उच्च शिक्षा नेपालमै राम्रो


काठमाडौं /१४ चैत-नेपालमा उच्च शिक्षाका लागि विदेश जाने लर्को चलिरहेको छ । यस अवस्थामा नेपालमै उच्च शिक्षा हासिल गर्न सकिन्छ भन्ने विषयमा कलेजका प्रिन्सिपल सँग खबर एजुकेशनले गरेको संवाद :-

विदेशमा भन्दा पनि नेपालमा माटो सुहाँउदा पढाई हुन्छ
प्रदीप कुमार पौडयाल

प्रिन्सिपल,एक्मी इन्जिनियरिङ कलेज

विदेशमा भन्दा पनि नेपालमा माटो सुहाँउदा पढाई हुन्छ । भोली गएर स्वदेशमै बसेर काम गर्नुपर्ने हुन्छ । भोलीका दिनमा विदेश अध्ययन गरेर, त्यहाँबाट सिकेर नेपाल आउँदा त्यहाँको पढाई यहाँको माटो सुहाउँदो नमिल्न सक्दा विद्यार्थी आफैलाई पनि गाह्रो हुन सक्छ । यसरी बाहिरको माहोल यहाँ र यहाँको माहोल बाहिर नमिल्न जाँदा आफूले घाटा व्यहोर्नुपर्ने हुन्छ । स्वदेशको लागि सुहाउँदो शिक्षा स्वदेशमै हुने कारण कामका लागि बाहेक विद्यार्थीले अध्ययनका लागि विदेश धाईरहनपर्छ जस्तो लाग्दैन ।

नेपालमै अहिले पर्याप्त कलेज भएका कारणले पहिले जस्तोे पढ्न नपाउने भन्ने अवस्था पनि छैन । कतिपय समय सुहाउँदो नै पाठ्यक्रमलाई कलेजले समावेश गरेर समयसापेक्ष विषयवस्तु समावेश गरेका कारण अहिलेको अवस्थामा विदेश नै जानुपर्छ भन्ने पनि छैन, नेपालमा पनि अहिले कलेजमा पढाउने शिक्षा प्रतिस्पर्धीमूलक नै छ ।

कतिपय विद्यार्थी नेपालको राज्यव्यवस्था, राजनीतिका कारण र विश्वविद्यालयले पढाउने शैलीका कारणले गर्दा पनि वैदेशिक अध्ययनमा गएको देखिन्छ । विश्वविद्यालयहरुमा पढाउने शैलीमा अलीकति कमिकमजोरी हुनुमा राजनीतिक कारण नै प्रमुख देखिन्छ । नेपालमा विभिन्न समय आन्दोलन, बन्द, हड्ताल जुन हुन्छ र त्यसले समयमै पढाई सकिंदैन कि, पढाईलाई निरन्तरता दिन सकिन्न कि भन्ने डरका कारणले गर्दा पनि विद्यार्थीहरुमा विश्वास घटेको देखिन्छ । यसका साथै कोही साथी विदेश पढ्न गईरहेको छ मैले पनि विदेश पढ्न जानुपर्छ भन्ने संस्कृति नै विकास भएको पाईएको देखिन्छ । तर, अहिलेको अवस्थामा साँच्चै भन्नु पर्दा शिक्षा कै लागि भनेर विदेश जानुपर्ने स्थिति छैन ।

विद्यार्थीहरुमा न्यून जानकारी भएका कारणले पनि विदेश गईरहेका छन
सन्दीप श्रेष्ठ

प्रिन्सिपल,समृद्धि कलेज

अहिले नेपालमैं रहेका विभिन्न कलेजले विभिन्न प्रविधि र सीपमूलकका विभिन्न कार्यक्रमका विषयहरुलाई समेटेर कक्षा सञ्चालन गरिरहेको अवस्था छ । तसर्थ, विद्यार्थीहरु पनि मिहिनेत गरी पढ्छन् भने नेपालमै पनि थुप्रै अवसर छन् । नेपालमा नै कतिपय विद्यार्थीले कलेज पढेको केही समय पछि नै राम्रो पारिश्रमिकमा सोही अनुसारको राम्रोसँग काम सुरु गरिरहेको पनि पाईन्छ ।

स्वदेशमा नै राम्रो शिक्षा भएको अवस्थामा पनि अभिकांश विद्यार्थी विदेशमा जानु थप जानकारी नभएकाले पनि हुन सक्छ । उच्च शिक्षा पछि विभिन्न अवसरहरु नेपालमा नै छन् र त्यस सम्बन्धि विद्यार्थीहरुमा न्यून जानकारी भएका कारणले पनि विदेश गईरहेका छन् भन्ने लाग्छ ।

जस्तै नेपालमा नै विभिन्न कम्पनी तथा संस्थाहरुले कामका लागि मान्छे मागिरहेको छ तर मान्छे नै पाउँदैन । यो सब सूचना, सञ्चार जानकारी राम्रोसँग नभएको कारणले गर्दा खेरी नै हो । कलेजले पनि सो विभिन्न सूचना सम्बन्धि समय मै जानकारी दिन समय समयमा प्रेस मिट गरेर नेपालमा विद्यार्थीलाई यो यो क्षेत्रमा अवसर छन् है भन्ने कुराको जानकारी दिन सक्नुपर्छ ।

