कोहलपुर/१४ जेठ-लेखक सागर गैरेको निबन्ध कृति “लकडाउन“ माथि कोहलपुरको जन ज्ञानज्यति मा.वि. कौशिलानगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
“लेखक – विद्यार्थीबीच अन्तरक्रिया“ कार्यक्रमले विद्यार्थीहरूमा पठन संस्कृति र लेखन सीपको विकास गर्ने उद्देश्य सहित कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ । समाजप्रति उत्तरदायी बनाउन र स्थानीय परिवेशसँग परिचित गराउन विद्यार्थीहरूलाई पाठ्यक्रमले निर्दिष्ट गरेका विषयवस्तु बाहेक अन्य समसामयिक विषयवस्तुहरूमा ज्ञान दिन यस्ता कार्यक्रमहरूको आवश्यकता रहेने विद्यालयको भनाई छ ।
कार्यक्रममा सागर गैरेको व्याक्तित्व र कृतित्व माथि प्रकाश पार्दै लेखक सेखर दहितले लकडाउनको समयमा लेखिएको लकडाउन महत्त्वपूर्ण कृति रहेको र यो कृतिमा माटोको सुगन्ध रहेको बताए । सुक्ष्म विषयवस्तुमा गहन विचार दिन सक्ने लेखकका रूपमा सागर गैरेलाई लकडाउनले परिचय दिएको बताउँदै समाज बुझ्न साहित्यिक कृति पढ्नु पर्ने विचार राखे ।
समाजसेवी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमलाल बास्तोलाले लेखक र विद्यार्थी बीच अन्यरक्रिया राख्नुको कारण विद्यार्थीहरूलाई स्थानीय लेखक तथा साहित्यकारहरूसँग परिचित गराउँदै उत्प्रेरित गराउनु रहेको बताउँदै विद्यार्थीहरूमा फरक खालको सोचाइको विकास होस् भन्ने रहेको बताए ।
विद्यालय प्रशासनका वरिष्ठ सदस्य तथा निमित्त प्रधानाध्यापक एकदेव पन्थीले लेखक साहित्यकारहरूलाई धन्यवाद दिदै विद्यार्थीहरू चौतर्फी विकास गर्न यस्तै खालका कार्यक्रमहरू गर्दै जाने बताए ।
लेखक तथा साहित्यकारहरू पुष्कर रिजाल, नवीन अभिलासी, बिक्रम शिशिर, प्रकाश मरासिनी, प्रतीक गैरे, उषा सुवेदी लगायतको उपस्थिति रहेको कार्यक्रममा दुई दर्जन बढी विद्यार्थीहरू लेखक सागर गैरेसङ्ग विभिन्न जिज्ञासाहरू राखेका थिए । कार्यक्रममा नेपाली विषय अध्यापन गराउनु हुने शिक्षक गायत्री हमालको स्वागत मन्तव्य रहेको थियो ।



