बजेटले शिक्षकलाई निराश बनायो, अब शिक्षा ऐन जारी नगरे आन्दोलन गर्छौ

काठमाडौँ /१६ जेठ – सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि घोषणा गरेको बजेटले शिक्षक र विद्यार्थीलाई निराश बनाएको नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताएका छन् । सरकार र शिक्षक महासङ्घसँग भएका सम्झौता अनुसार बजेट मार्फत सम्बोधन हुनुपर्ने कुरा नभएको भन्दै निराश बनाएको बताएका हुन् ।


समान कामका लागि समान पारिश्रमिक बारे वैधानिक प्रबन्ध भएपनि सरकारले बेवास्ता गरेको उनको भनाई छ । इसिडीका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक कति छ भन्ने कुरा राज्यले थाहा नपाए जस्तो गरेको र त्यसबारेमा सम्बोधन नगरिएको उनले बताए । सुवेदीले यो वर्षको बजेटमा इसिडी शिक्षक र विद्यालयका कर्मचारीका बारेमा केही गर्छ भन्ने लागेको तर नगरेको बताए ।


त्यसैगरी स्थायी शिक्षकहरूको ग्रेड समायोजनको सवालमा निजामती कर्मचारी र शिक्षकका बिचमा ग्रेड विभेद रहेपनि बजेटमा उल्लेख नगरिएको, निजामती ऐन ल्याउने भनेर बजेटमा बोलिएको तर विद्यालय शिक्षा ऐनको बारेमा नबोलिएकाले वर्तमान सरकार विद्यालय शिक्षा ऐन जारी गरेर विद्यालय शिक्षालाई व्यवस्थित गराउने र विकास गराउने तर्फ ध्यान नदिएको विचार व्यक्त गरे ।


विद्यार्थीको सवालमा पनि छात्रवृत्तिमा उचित ध्यान नदिनुका साथै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम नाम मात्रको भएकोले बजेटले विद्यार्थीको सेवा सुविधाका बारेमा र विद्यालयमा भौतिक सुधारका बारेमा पनि खासै उल्लेख नगरिएकोले बजेट अत्यन्तै निराशाजनक रहेको बताए ।


त्यसैगरी नेपाल शिक्षक महासङ्घसँग भएका सहमति अनुसार केही सहमतिहरू बजेटले सम्बोधन गर्नुपर्ने भएता पनि अधिकांश सहमतिहरू विद्यालय शिक्षा ऐनले समावेश गर्ने भएकाले अब विद्यालय शिक्षा ऐन जारी गराउने गरी छिटै महासङ्घको बैठक बसेर आन्दोलन गर्ने बताए ।


उनले भने “सरकारको रबैया यथावत् रह्यो र शिक्षा ऐन जारी गराउँन पहल कदमी भएन भने शिक्षा ऐन जारी गराउने र शिक्षकहरूका माग मुद्दा सम्बोधन गराउने सवालमा हामी फेरी अत्यन्तै ठुलो आन्दोलनको कार्यक्रम लिएर अगाडी आउँछौँ । आन्दोलन गर्ने दिसातिर नेपाल शिक्षक महासङ्घ लाग्छ ।”


साथै अहिलेको शिक्षामा रहेको बजेटले गुणस्तरीय शिक्षाको प्रबन्ध, विद्यालय शिक्षाको विकासको कुरा गफ हुने यथार्थमा परिणत नहुने उनले दाबी गरे । राज्यले शिक्षामा लगानी नबढाएसम्म र शिक्षक कर्मचारीका समस्या समाधान गर्ने गरी शिक्षा ऐन जारी गर्नुपर्नेमा जोड् दिए ।


शिक्षा मन्त्री सुमना श्रेष्ठले आफूले भनेका एजेन्डा आफैले लागु गर्न नसकेको बताउँदै शिक्षा मन्त्री र शिक्षा मन्त्रालय बजेटको सवालमा अत्यन्तै कमजोर देखिएको बताए ।