कम्तिमा नेपाली विद्यार्थीले नेपालमै स्नातक तह पूरा गरेर विदेश जानु राम्रो हुन्छ
तोयानारायण पौडेल

प्रिन्सिपल,हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज

नेपालको उच्च शिक्षामा अहिले विश्वका धेरै विश्वविद्यालयमा हुने लगभग जतिपनि कोर्ष छ, त्यसको ९० प्रतिशत कोर्षहरु मिल्छ । र, १० प्रतिशतमा चाहिँ तिनीहरुको आर्थिक सामाजिक सोसाइटी, संस्कृति अर्थतन्त्र र वातावरण सम्बन्धि हुने हुनाले कोर्ष फरक हुन्छ । स्नातक र मास्टर लेबलको कोर्षहरुमा खासै केही भिन्नता छैन । नेपालमा कक्षा १२ पढेर विदेशमा गईसकेपछि आफ्नो व्यक्तिगत रुपमा काम गर्न पनि पाउने र उच्च शिक्षा पनि सहज रुपले गर्न सकिन्छ भन्ने बुझाईका कारणले विद्यार्थी विदेशीएको देखिन्छ ।

नेपालमा भएका सम्पूर्ण विश्वविद्यालयका समपूर्ण कोर्षहरुलाई विश्वका जुनसुकै विश्वविद्यालयले मान्यता दिने हँुदा नेपालमै उत्पादन भएको विद्यार्थी विश्वमै बिकिरहेको अवस्था पनि छ ।

तर, म के भन्छु भने कम्तिमा नेपाली विद्यार्थीले नेपालमै स्नातक तह पूरा गरेर विदेश जानु राम्रो हुनेछ । नेपालीले विदेशमा गएर नेपाली रकमले खर्च गर्न सक्तैन, त्यसकारण उनीहरुले सकेसम्म स्नातक तह नेपालमै पढेर विदेशमा मास्टर अध्ययनमा अतिरिक्त तथा पार्टटाईम काम गर्दै पढ्न सकिन्छ । साथै उनीहरु नेपालमै पनि दक्ष र विदेशमा पनि दक्ष स्थापित गर्न सकियो । र आर्थिक रुपमा पनि समस्या भएन । केही समय अगाडी अधिकांश विद्यार्थी जुन १२ कक्षा सकिने वित्तिकै विदेश गएका थिए । तिनीहरु आर्थिक समस्याको कारणले ब्याचलर लेबलतिर पढ्न सकिरहेको अवस्था छैन । यस कारण कतिपयले बीचमै पढाई छोड्नुपर्ने अवस्था पनि सिर्जना भएको पाईन्छ ।

तसर्थ, नेपालमा कम्तिमा ब्याचलर लेबलसम्मको पढाई गरौं र मास्टर, पीएचडी विदेशमै गर्न जाने हो भने पनि स्कलरसीप स्कीममा राम्रा तथा मान्यता प्राप्त विश्वविद्यालय छनौट गरेर मात्र जानुपर्छ । जसबाट हाम्रा विद्यार्थी ग्रेजुएड भएर निस्किेपछि बजारमा सहज रुपले दक्ष रुपमा बिक्न सक्ने बन्न सकियोस् ।

नेपालमै पनि सरकारी पहलमा विभिन्न विश्वविद्यालय तथा कलेजले उच्च शिक्षाका लागि आर्थिक कमजोर भएका विद्यार्थीका लागि भनेर उसको आयस्रोत अनुसारको पढाईको व्यवस्था गरिदिएको छ, पहल नभएको होईन तर पनि कतिपय सरकारी विश्वविद्यालयका सरकारी कलेजहरुमा विद्यार्थी नै नभएको र भए पनि न्यून अवस्थामा रहेको छ । त्यसको लागि केही मापदण्ड नपुगेको होकि भनेर सरकारले पनि ध्यान पु¥याउनुपर्छ । हाम्रो देश विकास गर्न मुख्य आवश्यकताको जनशक्ति के हो, त्यसको कसरी उत्पादन गर्ने भन्ने कुरामा सरकारले बेलैमा ध्यान दिनुपर्छ ।

देशलाई कत्तिको जनशक्तिको आवश्यकता छ, त्यो अनुरुप कस्तो प्रोग्राम ल्याउने भन्ने योजना सरकारले पहिल्यै निकाल्न सक्नुप¥यो । शिक्षामा लाग्ने व्यक्तिले स्पष्ट रुपले अबको २० वर्ष पछि नेपाललाई आवश्यकता पर्ने जनशक्ति यो छ र त्यो किसिमको जनशक्ति हामीले अहिलेदेखी सुरु गरी आमूल रुपले शिक्षामा परिवर्तन ल्याउन सक्यौं भने मात्र आगामी दिनमा विद्यार्थीहरुलाई विदेश जानबाट रोक्न सक्छौं ।

