काठमाडौँ /२० माघ – राष्ट्रिय किताबखाना (शिक्षक) छाउनी, काठमाडौँमा कार्यरत शाखा अधिकृत सहित ३ जना विरुद्ध आरोपपत्र दायर गरिएको छ । अख्तियार अनुसन्धान आयोगले शाखा अधिकृत धनेश्वर प्रसाईं, कार्यालय सहयोगी भवानी अधिकारी र बिचौलिया सुदर्शन न्यौपानेसहित विरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगले पेन्सन पट्टा बनाई दिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा धनेश्वर प्रसाईंलाई तीन लाख रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । अनुसन्धानको सिलसिलामा शाखा अधिकृत प्रसाईं, कार्यालय सहयोगी भवानी अधिकारी र बिचौलिया सुदर्शन न्यौपानेसमेतको मिलेमतोमा पेन्सन पट्टा बनाई दिनका लागि विभिन्न बहाना बनाई तीन लाख घुस लिएको पुष्टि भएको जनाएको छ ।
शाखा अधिकृत प्रसाईं र कार्यालय सहयोगी अधिकारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो तीन लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिबाना सजाय हुन र बिचौलिया सुदर्शन न्यौपानेलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरमा बिगो तीन लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिबाना सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौँमा आरोप–पत्र दायर गरेको छ ।



