काठमाडौं/१४ जेठ-नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)ले प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी’यस वर्ष गणतन्त्र दिवसको सन्दर्भ पारेर जेठ १५ गतेदेखि ३० गतेसम्म आयोजना गर्ने भएको छ । ‘म, मेरो देश र मेरो सिर्जना’ नाराका साथ ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ आयोजना गर्ने भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले नाफा परिसरमा उद्घाटन गर्ने सो प्रदर्शनीमा नेपालका परम्परागत चित्रकला/मूर्तिकला, समसामयिक चित्रकला/मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कलाअन्तर्गतका फोटोग्राफी कला, प्रतिस्थापन कला, व्यङ्ग्यचित्र, भावभङ्गी कला, क्यारिकेचर र डिजिटल विधाका ६ सयभन्दा बढी कलाकारका करिब सात सय कलाकृति रहने छन् ।
प्रदर्शनी यही जेठ १५ गतेदेखि १५ दिनसम्म नाफा परिसर, बालमन्दिर, नक्साल र नेपाल कला परिषद् (नेपाल आर्ट काउन्सिल) बबरमहलमा हुँदैछ । यस प्रदर्शनीलाई झण्डै ५० हजारभन्दा बढी कलाअनुरागीहरुले अवलोकन गर्ने अपेक्षा गरिएको नाफाका सदस्य सचिव देवेन्द्र थुम्केलीले बताए ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा मूर्तिकला,चित्रकला,हस्तकला तथा वस्तुकला र अन्य सिर्जनात्मक कला विधाका कलाकृतिहरु रहनेछन् भने नेपाल आर्ट काउन्सिलमा परम्परागत कला र लोककला विधाका कलाकृतिहरु रहनेछन् ।



