काठमाडौं/२५ बैशाख-शिक्षामन्त्रालय यतिवेला बजेट तर्जुमाको चटारोमा छ । मन्त्रालय आ.व २०८०/८१ को बजेट बनाउने क्रममा आन्तरिक रुपमा छलफलमा जुटेको छ । यस क्रममा राष्ट्रिय योजनाआयोग र अर्थ मन्त्रालयसँग समन्वय एवम् छलफल हुने गर्दछ । किनकी यो विषयएक्लै पार लाग्ने विषयमा पर्दैन । वार्षिक रूपमा तर्जुमा गरिने यस्ता कार्यक्रम तथा बजेटमा बाह्य सरोकारवालासँग पनि छलफल तथा अन्तरक्रिया हुने गर्दछ । बढि मात्रामा शिक्षाकै आन्तरिक कर्ताहरूसँग छलफल हुने प्रचलन रहेको छ । पेशागत संघ संगठन एवम् अन्य लाभकारी समूहसँग पनि अन्तरक्रिया हुने गर्दछ तर अन्तिम टुङ्गो आन्तरिक रूपमाहुने छलफलबाट लगाइने प्रचलन छ । विगतमा जस्तै यस वर्ष पनि यी नै प्रावधानले निरन्तरता पाउने देखिन्छ ।
शिक्षा क्षेत्रको बजेट तथा कार्यक्रम तर्जुमाको क्रममा मन्त्रालयले कति मन फुकाउन पाउँछ त ? यस्तो प्रश्नको जवाफका लागि बजेट तथा कार्यक्रमको संरचना र यसका अवयवहरुको बारेमा जानकारी लिनु उपयुक्त हुन्छ ।
शिक्षामन्त्रालयले राष्ट्रिय योजना आयोगबाट हरेक वर्ष सिलिङ्ग प्राप्त गर्दछ, जुन आफैँमा बढोत्तरीमा आधारित हुने गर्दछ । सिलिङ्ग निर्देशित बजेट तथा कार्यक्रम तर्जुमाका आफ्नै बन्धन तथा सीमा हुन्छन्, जुन शिक्षामन्त्रालयको हकमा पनि लागु हुन्छ । यसैगरी बजेट तथा कार्यक्रम तर्जुमा गर्दा अर्को सीमाले पनि मन्त्रालयको हात बाध्ने गर्दछ, सो भनेको अनिवार्य दायित्वका विषय क्षेत्रहरूलाइ शुरूमा सम्बोधन गर्नुपर्ने । अर्थात चालु एवम् उपभोग प्रकृतिका कार्यहरूलाई शुरुमा बजेट विनियोजन गरेर मात्र बाँकी रहेको बजेट अन्य क्षेत्रमा लगाउनु पर्ने हुन्छ । यस्ता चालु प्रकृतिका शीर्षकमा हरेक वर्ष रकम घट्ने नभइ थपिदै जाने सम्भावना हुन्छ । किनकी उपभोग प्रकृतिका यस्ता कार्यमा मुद्रास्फिर्ती एवम् स्वभाजन्य कारणबाट पनि रकम बढाउनु नै पर्ने हुन्छ ।
माथिका यी दुई सीमा तथा बन्धनहरूलाई खुकुलो नबनाइकन शिक्षामा बजेट तर्जुमा गर्दा मन्त्रालयले मन फुकाउन सक्दैन । मन्त्रालयले मात्र चाहेर बजेट बढ्न सक्दैन । मुलुककै बजेटको आकार नबढिकन शिक्षाको मात्र बजेट बढ्न त्यति सजिलो छैन । बजेटमा सुधारका लागि माथिका बन्धनमा पुनसंरचना गर्नेर बजेट थप गर्ने कार्यमा जानु पर्ने हुन्छ । यी कार्यले शिक्षामा बजेट बढ्ने बाटो खुल्ला हुन्छ अनि बाटो फराकिलो पनि हुन्छ ।
अब शिक्षा बजेटको संरचना हेरौँ । आर्थिक वर्ष २०७८/०७९ मा शिक्षा क्षेत्रको बजेट १७८ अर्ब जति थियो जुन यस आर्थिक वर्ष २०७९/८० मा १९६ अर्ब रहन पुग्यो । विगतको ट्रेण्डलाई आधारमान्दा अर्को आर्थिक वर्ष अर्थात २०८०/८१ का लागि शिक्षा बजेट लगभग २०० अर्बको हाराहारीमा हुनसक्ने देखिन्छ । यो आँकडा अनुमानमा आधारित हो । बजेट तर्जुमाको क्रममा ट्रेण्डमा आधारित नभइकन शिक्षा बजेट बढ्न पनि सक्छ । सबैको अपेक्षा पनि यहि नै छ ।
