विद्यालयको भवन निर्माणमा घुस लिने विरुद्ध मुद्दा

नवलपरासी/२० माघ – अख्तियार अनुसन्धान आयोगले विद्यालयको भवन निर्माण सम्पन्न पश्चात् अन्तिम बिल भुक्तानी गर्नका लागि घुस मागेको आरोपमा प्रधानाध्यापकसहित तीन जना विरुद्ध मुद्दा दायर गरेको छ । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका, वडा नं. ५ स्थित राजनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशम राज कण्डेल, विद्यालय सहायक (लेखापाल) सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र कहार विरुद्ध मुद्दा दायर गरेको हो ।


उनिहरूलाई विद्यालयको भवन निर्माण सम्पन्न पश्चात् अन्तिम बिल भुक्तानी गर्नका लागि घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाटले पैँसठ्ठी हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा रकमसहित नियन्त्रणमा लिइएको थियो ।


पैँसठ्ठी हजार घुस लिएको पुष्टि भएकोले निजहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो पैँसठ्ठी हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिबाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।