभाइसँग कुरा गर्दा यस ठाउँको प्रसंगवस केहि कुरा उठेमा भन्छन् “ चितवनमा पनि यस्तो ठाउँ छ र ? “ यो कुरालाई एउटा मजाक र हाँसोको विषय बनाइन्थ्यो । तर वास्तविकता त्यही नै थियो ।


पहिलो दिन विद्यालयमा जाँदै गर्दा विद्यार्थीहरू थोरै पाँए । प्रत्येक कक्षामा चार÷पाँच जना मात्र । मलाई अचम्म लाग्यो । शिक्षक साथीहरूलाई सोधे, “ हाम्रो विद्यालयमा कति जना विद्यार्थी छन् ? “ साथीहरूले मुखामुख गर्नुभयो तर मेरो प्रश्नको जवाफ दिनु भएन । उहाँहरुले संकेत गरिरहनु भएको थियो कि विद्यार्थी सङ्ख्या कम छ भनेर । विद्यार्थी हाजिरी खाताबाट पत्ता लगाएँ जम्मा चौसठ्ठि जना मात्रै रहेछन् ।


कक्षामा पढाउन थाले । विद्यार्थीहरू केही प्रश्नहरु सोधे तर उत्तर दिदैनन् । मलाई लाग्यो, पहिलो दिनको कक्षा हो म विद्यार्थीसँग घुलमिल हुन नसकेकाले बोलेनन् होला । कक्षा सकेर आएपछि सरहरूले भन्नुभयो, अहिले विद्यालयमा पढ्न सम्म त आँउछन् । पहिला कुनै नयाँ मान्छे वा शिक्षक आफ्नो घर वरपर आएको देखेमा दौडेर घर भित्र लुक्थे । मैले सोचे यस्तो किन हुन्छ ? त्यही दिनदेखि मेरो मनमा केही गर्नु पर्दछ भन्ने अझ आँट बढेर आयो ।


समुदायको माया, ममता, सहयोग, नजिकै रहेका अन्य विद्यालयमा कार्यरत शिक्षक साथीहरुको सहयोग, विद्यालयका शिक्षक सहकर्मीहरू सबैको सहयोगले तुन्तेष विद्यालयमा प्रधानाध्यापक बन्ने मलाई सुवर्ण अवसर प्राप्त भयो । प्रधानाध्यापकको जिम्मेवारी मेरो काँधमा आएपछि निम्न कामहरू गर्ने सु–अवसर मिल्यो जो सविस्तार गर्ने कोशिस गर्दैछु ।


१.शैक्षिक सुधारः
सर्वप्रथम, विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी पाए पश्चात विद्यालय सुधारको योजना बनाएँ । वि.व्य.स. र शिक्षक सहकर्मीसँग उचित सल्लाह र सुझाव लिएर काम गर्न शुरु गरे । पहिलो वर्षमा नै चौसठ्ठी जना विद्यार्थीको सङ्ख्यालाई चौरानब्बे जना र अर्को वर्ष एक सय चारजना पुर्याउन सफल भए । प्रधानाध्यापक हुँदाका बखतमा विद्यालयको खाता रहेको राष्ट्रिय वाणिज्य बैंक भरतपुरमा जम्मा छत्तीस पैसा मात्र थियो । चाहेर पनि शैक्षिक सुधारका लागि केही गर्न सकिदैन थियो । “ सिसिएस “ इटालिको सहयोगमा सम्पूर्ण विद्यार्थीहरूको लागि बर्षभरी पुग्नेगरी निःशुल्क कापि र कलमको व्यवस्था भयो ।
अभिभावकको आर्थिक स्थिति कमजोर तथा चेपाङ समुदाय भएकोले विद्यालयमा अधिकांश विद्यार्थीहरू जिउभरी लुगा नलगाई आउने गर्दथे । सरकारले तोकेको अनुसार लुगा लगाएर आउ भन्न सकिने ठाउँ नै बाँकी थिएन । एक दिन कुराकानीको क्रममा नेपाल शूक्ष्म पुष्प समाज, भरतपुरका संयोजक नरेन्द्र लामिछनेसँग विद्यार्थीको समस्या राखे । उहाँले सम्पूर्ण विद्यार्थीका लागि (६४जोर) कपडा सिलाएर निःशुल्क उपलब्ध गराउनु भयो र बाँडियो ।