शिक्षा क्षेत्रमा विनियोजन गरिने यस रकमको लगभग ६५ प्रतिशत जति रकम तलव, भत्ता, पेन्सन, उपदान आदिमा सकिन्छ । सरकारी निकाय एवम् संरचनाको संचालन तथा व्यवस्थापन खर्चमा जम्मा बजेटको लगभग ५ प्रतिशत जति खर्च हुन्छ । यी दुवै कार्यहरू अनिवार्य दायित्वका विषय हुन्, जसमा जम्मा बजेटको लगभग ७० प्रतिशत जति रकम सकिन्छ ।
शिक्षा क्षेत्रमा विनियोजन गरिने यस रकमको लगभग ६५ प्रतिशत जति रकम तलव, भत्ता, पेन्सन, उपदान आदिमा सकिन्छ । सरकारी निकाय एवम् संरचनाको संचालन तथा व्यवस्थापन खर्चमा जम्मा बजेटको लगभग ५ प्रतिशत जति खर्च हुन्छ । यी दुवै कार्यहरू अनिवार्य दायित्वका विषय हुन्, जसमा जम्मा बजेटको लगभग ७० प्रतिशत जति रकम सकिन्छ । भएका संगठन, संरचना एवम् दरबन्दी पुनरावलोकन नगरिकन यस्ता शीर्षकमा खर्च घट्ने सम्भावना छैन । माथि नै भनिसकियो कि मुद्रास्फिर्ति एवम् ग्रेड, पेन्सन आदिमा वृद्धिहुने कारण यस्तो खर्च हरेक वर्ष बढ्ने हुन्छ नै ।
तलव,भत्ता, पेन्सन,उपदान एवम् संचालन खर्चमा लगाएर बाँकी रहेको शिक्षा बजेट लगभग ३० प्रतिशत जति मात्र हुन्छ । यस बजेटबाट बालविकास सहजकर्ता, निशुल्क पाठ्यपुस्तक, छात्रवृत्ति, दिवाखाजा, सेनेटरी प्याड जस्ता कार्यक्रमदेखि उच्च शिक्षाका केहि बाध्यकारी विषय क्षेत्रमा लगाउनु पर्ने हुन्छ । यी विषय क्षेत्रहरू पनि लगभग अनिवार्य दायित्व जस्तै विषयमा पर्छन् । तर यीनलाई लगानीको दृष्टिकोणबाट तय भएका कृयाकलापमा राख्ने गरिन्छ । किनकी यीनलाई सन्चालन नगर्न सकिदैन । यस्ता कार्यका लागि वार्षिक लगभग २५ अर्ब जति रकम खर्च हुन्छ, जुन कुल शिक्षा बजेटको लगभग ७ प्रतिशत जति हो ।
चालु प्रकृतिको अनिवार्य दायित्व र लगानीको अवधारणा बमोजिमको अनिवार्य दायित्व जस्तै रकम जोड्दा शिक्षा बजेटको लगभग ७७ प्रतिशत जति रकम पुग्छ । यस्ता कार्यहरू अनिवार्य दायित्ववा सोसरहका क्षेत्रहरू हुनजसमा बजेट घटाउन सकिदैन । यस्ता कार्यमा बजेट विनियोजन गरेपछि बाँकी हुन आउने लगभग २३ प्रतिशतजति बजेटबाट शिक्षामा गुणस्तर सुधार, क्षमता विकास, शिक्षक तालिम, पूर्वाधार विकास, आइसिटी विकास आदि जस्ता कार्यहरु संचालन गर्नुपर्छ ।
शिक्षा बजेट अर्थात लगभग २०० अर्बको २३ प्रतिशत रकम लिएर पूर्व प्राथमिक शिक्षा वा वालविकास केन्द्र देखि लिएर उच्च शिक्षासम्मका बाँकी सबै कार्यक्रम संचालन गर्नुपर्छ । पूर्वाधार निर्माण यहिँ बजेटबाट गर्नुपर्छ ।
यसो भनिरहँदा प्रश्न उठ्न सक्छ । के शिक्षा क्षेत्रको बजेट तर्जुमा गर्ने कार्य अत्यन्त निराशाजनक छ त ? के अहिलेको बजेटबाट खासै केहि गर्ने अवस्था नै छैन त ? के हाम्रो अवस्था तलब भत्ता एवम् भएका निकायको संचालन गरेर मात्र बस्ने प्रकृतिको हो त ?
