काठमाडौं/१५ जेठ-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युग सुहाउँदो जनशक्ति निर्माण गर्न पाठ्यक्रम निर्माण गर्नुपर्ने बताउनु भएको छ । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले उच्चशिक्षाका पाठक्रमहरु निर्माण गर्नेतर्फ प्राध्यापकहरूले ध्यान दिनुपर्ने बताउनु भएको हो ।
प्रधानमन्त्री प्रचण्डले भन्नु भयो देशभित्रै उद्यमशील वातावरणको निर्माण गरी रोजगारी सिर्जना, स्वरोजगारी र समृद्धि हासिल गर्ने उच्चशिक्षाका पाठक्रमहरु निर्माण गर्नेतर्फ प्राध्यापकहरूले ध्यान दिनुपर्ने पर्छ । विश्वविद्यालयहरू पाठ्यक्रमहरू र पठनपाठनहरू सूचना प्रविधिमा आधारित हुँदा मात्रै युग सुहाउँदो जनशक्ति निर्माण गर्न सकिन्छ ।
त्यसैगरी विश्वविद्यालयलाई आविष्कार र अनुसन्धानको केन्द्रको रूपमा विकास गर्न जरुरी रहेको र प्राध्यापकहरु अनुसन्धानमा केन्द्रित हुनु पर्ने बताउनु भयो ।
साथै, प्रधानमन्त्री प्रचण्डले सरकार भर्खरै पारित गरेको नीति तथा कार्यक्रम अनुसारको बजेट निर्माणमा लागेको जानकारी दिनुभयो । उच्चस्तरीय शिक्षा आयोग गठन गरेर शिक्षा क्षेत्रका तमाम समस्यालाई समाधान गर्नुपर्ने उहाँले बताउनुभयो ।



