विद्यालय बन्द गरेर गरिने आन्दोलनप्रति नेपाल राष्ट्रिय अभिभावक संघको असहमति

काठमाडौँ /२९ साउन – आगामी दिनहरूमा पनि विद्यालय बन्द गरी गरिने आन्दोलनप्रति गम्भीर असहमति रहेको नेपाल राष्ट्रिय अभिभावक संघले जनाएको छ । बालबालिका विद्यालयमा गई नियमित रूपमा पढ्न लेख्न पाउने अधिकारलाई कुनैपनि सरोकारवाला पक्षले नजरअन्दाज गर्न नहुँने भन्दै असहमति जनाएको हो ।


संघले विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गरी गरिने कुनैपनि शैक्षिक हडताल /आन्दोलनबाट निर्बाध रूपमा पढ्न पाउने मौलिक अधिकार कुण्ठित भई त्यसबाट पर्ने नकारात्मक मनोवैज्ञानिक असरप्रति ध्यानाकृष्ट भएको जनाएको छ ।


“आगामी दिनहरूमा पनि विद्यालय बन्द गरी गरिने आन्दोलनप्रति गम्भीर असहमति रहँनेछ । अवका भावी दिनहरूमा पनि उपर्युक्त सम्भावित परिस्थिति सृजना हुन नदिन देश भरका सबै अभिभावक लगायत सरोकारवालाहरू सचेत भई आफ्नो शैक्षिक अधिकारप्रति सजग वनिदिनु हुन हार्दिक अपिल गर्दछौँ ” विज्ञप्तिमा भनिएको छ ।


समितिले पारित गरेको विधेयकमा सरकारसँग भएका सहमति अनुसार शिक्षकका माग नसमेटिएको भन्दै नेपाल शिक्षक महासङ्घले असन्तुष्टि जनाउँदै आएको छ । साथै १५ प्रतिशत पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्था ल्याउन लागिएको भन्दै निजी विद्यालयहरूले असहमति जनाउँदै आएका छन् । यसैगरी नेपाल शिक्षक महासङ्घ र निजी विद्यालयहरूले विद्यालय बन्दसम्म गर्न सकिने चेतावनी दिँदै आएका छन् ।