बालेन शाहको चुनावी घोषणापत्र अनुसार सबै सामुदायिक विद्यालयमा ‘बुक फ्री फ्राइडे’

काठमाडौं/१४ जेठ-काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफ्नो चुनावी घोषणापत्र अनुसार महानगर भित्रका सबै सामुदायिक विद्यालयमा ‘बुक फ्री फ्राइडे’ कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिएका छन् ।


उनले चुनावी घोषणापत्रमा हप्तामा एक दिन सामुदायिक विद्यालयमा सीप, उद्यमशीलता, खेलकुद, सङ्गीत, कला तथा नेतृत्व विकासका लागि प्रशिक्षण कार्यक्रमको व्यवस्था गरिने उल्लेख गरिएको र सोही घोषणापत्र अनुरूप विद्यालयमा ‘बुक फ्री फ्राइडे’ कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिएका हुन् ।


‘बुक फ्री फ्राइडे’ अन्तर्गत ५६ सामुदायिक विद्यालयमा ‘शिक्षामा सिप’ कार्यक्रमको अनुगमन सुरु गरिएको प्रमुख शाहले बताए । आज तेस्रो हप्तामा वडा नम्बर ५ स्थित टंगाल मावि र वडा २५ स्थित कन्या माविमा अनुगमनको लागि पुगेका थियौँ उनले सामाजिक सञ्जामा लेख्दै भनेका छन् ।


यस्तो लेखेका छन् बालेन शाहले :


हाम्रो चुनावी घोषणापत्रमा हप्तामा एक दिन सामुदायिक विद्यालयमा सीप, उद्यमशीलता, खेलकुद, सङ्गीत, कला तथा नेतृत्व विकासका लागि प्रशिक्षण कार्यक्रमको व्यवस्था गरिने उल्लेख गरिएको थियो। सोही घोषणा अनुरूप महानगरको सबै सामुदायिक विद्यालयमा ‘बुक फ्री फ्राइडे’ कार्यक्रम सञ्चालन भइरहेको छ।


‘बुक फ्री फ्राइडे’ अन्तर्गत ५६ सामुदायिक विद्यालयमा ‘शिक्षामा सिप’ कार्यक्रमको अनुगमन सुरु गरिएको छ। आज तेस्रो हप्तामा वडा नम्बर ५ स्थित टंगाल मावि र वडा २५ स्थित कन्या माविमा अनुगमनको लागि पुगेका थियौँ।


टंगाल माविमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीले काष्ठकला र मोबाइल मर्मत सम्बन्धी तालिम लिँदै छन् । उक्त कार्यक्रममा सहभागी नभएका विद्यार्थी भाइबहिनीहरूले अन्य अतिरिक्त क्रियाकलापमा हस्तकला बनाउने, कक्षा कोठा सजाउने कार्यक्रम गरेका थिए ।


यस्तै कन्या माविका विद्यार्थी भाइबहिनीहरूले सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), कपडा निर्माणको तालिम लिँदै छन् । यस तालिममा सहभागी नभएका विद्यार्थिहरुले भने निर्वाचनको अभ्यास कार्यक्रम आयोजना गरेका थिए । विद्यार्थीहरूले आफै उम्मेदवार, निर्वाचन अधिकृत, पर्यवेक्षक, मतदाता बनेर निर्वाचनको अभ्यास कार्यक्रम सञ्चालन गरेका थिए। यस कार्यक्रमबाट हाम्रो निर्वाचन प्रणालीको बारेमा विद्यार्थीहरूलाई विद्यालयमा नै जानकारी होस भन्ने उद्देश्य राखिएको छ ।


यसका साथै विद्यालयमा ‘इको क्लब’ स्थापना गरी विद्यार्थी भाइबहिनीहरूलाई परिचय लोगो समेत प्रदान गरिएको थियो ।