काठमाडौँ/२१ बैशाख – नेपाल शिक्षक महासङ्घ र सरकारबिच भएको ९ बुँदे सहमतिमा विद्यालय कर्मचारीहरूका माग मुद्दा नसमेटिएको भन्दै आन्दोलनमा रहेका विद्यालय कर्मचारीहरूले आज हातमा कालो पट्टी बाधेर विरोध जनाएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले पहिलो चरणको आन्दोलन घोषणा गरेअनुसार आज देशै भरका विद्यालय कर्मचारीहरूले कालो पट्टी बाँधेर काम गरेका हुन् ।
नेपाल विद्यालय कर्मचारी परिषद्ले ९ बुँदे सहमतिमा विद्यालय कर्मचारीहरूको पारिश्रमिक नेपाल सरकारले तोकेअनुसार हुने मात्रे भनिएको तर त्यसलाई प्रस्ट नपारिएको र दुर्गम भत्ता लगायतमा कर्मचारी र शिक्षकविच विभेद गरिएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
नेपाल शिक्षक महासङ्घले घोषणा गरेको काठमाडौँ केन्द्रीत सडक आन्दोलनमा २९ दिन सम्म विद्यालय कर्मचारीहरू सहभागी भएपनि महासङ्घले नै कर्मचारीहरूका माग बारे बेवास्ता गरेको र शिक्षकहरूका मागमा मात्रै केन्द्रीत रहेको परिषद्को आरोप छ । तर आन्दोलनका क्रममा महासङ्घले विद्यालय कर्मचारीको तलब निजामती कर्मचारी सरह (नासु–खरिदार) हुनुपर्ने माग गरे पनि सरकारसँग सहमति गर्दा त्यसलाई संशोधन गरिएको परिषद्को भनाई छ ।
यसैगरी विगतमा सरकारले आफूसँग गरेको सहमतिअनुसार माग सम्बोधन नहुँदासम्म आन्दोलन गर्ने चेतावनीसहित परिषद्ले जेठ ९ र १० गते माइतीघर मण्डलामा बृहत प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरेको छ ।