सबै विद्यार्थीलाई विद्यालयमा मञ्जन, ब्रस उपलब्ध गराएर दाँत माझ्ने, हात र मुख धुने बानीको विकास पनि गराईयो । कक्षाकोठामा शिक्षण कार्यमा प्रयोग गरिने चक, डस्टर र कालोपाटीलाई हटाएर सेतोपाटी र मार्करको व्यवस्था गरियो । विद्यार्थीहरूलाई शुक्रवारका दिन धारामा लगेर सरसफाइ गराउने र सिकाउने काममा डिल बहादुर प्रजाको पनि सहयोग रह्यो ।


२.भौतिक सुधारः-
एक देखि पाँच कक्षासम्म सञ्चालनमा रहेको यो विद्यालयमा छुट्टाछुट्टै कक्षागत विद्यार्थी राखेर पढाउन सकिने अवस्था थिएन । जसको पहिलो कारण, कक्षाकोठा अभाव नै थियो । यस विद्यालयमा जम्मा छ वटा मात्र कक्षाकोठा थिए । जसमध्ये एउटा कोठामा कार्यालय कक्ष, अर्कोमा स्टोर र अर्को एउटा कोठामा बाहिरका शिक्षकहरूका लागि आवासको रूपमा प्रयोग गरिएको थियो । बाँकी तिन ओटा कोठा पठनपाठनका लागि छुट्याइएको रहेछ । दोस्रो कारण, तिन ओटा मात्र शिक्षक दरबन्दी त्यसमा पनि एक जना शिक्षकलाई जिल्ला शिक्षा कार्यालयले अन्य विद्यालयमा काजमा खटाएको थियो । आवश्यक शिक्षक दरबन्दी र कक्षाकोठाको अभावमा बहुकक्षा सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्था थियो ।


विद्यालय व्यवस्थापन समितिको वैठक बसेर दुईकोठे भवन मागगर्ने निर्णय भयो र जिल्ला शिक्षा कार्यालयमा आवश्यक कागजात पेस गरियो । जिल्ला शिक्षा कार्यालयले पनि विद्यालयमा कक्षाकोठा थप गर्नुपर्ने आवश्यकता महसुस गर्यो । भवन निर्माणको योजना पर्यो । तेह्र लाख पचास हजारको सम्झौतासमेत गरियो ।


भवन बनाउने योजना त पर्यो तर भु–बनावटका कारणले काम गर्न अत्यन्त कठिन थियो । जस्ता पाता, सिमेन्ट, रड आदि निर्माण सामग्री भरतपुरबाट लिनु पर्ने बाध्यात्मक अवस्था थियो । विद्यालय सम्म पुर्याउन साह्रै गार्हो थियो । भरतपुर वा मुग्लिनमा निर्माण सामग्री खरिद गरेर विद्यालयसम्म पुर्याउँदा लागत दोब्बर पर्न जान्थ्यो । यातायातको सुविधा नहुँदा मानिसबाट भारी बोकाएर लैजादा दोब्बर मूल्य पर्नु स्वाभाविकै थियो । तरपनि समुदायको महत्त्वपूर्ण सहयोगले भवन निर्माण कार्य समयमै सम्पन्न भयो । यस अर्थमा कि त्यहाँका जनसमुदायले विद्यालयप्रति देखाएको माया अन्य ठाँउमा बिरलै देख्न पाइन्छ ।


तुन्तेषका अधिकांश मानिसहरूले मान्ने धर्म ईसाइ वा क्रिस्चियन हो । बौद्ध एवम अन्य धर्ममा विश्वास राख्नेहरूले आफ्ना बच्चाहरूलाई पनि यहि स्कुलमा पूजागर्न मिल्ने मन्दिर बनाँउने इच्छा गरे र मन्दिर बनाउन तयार भए । यो भन्दा पहिले सरस्वती पुजाको दिन ढुङ्ग्रे मा.वि. मा गएर पुजा गरेका कुरा सुनाएका थिए । ईसाइ धर्म मान्ने मानिसका बिच सरस्वती मन्दिर निर्माणको काम सजिलो थिएन । तर पनि सबैको सहयोगले मन्दिर निर्माण कार्य सम्पन्न भयो । मन्दिर निर्माणका लागि विद्यालयसँग रकम थिएन । सबै गाउँलेहरूले सात दिनको श्रमदान गरे ।


