कोभिड-१९ र सञ्चार उपकरणले विद्यार्थीलाई पारेको प्रभाव

नवलपरासी/१ मंसिर-विश्वव्यापी रुपमा सन २०१९ देखि फैलिएको कोरोनाले विश्व नै तहसनहस पार्यो । यसले विद्यार्थीहरु र उनिहरुको शैक्षिक अवस्थालाई नराम्रो गरी प्रभावित पार्यो । नेपाल पनि कोरोनाको महामारीबाट करिब अढाई बर्ष ग्रसित बन्यो ।


मानव जीवनमा स्वास्थ्य जति संवेदनशील अन्य कुनै क्षेत्र छैन । तर हामी कोरोना महामारीमा आफ्ना बालबालिकाको पठनपाठनमा अत्यन्तै चिन्तित बन्यौं । निजि शैक्षिक संस्थाहरुको व्यापार चौपट भयो । अंग्रेजी माध्यम भनीएका वा नमुना भनीएका सरकारी विद्यालयहरु पनि निजिकै हाराहारीमा आर्थिक लाभबाट वञ्चित भए ।


अनलाईन क्लासका नाममा सिमित अभिभावकका छोराछोरीहरुलाई सकि नसकी ल्यापटप ,ट्याब वा मोबाइल किन्नै पर्ने बाध्यता सिर्जना गरीयो । तर त्यो न दिर्घकालिन हुन सक्यो वा सबै बिद्यार्थिले त्यसको उपभोग गर्न पाए,न त कोरोनाको महामारी न्यून भएको अवस्थामा विद्यार्थीहरु ती उपकरणलाई चटक्कै छोड्न सक्ने भए । अनलाइन कक्षाका नाममा विद्यार्थीहरुमा यस्तो लत बस्यो कि मोबाइल ,ल्यापटप बिना मानौं कि उनिहरु बाँच्नै नसक्ने भए । उनिहरुमा यति खराब लत बसेको छ कि न अभिभावकले भनेको स्वीकार्छन् न त आफ्ना गुरुहरुले । ती उपकरणको अन्धाधुन्ध प्रयोगले उनिहरुको आँखाको ज्योती गुम्ने डर एकातिर छ भने अनलाईनकै क्रममा लुकेर खेलिने पब्जी, फ्रिफायर र अन्य लुकिछिपी गतिविधिले उनिहरु बिक्षिप्त बनेका छन् । हाल ती उपकरण सबै उमेर समुहका विद्यार्थीहरुका मनोरञ्जनका सर्वाधिक लोकप्रिय र जिवनका लागि नभई नहुने साधन बनेका छन् । मानौं पठनपाठन भन्दा उपकरणको प्रयोग उनिहरुको लागि महत्त्वपूर्ण छ ।


बाबुआमा, गुरु तथा मान्यजनले दिएका सुझाव उनिहरु टेर्नेवाला छैनन् । यस्तो कुलतले उनिहरुलाई पाठ्यपुस्तक तथा ईन्टरनेटबाट शैक्षिक ज्ञान लिने भन्दा फेसबुक, मेसेन्जर, भाइबर, इमो, इस्टाग्राम, वाट्सएप आदि सञ्चार एपबाट कम उमेरमै यौनिक साथी बनाएर यौन क्रियामा सहभागी हुने जोखिम बढाएको छ ।


यदि समयमै यसको निराकरण गर्न सकिएन भने अबको २० बर्षमा हाम्रा नानी बाबुहरुको आँखा बन्द हुने त छदै छ यसले सामाजिक , मानसिक, शैक्षिक, आर्थिक तथा नैतिक समस्या सिर्जना गर्ने निश्चित छ ।


आदरणीय गुरुबर्गहरुले आफ्ना विद्यार्थीहरुको घरघर गएर मोबाइल वा ल्यापटपको प्रयोग अब आवश्यक हो वा होइन सुझाव दिने, होइन भने अभिभावकहरुकै अगाडि ती साधनहरुको प्रयोगमा बन्देज लगाउनै पर्छ । विभिन्न सामाजिक संस्थाहरुले यसको विरुद्ध सामाजिक परामर्श अभियान नै सञ्चालन गर्नु पर्छ । प्रहरी प्रशासनले पनि यसलाई सामाजिक परामर्शकै रुपमा अभियान चलाउनु पर्छ । अन्यथा यसले एउटा महारोगको रुप ग्रहण गरेर स्वास्थ्य,समाज र संस्कृति एवं शैक्षिक क्षेत्रमा कहाली लाग्दो समस्या निम्त्याउने निश्चित छ ।

लेखक कुसुम न्यौपाने जनता मा वि मंगलचौर अरुणखोला,नवलपरासी (पुर्व)का शिक्षक हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *