काठमाडौं/१९ असार – विद्यालय शिक्षा विधेयकलाई असार १६ गतेसम्म सबै विषय टुङ्ग्याएर संसदमा पेस गर्ने शिक्षा स्वास्थ्य तथा प्रविधि समितिले तयारी गरेपनि अन्तिम समयमा आएर रोकिएको छ ।
शिक्षा समितिले अस्थायी प्रकृतिका शिक्षकहरूको हकमा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट स्थायी गरिने सहमति गरेर विषयलाई टुङ्ग्याएपछि शिक्षकहरूको विरोधका कारण यसलाई रोक्नुपर्ने अवस्था सिर्जना भएको सरकारको भनाई छ ।
तर, शिक्षा स्वास्थ्य तथा प्रविधि समितिका सभापति अम्बर बहादुर थापाले अरू कसैबाट यसलाई नरोकिएको बताउँदै नेपाली काँग्रेसका कारणले मात्रै केही दिनलाई छलफल रोकिएको बताए । तर पार्टीका दलहरूले दबाब दिएपनि टुङ्गिएका विषयमा उल्ट्यएर छलफल नहुने र त्यसैलाई अगाडी बढाएर समितिबाट सहमति गरेर संसदमा पेस गरिने उनको अडान भने कायमै छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले पनि अस्थायी प्रकृतिका शिक्षकहरूको हकमा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट स्थायी गरिने विषयमा समितिको छलफलमा आफूले सहमति गरेको स्वीकार गर्दै मन्त्री र सरकारको कारणले विधेयक नरोकिएको बताउँदै आएका छन् । पन्तले आफूले गरेको सहमतिमा अहिले पनि उही नै निर्णय रहेको बताए ।
यता नेपाल शिक्षक महासङ्घले भने विगतमा भएका सहमति अनुसार विद्यालय शिक्षा ऐन ल्याउनु पर्ने माग राख्दै आएको छ । सहमति अनुसार ऐन नआए फेरी आन्दोलनमा जाने महासङ्घको चेतावनी कायमै छ ।
यसै सन्दर्भमा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले कहिले ७०/२५, कहिले ५०/५० अहिले ६०/४० मा आएर लफडामा सरकार फसेको बताउँदै यसमा सरकार फस्न नहुने बताए । परीक्षा दिन चाहाने सबैका लागि खुला गर्नुपर्नेमा कोइरालाको जोड्छ । सरकार ६० ४० को लफडाको चक्करमा फसे राज्यले गरेको अपराध हुने उनको भनाई छ ।
‘६० /४० को चक्करमा सरकार नबोल्दा राम्रो हुन्छ । यो राज्यले गरेको अपराध हो । परीक्षा दिन चाहाने सबैलाई परीक्षा दिने अवसर दिनुपर्छ । सरकार काखा पाखाको भाषा बोल्नु हुँदैन । क्षमता र उत्कृष्टताका आधारमा शिक्षक छनोट गर्नुपर्छ’ उनले भने ।
कोइरालाले ६०/४० को लफडाबाट निस्कनका लागि ३-३ महिनामा शिक्षक सेवा आयोगको विज्ञापन खोल्ने व्यवस्था गरेर अहिले भएका अस्थायी शिक्षक तथा आयोगमा परीक्षामा दिन चाहाने सबैका लागि परीक्षामा सहभागी गराएर क्षमता र उत्कृष्टताका आधारमा छनोट गर्नु राम्रो हुने बताए ।
आवश्यकताका आधारमा विज्ञापन गर्ने भन्दा पनि तालिका नै बनाएर ३ ३ महिनामा अनिवार्य परीक्षा लिने व्यवस्था गरे सबैलाई परीक्षा कहिले हुन्छ थाहा हुने र तयारी गर्न पनि सजिलो हुने धारणा व्यक्त गरे । आयोगले परीक्षा लिँदा ५० प्रतिशत ल्याउनै पर्ने र त्यो भन्दा माथि जसको अंक धेरै हुन्छ त्यसैका आधारका शिक्षक छनोट गर्दा राम्रो हुने सुझाब कोइरालाको छ ।
यसैगरी अहिले पढाईरहेका अस्थायी शिक्षकहरूको हकमा पनि त्यसलाई लागु गर्न सकिने र उमेर हदका आधारमा भन्दा पनि नथाकुन्जेलसम्म परीक्षा दिने व्यवस्था गर्ने र क्षमताका आधारमा शिक्षक लिनुपर्ने बताए । साथै पढाई रहेका शिक्षकहरूलाई अनुभवका आधारमा कति वर्ष सेवा गर्यो त्यसै अनुसार अंक थप्न सकिने सुझाब छ ।
यसैगरी शिक्षाविद् प्रा. डा.लक्ष्मण ज्ञवालीले शिक्षा विधेयकलाई यसरी रोक्न नहुने बताउँदै छिटो भन्दा छिटो अगाडी बढाउनु पर्ने बताए । नेपाल शिक्षक महासङ्घ ट्रेड युनियन भएकाले सरकारसँग माग्ने अधिकार भएपनि सत प्रतिशत वा आन्तरिक ७५ प्रतिशत र २५ प्रतिशत भन्ने कुरा नमिल्दो रहेको उनको तर्क छ । राहत, करारमा भएका कतिपय अस्थायी शिक्षकहरू पनि क्षमतावान् र उत्कृष्ट रहेको उल्लेख गर्दै तत्कालका लागि ६० ४० निकास निकाल्नु ठिकै हुने ज्ञवालीले धारणा व्यक्त गरे ।
शिक्षाविद् प्रा.डा. विनय कुशियत विद्यालय शिक्षा विधेयकको सवालमा नेताहरूको दायाँ बायाँ स्वार्थ समूह रहेकोले विधेयक सही नआउने तर्क गरेका छन् । ‘शिक्षामा दलीयहरूको स्वार्थ छ । शिक्षालाई कसरी जनतासँग जोड्ने हुनुपर्नेमा शिक्षाबाट स्वार्थ लिनेहरूको लाईनमा विधेयक आयो । शिक्षालाई प्राथमिकतामा राखिएन । संविधान अनुसार निःशुल्क शिक्षा देखाउने दाँत भयो । तर, यसले नेताहरूलाई केही फरक पर्नेवाला छैन’ उनले भने ।
कुशियतले समितिमा शिक्षा विधेयक रोक्न नेपाली काँग्रेसले मात्रै नभएर एमालेको पनि हात रहेको बताए । संयुक्त सरकार भएकोले एउटा मात्रै दलले रोकेको बुझ्न नसकिने र यदी काँग्रेसले मात्रै रोको हो भने एमालेले त्यसलाई बाहिर ल्याउनुपर्ने बताए । साथै नेपाल शिक्षक महासङ्घ कुनै दलको नभएर सबै शिक्षकहरूको भएको बताउँदै विधेयक महासङ्घले रोकेको भन्न नमिल्ने र सरकारले शिक्षकहरूका जायज माग हेरेर पुरा गर्नुपर्ने र नाजायज माग भए गर्न नसकिने प्रस्ट भन्नु पर्नेमा जोड् दिए ।



