निजी विद्यालयले तत्काल नाम परिवर्तन गर्न सक्ने अवस्था छैन

काठमाडौँ /१७ बैशाख – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्यब्सन) का महासचिव आरबी कटवालले काठमाडौँ महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्न निजी विद्यालयलाई दिएको निर्देशन अनुसार तत्काल नाम परिवर्तन गर्न सक्ने परिस्थिति नरहेको बताएका छन् । विद्यालयहरूमा प्राविधिक जटिलता रहेको भन्दै तत्काल नाम परिवर्तन गर्न सक्ने अवस्था नरहेको बताएका हुन् ।


उनले प्यब्सन यसको विरुद्धमा उभिसकेका बताउँदै विद्यालयहरूसँग छलफल नै नगरी निर्देशन दिएको बताउँदै छिटै नै न्यायका लागि ढोका ढकढक्याउने बताए । निर्देशन दिएको सातौँ दिनमा ज्ञापनपत्र बुझाएपनि महानगरले छलफलमा नबोलाएको उनको भनाई छ ।


उनले भने “ज्ञापनपत्र बुझाएपछि हामीलाई बोलाएर छलफल गरिन्छ जस्तो मलाई लागेको थियो, तर डाकिएन । त्यसैले अहिले महानगर कार्यसमितिका प्यब्सन, हिसान र एनप्यब्सन बसेर छलफलमा गरिरहेका छन्, अब छिटै नै यसको न्यायको लागि ढोका ढकढक्याउन जान्छौँ ।”


त्यसैगरी विद्यालयले गुणस्तरीय शिक्षा तथा अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन नामले कुनै असर नगर्ने उनको दाबी छ । विद्यालयले देशव्यापी रूपमा र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो नामको गुडविल बनाउन विद्यालयको ठुलो रकम खर्च भएकोले तुरुन्तै नाम परिवर्तन गर्नुपर्ने मुख्य कुरा नभएको कटवालले दाबी छ ।


उनले भने “महानगरपालिका उठाएका कुराहरू केही वर्ष अघिदेखि पनि उठेको हो । त्यही विषयलाई निरन्तरता दिएको जस्तो लाग्छ । तर नाम परिवर्तन गर्नु भनेको अत्यन्तै जटिल छ । यसका केही त्यस्ता प्राविधिक जटिल पाटाहरू छन् त्यसलाई कसरी सजिलो बनाउन सकिन्छ भन्ने विषय वस्तु महानगरपालिका प्रमुख र सरोकारवालाहरू बसेर एक पटक छलफल गर्नुपर्ने थियो । विद्यालयहरूको जतिपनि अङ्ग्रेजी नामहरू छन् ति विद्यालयहरूले तत्काल नै नाम परिवर्तन गर्न सक्ने परिस्थिति छैन ।”


कतिपय विद्यार्थीहरू देश विदेशमा निजामती तथा विभिन्न क्षेत्रमा उच्च स्तरमा पुगिसकेकोले नाम परिवर्तन गर्दा पढाई सकेर गएका विद्यार्थीलाई भोलि अप्ठेरो पर्न सक्ने बताए । बाढी पहिरो, आगलागी विभिन्न प्राकृतिक प्रकोप लगायत विभिन्न तरीकाले सर्टिफिकेटमा नोक्सान भए त्यो बेलामा सर्टिफिकेट निकाल्न आउँदा विद्यालय नदेखिएपछि एउटा अफ्ठेरो हुने उनको भनाई छ । यद्यपि विद्यालयले चारित्रिक सर्टिफिकेट दिए पनि त्यसको आधारमा मार्कसिट पनि हुने र विद्यालय नै नभएपछि त्यसले विद्यार्थीलाई अप्ठेरो पार्न सक्ने बताए ।


साथै कुनै पनि विद्यालयको नामले देशको सार्वभौम, देशको अस्थिरता, सिमनासँग बाझिने कुराहरू लाई प्रतिनिधित्व गरेर स्कुलको नाम राखिएको भए त्यस्ता नाम राख्न नपाईने र सचेत हुनुपर्ने कटवालले बताए । तर सगरमाथालाई एभरेस्ट लेखेकै भरमा, गुलाबलाई रोज लेखेकै भरमा नाम परिवर्तन गर्न आवश्यक नरहेको दाबी गरे ।