देशको अवस्था देखेर पनि विद्यार्थी विदेश जाने क्रम बढ्दो छ
डा.श्याम सुन्दर चौधरी

प्रिन्सिपल,सिल्करोड इन्टरनेशनल कलेज

मुलुकको अवस्था राम्रो नभएको कारणले विद्यार्थी लगायत अभिभावकहरु नेपालमा बसेर उच्च शिक्षा अध्ययन गर्न सकिन्न, यहाँ पढेर काम छैन बरु विदेश पठायो भने ढुक्क छ, काम पनि पाउँछ र भविष्य बन्छ भन्ने खालको राज्यप्रतिको असुरक्षित र अविश्वासका कारण पनि अहिले विद्यार्थी विदेशिएको देखिन्छ ।

हुन पनि यदि सरकारले विद्यार्थीको भविष्य निश्चित वा सुरक्षित हुने खालको विश्वासको वातावरण दिन सक्ने हो भने पढाई कै लागि भनेर विद्यार्थी विदेश नै किन जान्थे र ?

देशको अवस्था देखेर पनि विद्यार्थी विदेश जाने क्रम बढ्दो छ । देशको विश्वविद्यालयका धेरै जसो प्राध्यापक तथा शिक्षक अधिकांश नेताहरुले समेत आफ्ना छोराछोरी उच्च शिक्षाका लागि भनेर विदेश पठाईरहेका छन् । त्यो क्रमलाई रोक्न पनि उनीहरुले नेपालमैं आफ्ना छोराछोरीलाई पढाउन सक्नुपर्छ । अनिमात्र स्वदेशका कलेजले विद्यार्थीलाई विश्वास दिलाउन सक्ने ठाउँ हुन्छ । आफूले चाहिँ उच्च शिक्षा स्वदेशमै राम्रो छ भनिराख्ने तर छोराछोरीलाई चाहिँ विदेश पठाउने भन्ने कुरा गर्नुभएन । आफू्हरुले पनि उदाहरणीय काम गर्न सक्नुप¥यो । सबैले विश्वास गर्ने ठाउँ बनाउने प्रयास गर्नुप¥यो । यसका लागि राज्यलगायत विभिन्न शैक्षिक संघसंस्थादेखि लिएर अभिभावक विद्यार्थीहरुको पनि उत्तीकै भूमिका रहन्छ ।

नेपालका विश्वविद्यालयले विश्वस्तरिय कोर्षहरु प्रदान गर्दै आईरहेका छन्
डा.नरेन्द्र श्रेष्ठ

प्रिन्सिपल,कान्तिपुर इन्टरनेशनल कलेज

हिजोका दिनसम्ममा विद्यार्थी उच्च शिक्षाका लागि भन्दा पनि गुणस्तरिय शिक्षाका लागि विदेश गईरहेका हुन् । तर आजको मितिमा विभिन्न विषय जस्तै व्यवस्थापनलगायत विज्ञान तथा प्रविधि विषयहरुमा नेपालमैं धेरै राम्रा कलेजहरु स्थापित भईसकेका छन् ।

नेपालमा सञ्चालित अधिकांश विश्वविद्यालयले विश्व कै मापदण्ड भित्र रहेर विश्वस्तरिय कोर्षहरु गुणस्तरीय रुपमा नेपालमै प्रदान गर्दै आईरहेका छन् ।

आजको कोभिडको बेलामा यदि नेपाल मैं बसेर आफ्नै देशको शिक्षा विश्वस्तरिय र गुणस्तरीय रुपमा लिन सकिन्छ भने अध्ययनकै लागि भनेर विदेश जानुपर्छ भन्ने जरुरी लाग्दैन ।

नेपाली विद्यार्थीलाई म के भन्न चाहन्छु भने अहिलेको बेलामा नेपालको शिक्षा, नेपालको भुगोल र विदेशमै प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय शिक्षा नेपालका विश्वविद्यालयले दिईराखेका छन् भने कम्तिमा पनि विश्वविद्यालयका कोर्षहरु भिजिट गर्नुहोस्, कोर्षमा पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्चस्तरियको कोर्षहरु सञ्चालन भईरहेका छन् ।

साथै, विद्यार्थीहरुले के कुरामा पनि ध्यान दिनुपर्छ भने नेपालमा सञ्चालित विभिन्न कलेज कत्तिको मान्यता प्राप्त र गुणस्तरिय छन् र ती कलेज कुन विश्वविद्यालय अन्तर्गतमा कोर्ष सञ्चालन गरिरेहका छन् भन्ने कुरामा तुलना गरी कलेजको वातावरण बुझेर आफ्ना लागि उपयुक्त कलेजको छनोट गर्न सक्नुपर्छ । अनि त्यसपछि मात्र उच्च शिक्षाका लागि विदेश जाने कि स्वदेशमैं बसेर स्तरीय शिक्षा हासिल गर्ने भन्ने कुरामा निर्णय गर्नुपर्छ ।