जस्तापाता, सिमेन्ट, रंग, किला काँटी किन्नका लागि शिक्षक तथा गाँउका मानिसले आफुले सक्ने जति रकम दिएर सहयोग गरे । सरस्वतीको मन्दिर निर्माणका लागि ढुङ्ग्रे माविका शिक्षक क्रमशः युवराज पौडेलले मुर्ति, विश्वनाथ गुरूङले घण्टी, पुजाका सबै सामाग्री, तिलक गुरूङ र रामचन्द्र खनियाले रू.एक÷एक हजार सहयोग गरे । मन्दिरको काठका लागि राष्ट्रिय वनबाट र राम बहादुर घर्तीको निजी वनबाट एउटा रुख काटेर उपलब्ध गराइयो । जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको एकलाख रूपैयाँले विद्यालयमा रहेको बस्न मिल्ने चौतारो, फलामका बेञ्चहरू निर्माण गरियो । विद्यालयमा भत्केको भवनको जग, पर्खाल र झ्याल ढोका पनि मर्मत गरियो ।


३.खाजा कार्यक्रमः-
नेपाल सरकारले उपलब्ध गराउने सीमान्तकृत विद्यार्थीहरूका लागि प्रति विद्यार्थी प्रतिदिन रू.बाह्र रूपैयाँ (बिदाका दिन बाहेक) आएको रकमबाट चौरानब्बे जना विद्यार्थीका लागि पकाउने र खाने भाँडाकुँडा किनेर सरकारले तोकेको मापदण्ड अनुसारको खाजा खुवाउने काम गरियो । खाजा कार्यक्रममा पनि समुदायको उल्लेखनीय सहयोग रह्यो । विद्यालय भन्दा बिस मिनेट तलको दुरिमा खानेपानीको धारा भएकाले सबै विद्यार्थीलाई खाजा पकाउने पानी र भाँडाकुँडा सफागर्न लागि पालैपालो अभिभावकले पानी, दाउराको बन्दोबस्त र खाजा बनाईदिने जस्ता कार्य गरेर निकै ठुलो गुन लगाए ।


तुन्तेष विद्यालयमा पढ्ने विद्यार्थीको आमाबुबाले गर्ने खेतीपातीमा मकै, कोदो र अलिअलि धान उब्जनि हुन्थ्यो । त्यो पनि बाह्रै महिना खाना नपुगेर गिठा, भ्याकुर जस्ता कन्दमुल खोज्न जानू पर्ने बाध्यात्मक अवस्था थियो । खाजा कार्यक्रमले गर्दा विद्यार्थीहरू बिचैमा बिदा मागेर घर जाने क्रम रोकियो र नियमित उपस्थितिको दर बढ्यो । तुन्तेष विद्यालयमा पिछडिएको चेपाङ, घर्ती, गुरुङ जातीका विद्यार्थी भएकाले खाजा कार्यक्रम निकै प्रभावकारी भयो । खाजा पकाउनका लागि अस्थायी छानो भएको घर थियो । पानि, हावाहुरी, घाम नछेकिने थियो । मेड नेपाल भरतपुरको सहकार्यमा भान्सा घर निर्माण र सबै भान्सा सामाग्री खरिदको काम पूरा गरियो ।


४.अन्य कार्यः-
म आफै र ढुङग्रे माविका शिक्षक युवराज पौडेल जिल्ला वन कार्यालय चितवनमा गएर धुपी, म्याङगो स्टिक र अशोकका एक सय वटा विरूवा ल्याएर विद्यालय भित्रको वातावरण हरियाली र सुन्दर बनाउन विद्यालयमा वृक्षारोपण गरियो । सबै विद्यार्थीको सहयोगमा फुलबारी तयार गरियो । अहिले ति बोटविरूवा हुर्किरहेका छन र फुलवारी हराभरा भएको छ भन्ने सुनेको छु ।