शिक्षाको अवस्था निराशाजनक मात्र पनि छैन । धेरै क्षेत्रमा उपलब्धि हासिल भएका पनि छन् । शिक्षामा हाल विनियोजन गरिएको बजेट अत्यन्त न्यून पनि होइन । मनग्ये नभए पनि हाल विनियोजन गरेको मात्रालाई अन्य क्षेत्रको तुलनामा राम्रै पनि मान्नु पर्छ । लगभग २०० अर्बको बार्षिक बजेट भनेको ठूलै रकम हो । यसको समुचित सदुपयोग गर्न सकेमा राम्रै उपलब्धि हासिल गर्न सकिन्छ । तर यसका लागि केहि प्रतिवद्धता भने चाहिन्छ ।
शिक्षामा बजेट तथा कार्यक्रमको माध्यमबाट अवस्था सुधार गर्नका लागि तीन ओटा दृष्टिकोणमा स्पष्ट हुनु आवश्यक देखिन्छ । यी मध्ये कतिपयमा काम भएका पनि छन् । तर त्यतिले मात्र पुग्दैन ।
पहिलो, भएको बजेटको उच्चतम सदुपयोगमा कसरी गर्ने भन्ने हो । संसारमा बजेट पुगेन वा कम भयो भन्ने अवस्था रहि नै रहन्छ । थप चाहिन्छ भन्ने पनि हुन्छ नै । बजेट कम र गर्नु पर्ने काम धेरै भएपछि काममा प्राथमिकता कायम गर्नु पर्छ । यसअन्तर्गत कम प्राथमिकता महसुस गरिएका कामहरू अहिले नगरेर खर्च घटाउने एवम् भएकै कामहरूको समायोजन गर्न सकिन्छ । यी कार्यबाट खर्च घट्नमा सहयोग पुग्छ । यो कामगर्न सके बजेटमा केहि संरचनागत परिवर्तन हुनसक्छ ।
तर यी कार्यहरू हेर्दा सामान्य जस्ता लागे पनि तीनलाई व्यवहारमा उतार्न त्यति सजिला छैनन् । यसका लागि ठूलो इच्छाशक्ति आवश्यक हुन्छ । यस्तो इच्छाशक्ति कुनै एक व्यक्ति वा एकाइमा होइन कि समग्र राजनैतिक इकोसिस्टममा नै चाहिन्छ । किनकी चालु खर्च कटौती गर्दा हाल लाभ पाएको कुनै न कुनै वर्गवाट सो लाभबाट बन्चित हुन पुग्छ । अर्थात त्यस्ता लाभपाएका समूहबाट उक्त लाभ झिक्नु पर्ने हुनसक्छ । पाइरहेको लाभवाट कसैलाई विमूख हुनुपर्दा यस्तो वर्ग पक्कै पनिचुपलागेर नबस्न सक्छ । उनीहरू आफ्ना लागि उक्त लाभ जोगाउन वा सके थप गर्न लविङ्गमा लागि हाल्छन्, जुन अस्वभाविक होइन । समग्र राजनैतिक इकोसिस्टमले मात्र यस्ता दवावलाई निस्तेज गर्न सक्छ न कि सामान्य प्रशासनिक संयन्त्रले ।
दोस्रो,भएकै बजेटलाई थप प्रभावकारी बनाउन भएका दरबन्दि तथा संरचनाको पुर्नसंरचना गर्नुपर्छ, जसले समग्र बजेट तथा कार्यक्रमको पुनर्संरचना गर्न सहयोग गर्छ । यस्तो पुर्नसंरचना गर्दा संगठन, जनशक्ति र कार्यक्रमको पुनरावलोकन गरिन्छ । यसले समग्र शिक्षा प्रणालीमा उथलपुथल ल्याउन सक्छ । यस्ता कार्यबाट केहि शीषर्कमा बजेट बचत हुने र केहिमा थप गर्नुपर्ने पनि हुनसक्छ ।
