विद्यालय शिक्षा विधेयकको प्रतिवेदन लेखन भोलिसम्म सकिन्छ : सभापति

काठमाडौं/२८ साउन – विद्यालय शिक्षा विधेयकको प्रतिवेदन लेखन भोलिसम्म सकिने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले बताएका छन् । एमाले सांसद छविलाल विश्वकर्मा संयोजक रहेको संसदीय उपसमितिले तयार पारेको प्रतिवेदन संशोधन सहित पारित गरेर समितिको सचिवालयलाई प्रतिवेदन लेखनको जिम्मा दिइएको थियो ।


थापाले समितिको छलफलबाट जे पारित गरेर प्रतिवेदन लेख्न लगाइयो त्यहीनै आउने र अब कुनै पनि विषय हेरफेर नहुने बताए । सामुदायिक विद्यालयका शिक्षक र संस्थागत विद्यालयले अहिले पनि असन्तुष्टि जनाएको उल्लेख गर्दै उहाँहरूले भनेको विषय समावेश भएपनि के कुरमा असन्तुष्टि रहेको हो बुझन नसकिएको थापाको भनाई छ ।


उनले भने “सामुदायिक विद्यालयका शिक्षक र संस्थागत विद्यालयहरूले के कुरामा असन्तुष्टि जनाएका छन्, बुझ्न सकिएको छैन । उहाँहरूले नै भनेका विषय समावेश गरेका छौं । अब असन्तुष्टि हुनु पर्ने कुरा देख्दिन । तर, अब सबै माग समावेश गर्न थाल्ने हो भने यसरी विद्यालय शिक्षा ऐन आउँदैन ।”


यसैगरी भोलिसम्म प्रतिवेदन लेखनको काम सकिने र पर्सिबाट ३ दिन समितिका सदस्यलाई अध्ययनका लागि उपलब्ध गराएर संसदमा प्रतिवेदन पेस गरिने सभापति थापाले बताए ।


समितिले पारित गरेको विधेयकमा सरकारसँग भएका सहमति अनुसार शिक्षकका माग नसमेटिएको भन्दै नेपाल शिक्षक महासङ्घले असन्तुष्टि जनाउँदै आएको छ । साथै १५ प्रतिशत पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्था ल्याउन लागिएको भन्दै निजी विद्यालयहरूले असहमति जनाउँदै आएका छन् ।