झापा/१९ असार – झापाको शिवसताक्षी नगरपालिकामा किशोरहरूबिच झगडाका कारण २ जना किशोरको मृत्यु भएको छ ।
ट्युसन पढेर फर्कँने क्रममा आफ्नै साथीहरूको कुटाइबाट शिवसताक्षी नगरपालिका संगम चोकका १५ वर्षीय आदित्य तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको उपचारका क्रममा बिर्तामोड स्थित बी एन्ड सी अस्पतालमा बुधवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी निमित्त प्रवक्ता इन्स्पेक्टर प्रवीण श्रेष्ठले जानकारी दिए । जिल्ला प्रहरीले दिएको जानकारी अनुसार आइतवार आदित्यकै मिल्ने साथी रोमन थापाको पनि झगडामा परि बिर्तासीटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
दुबैजना एउटै समूहको कुटपिटमा परि मृत्यु भएको जिल्ला प्रहरी झापाले जानकारी दिएको छ । प्रहरीका अनुसार केही दिनअघि ट्युसन पढेर फर्कंदै गरेका आदित्य र रोमनमाथि ध्रुवतारा अङ्ग्रेजी माध्यमिक विद्यालयका केही विद्यार्थीहरूले कुटपिट गरेका थिए ।
किशोरहरूलाई उनिहरूकै साथिहरूको समूहले सुरुमा सामान्य रूपमा कुटपिट गरेको र केही समय पछि उनीहरूलाई फेरि बोलाएर पुनः त्यही समूहले आक्रमण एबम कुटपिट गरेको प्रत्यक्षदर्शी विद्यार्थीहरूले बताएको प्रहरीले जनाएको छ ।
कुटपिटपछि आदित्यले घरमा केही नबताएको तर भोलिपल्ट उनी ट्युसन सेन्टर भने नगएको तर विद्यालयमा उनले अनुहार सुन्निएको र ढाड दुखेको बताएका थिए ।
कुटपिटका कारण स्वास्थ्य झन् बिग्रँदै गएपछि मात्र उनलाई गत शुक्रवार अस्पताल भर्ना गरिएको थियो । घाइते निजलाई ५ दिनसम्म उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नभएकोले अन्ततः उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आदित्य र रोमन एउटै ट्युसन सेन्टरमा हुन्थे । घटना पश्चात् आक्रमणमा संलग्नमध्ये ६ जना किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरू सबैले प्रारम्भिक बयानमा घटनामा संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । घटनामा अन्य व्यक्तिहरू पनि संलग्न हुनसक्ने आशंका गरिएको छ । नियन्त्रणमा लिइएका किशोरहरू विद्यालय पढ्ने उमेरका छन् ।
आक्रमणमा संलग्न भनिएका अधिकांश विद्यार्थीहरू ध्रुवतारा अङ्ग्रेजी माध्यमिक विद्यालयका रहेको खुलेको छ । कुटपिट भएको भोलिपल्ट विद्यालयमा केही साथीहरूले दोषीमाथि प्रतिशोध लिनुपर्ने बताएका थिए । तर, आदित्यले उल्टै ‘छोडिदेऊ, झगडा नगरौँ’ भनेर आफ्ना साथीहरूलाई सम्झाएको उनका सहपाठीहरूले बताएका छन् ।
हाल दुवै मृतकका परिवारले घटनाको निष्पक्ष छानबिनको माग गरेकाछन् । उनीहरूले दोषीमाथि कडा कानुनी कारबाही गर्न पनि आग्रह गरेका छन् । शिवसताक्षीमा बढ्दो किशोर ग्याङ गतिविधि र विद्यालय परिसरबाहिरको असुरक्षित वातावरणले स्थानीय चिन्तित बनेका छन् । घटनामा संलग्नहरू सबै नाबालक हुन् । उनीहरूमाथि बाल अपराध सम्बन्धी ऐनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ ।



