भारतीय विश्वविद्यालयले बेच्यो ३६ हजार नक्कली डिग्री

काठमाण्डौं/१९ माघ– भारतको एक विश्वविद्यालयले ३६ हजार नक्कली डिग्री बेचेको प्रहरीले खुलासा गरेको छ ।
हिमाञ्चल प्रदेशस्थित सालोनमा रहेको मानव भारती विश्वविद्यालयले ११ वर्षमा दिएका ४१ हजार डिग्रीमध्ये ५ हजार मात्र सक्कली रहेको प्रहरीको अनुसन्धानमा देखिएको छ ।
मानव भारतीय च्यारिटिबल ट्रस्टले चलाएको उक्त विश्वविद्यालयका ५५ वटा हार्ड डिक्समध्ये प्रहरीले अहिलेसम्म १४ वटा अनुसन्धान गरेको छ । बाँकी हार्ड डिस्कको पनि अनुसन्धान गरे अझै धेरै नक्कली डिग्री फेला पर्ने अनुमान गरिएको छ ।
सो विश्वविद्यालयका सञ्चालक राजकुमार रानाको पासपोर्ट फिर्ता गरिएको छ भने अष्ट्रेलियामा बस्दै आईरहेका उनकी पत्नी र छोराछोरीलाई पनि भारत झिकाउने प्रक्रिया सुरू गरिएको छ । राजकुमार राना ट्रस्टका अध्यक्ष पनि हुन् । राना परिवारले सन् २००९ मा हिमाञ्चल र २०१३ मा हरियाणामा विश्वविद्यालय खोलेको थियो । उनले नक्कली डिग्री बेचेर मात्रै १ सय ९४ करोड भारू कमाएको प्रहरीले अनुमान गरिएको छ । प्रहरीका अनुसार यो भारतीय इतिहासमा शिक्षा क्षेत्रबाट भएको सबैभन्दा ठूलो मुद्रा निर्मलीकरण भएको जनाएको छ ।
स्रोतका अनुसार उक्त विश्वविद्यालयविरूद्ध नक्कली डिग्री दिएका अरू उजुरी पनि प्रहरीमा दर्ता भएका छन् ।