अझ रोचक कुरा के छ भने विद्यालय स्थापना कालदेखि नै वार्षीक उत्सव मनाईएको रहेनछ । वि.व्य.स.को बैठकमा वार्षिक उत्सव तथा अभिभावक दिवस मनाउने प्रस्ताव गरे । सो प्रस्ताव सर्वसहमतिले पास भयो । मिति २०७३/१०/१९ गतेका दिन श्री रा.प्रा.वि.तुन्तेषको ३४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइयो । सोही दिन सरस्वति मन्दिरको उद्घाटन पनि गरियो । यो कार्यक्रम सफल पार्न सहयोग गर्ने वि.व्य.स. का सबै पदाधिकारीहरु, अभिभावक, शिक्षक, विद्यार्थी र छिमेकी विद्यालयका शिक्षकहरु क्रमशः युवराज पौडेल, रामचन्द्र खनिया, देवराज साखी, गोविन्दराज चिलुवाल, चण्डीभञ्ज्याङ स्वास्थ चौकिका प्रमुख भरत रिजालको सहयोग अत्यन्तै सर्हानिय रह्यो ।


सामुदायिक रेडियो माडी एफ.एमले कार्यक्रम प्रत्यक्ष प्रसारण गरिदिने र त्यसको महत्वपूर्ण संयोजनकारी भूमिका खेल्ने साथी देवराज सांखीले कहिल्यै नभुल्ने गुन लगाउनु भयो । सबै शिक्षक र कर्मचारीको बैंक खाता भरतपुर स्थित राष्ट्रिय वाणिज्य बैकमा खोलियो । यसको मुख्य उद्देश्य थियो, आर्थिक पारदर्शिता, सुरक्षा र अडिट कार्यलाई सहज बनाउनु ।


हुनत यी कामहरू कसैका लागि अति सामान्य लाग्न सक्लान तरपनि महत्वपूर्ण र जटिल कामको सुरूवात सामान्य कामबाट नै गर्नुपर्दो रहेछ । तर पनि त्यहाँ रहेर दूई ओटा कार्य गर्ने रहर हुदाँहुदै पनि पुरा गर्न नपाएकोमा दुखी छु । पहिलो कामः तुन्तेष बसेर काम गरिरहँदा बिजुली बत्ती नहुँदा पनि वडा कार्यालयबाट सोलरको व्यवस्था र भरतपुरका केही संस्था र व्यक्तिहरू खोजी गरी विद्यालयमा कम्प्युटर कक्ष स्थापना गरेर विद्यार्थीलाई सूचना तथा सञ्चार प्रविधिसँग परिचित गराई बाहिरी संसारमा घुलमिल गराउने काम ।


दोस्रोः अधिकांश विद्यार्थीहरू दुई घण्टाको दुरि पार गरेर ठाडाखोला, सेपवारी, पुच्छर तुन्तेष, दुलेबाट आँउथे । प्रायःएउटै अभिभावकको चार पाँच वटा सन्तान थिए । खाना लाउन साह्रै समस्या थियो । विद्यालयमा कम्तिमा बिस÷पच्चिस जना विद्यार्थी रहन सक्ने क्षमताको एउटा सुविधायुक्त रात्रीकालिन छात्रवास बनाएर ति वालबालिकाको उज्जल भविष्यको निर्माण र विद्यालयको शैक्षिक सुधारमा टेवा पुर्याउने पुनित कार्य गर्न नसकेकोमा हालसम्म पनि मलाई पछुतो लागिरहेको छ । हाल म शिक्षण पेसाको क्रममा जहाँ भएपनि, जहाँ रहेपनि मेरो स्थायी जागिरे जीवनको सुरूवाती ठाँउ“ तुन्तेष “ म सम्झीरहेछु र सम्झी रहनेछु ।
(लेखक राजन कार्की हाल नारयणी नमुना मा.वि भरतपुर,चितवनका शिक्षक हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *