सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण, भर्नादरमा वृद्धि (हेर्नुहोस आर्थिक सर्वेक्षण)

काठमाडौं/१५ जेठ-यो वर्ष विद्यालय तहमा विद्यार्थीहरुको भर्ना दरमा वृद्धि भएको छ । विद्यालय भर्ना अभियान, शिक्षामा सरकारी तथा निजी लगानी र स्थानीय सरकारको प्रत्यक्ष निगरानिका कारण भर्नादरमा वृद्धि भएको हो ।


शैक्षिक सत्र २०७९ मा हरेक तहको भर्नादरमा वृद्धि भएको अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षण २०७९ ०८० मा उल्लेख छ । जसमा आधारभूत तह (१–५) मा भर्नादर ९७.१ प्रतिशत, आधारभूत तह (कक्षा १–८) मा ९६.१ प्रतिशत र माध्यमिक तह (कक्षा ९–१२) मा ५७.४ प्रतिशत पुगेको छ ।


शैक्षिक सत्र २०७८ मा यस्तो दर क्रमशः ९६.९ प्रतिशत, ९५.१ प्रतिशत र ५४.३ प्रतिशत रहेको थियो । अनिवार्य तथा निशुल्क शिक्षा ऐन २०७५ तथा नीयमावली,२०७७ को कार्यन्वयन, विद्यालय भर्ना अभियान, शिक्षामा बढ्दो सरकारी तथा निजी लगानी र स्थानीय सरकारको प्रत्यक्ष निगरानीका कारण भर्ना दर वृद्धि हुँदै गएको सर्वेक्षणमा भनिएको छ ।


शैक्षिक सत्र २०७९ मा कक्षा १ मा प्रवेश दर ९५.९ प्रतिशत रहेको छ र गत शैक्षिक सत्रमा यस्तो दर ९६.३ प्रतिशत रहेको थियो । प्रारम्भिक बालविकास कक्षामा बढी वर्ष बिताउने प्रवृत्तिले प्रवेश दरमा कमी आएको हो ।


त्यसैगरी पछिल्लो वर्षहरुमा टिकाउ दर क्रमशः बढ्दै गएको छ । शैक्षिक सत्र २०७९ मा कक्षा ८ सम्म टिकाउ दर ८५.७ प्रतिशत, कक्षा १० सम्मको टिकाउ दर ६७.३ प्रतिशत र कक्षा १२ सम्मको टिकाउ दर ३५.६ प्रतिशत पुगेको छ ।


महिला शिक्षकहरुको अनुपात बढ्दै


पछिल्ला वर्षहरुमा महिला शिक्षकहरुको अनुपात बढ्दै गएको छ । यद्यपि, माध्यमिक तहमा यस्तो अनुपात तुलानात्मक रुपमा न्यून रहेको छ । आधारभूत तहमा कुल शिक्षकमध्ये महिला शिक्षकको अनुपात शैक्षिक सत्र २०७८ मा ४६.५ प्रतिशत रहेकोमा शैक्षिक सत्र २०७९ मा ४७.२ प्रतिशत पुगेको छ ।


माध्यमिक तहमा भने यस्तो अनुपात शैक्षिक सत्र २०७८ मा २०.४ प्रतिशत रहेकोमा शैक्षिक सत्र २०७९ मा घटेर १७.४ प्रतिशत रहेको छ । पछिल्ला वर्षहरुमा माध्यमिक तहका लागि भएको शिक्षक सेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षाबाट सिफारिस हुने महिला शिक्षकको संख्या तुलनात्मकरुपमा न्यून रहेको कारण माध्यमिक तहमा महिला शिक्षकको अनुपात घट्न गएको हो ।


प्रारम्भिक बालविकास तथा शिक्षा


शैक्षिक सत्र २०७९ मा ३३ हजार ७ सय ६२ सामुदायिक(परम्परागत विद्यालयमा सञ्चालित ५३८) र ६ हजार ८९४ संस्थागत गरी ४० हजार ६ सय ५६ वटा प्रारम्भिक बाल कक्षा तथा पूर्व प्राथमिक कक्षाहरु सञ्चालनमा रहेका छन् । शैक्षिक सत्र २०७८ मा यस्तो संख्या ३६ हजार ५ सय ३१ रहेको थियो । स्थानीय तहबाट थप प्रारम्भिक बाल कक्षाको अनुमति प्रदान गरिएको र गत वर्षको तुलनामा यस वर्ष संस्थागत विद्यालयहरुको रिपोर्टिङमा वृद्धि भएका कारण प्रारम्भिक बालविकास तथा पूर्व प्राथमिक कक्षाको संख्या बढेको छ ।


बालविकास केन्द्रको अनुभवलाई लिइ कक्षा १ मा भर्ना हुने विद्यार्थीको अनुपात बर्षेनि वृद्धि हुँदै गएको छ शैीक्षक सत्र २०७४ मा यस्तो अनुपात ६६.३ प्रतिशत रहेकोमा शैक्षिक सत्र २०७९ मा बढेर ७६.७ प्रतिशत पुगेको छ ।


सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण


विद्यालयको व्यवस्थापन, नेतृत्व, लगानी र गुणस्तर वृद्धिका लागि गरिएको विभिन्न प्रयासका कारण सामुदायिक विद्यालयमा पनि विद्यार्थीको आकर्षण बढ्दै गएको छ । कतिपय सामुदायिक विद्यालयको भौतिक पूर्वाधार अभावको कारण विद्यालयले धान्न सक्ने विद्यार्थी मात्र भर्नाका लागि प्रवेश परीक्षा मार्फत विद्यार्थी छनौट गरेका छन् ।

तथ्याङक अनुसार सबै भन्दा धेरै विद्यार्थी रुपन्दैहीको कालिका मानवविज्ञान माविमा रहेका छन् । उक्त विद्यालयमा विद्यार्थीको संख्या ७ हजार ६ सय ११ रहेका छन् । त्यसैगरी रुपन्देही कै अर्को विद्यालय कान्ति माविमा ५ हजार २ सय ४९ र रुपन्देही कै शान्ति नमुना माविमा ५ हजार १ सय ५५ रहेका छन् ।

हेर्नुहोस आर्थिक सर्वेक्षण :

https://www.mof.gov.np/site/publication-detail/3248