तेस्रो, शिक्षामा बजेटको मात्रा थप गर्ने । तर बजेट थप गर्दैमा उपलब्धि आइहाल्छ भन्ने पनि नहुन सक्छ । थप उपलब्धि लिनका लागि पनि माथिका दुइओटा उपायहरूको कार्यान्वयन गर्न सक्नु पर्छ । समता र लागत प्रभावकारितालाई ध्यानमा राख्न सकिएन भने थप भएको बजेट लक्षित समूह भन्दा पनि लाभ पाएकै वर्गको पोल्टामा पर्नसक्छ । बजेट थपका साथमा समता र लागत प्रभावकारिता सम्बन्धी सुधारका कार्य पनि सँगै लैजान सक्नुपर्छ ।
यी माथिका तीन ओटा कार्यमा मन्त्रालय अहिले के गर्दैछ त ? गर्नुपर्छ मात्र भनेर बसेको छ कि यसका केहि प्रयास गरेको छ त ? यी र यस्तै प्रश्न आउनु अस्वभाविक भएन ।
आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रम बजेट तर्जुमा गर्दै गर्दा मन्त्रालय मध्यमार्गी बाटो अवलम्वन गर्नुपर्ने बाध्यतामा छ । मुलुकको समग्र आर्थिक अवस्था, राजस्वको अवस्था, एवम् चालु खर्चको ट्रेण्डलाई नजिकबाट अध्ययन गर्दा शिक्षा क्षेत्रमा बजेट बढ्ने सम्भावना कमजोर बनेको आभाष हुन्छ ।
मन्त्रालयको चाहना त बजेट बढोस भन्ने नै हो । माग पनि हुने गर्दछ जुन विगतदेखि भइआएकै छ । तर मन्त्रालय सीमा तथा बन्धन मुक्त पनि छैन । आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रम बजेट तर्जुमा गर्दै गर्दा मन्त्रालय मध्यमार्गी बाटो अवलम्वन गर्नुपर्ने बाध्यतामा छ । मुलुकको समग्र आर्थिक अवस्था, राजस्वको अवस्था, एवम् चालु खर्चको ट्रेण्डलाई नजिकबाट अध्ययन गर्दा शिक्षा क्षेत्रमा बजेट बढ्ने सम्भावना कमजोर बनेको आभाष हुन्छ । चालु वर्षको बजेटमा २० प्रतिशत कटौती भएर आएको रकमलाई आधार मान्ने हो भने पनि अर्को वर्षको बजेट यस वर्ष समायोजित हुनुभन्दा अघिको बजेटको शुरुअङ्क भन्दा फरक नपरे आश्चर्य नमान्दा हुन्छ जस्तो परिस्थिति बन्दैछ । अहिले भएकै अङ्ककाआधारमा बजेट तर्जुमा गर्दा कार्यक्रमलाइ पुनः प्राथमिकिकरण गर्न नसक्ने हो भने नयाँ कृयाकलाप थप गर्ने सम्भावना कमजोर बन्छ । तसर्थ भएकै कृयाकलापको पुनः प्राथमिकिकरण सबै भन्दा पहिलो कार्य हुनपुगेको छ । यसका लागि सबै प्रतिवद्ध हुन सक्नुपर्छ । मेरो काम गरिहालौँ अरूको हकमा प्राथमिकता कायम होओस् भनेर मात्र पुग्दैन ।
मन्त्रालयको अर्को चाहना कानूनी पूर्वाधार तयार हुन सकुन, जसले बजेट तथा कार्यक्रम पुनर्संरचना गर्न सहयोग गरोस भन्ने हो । लामो समयदेखिको प्रयासमा रहेको शिक्षा सम्बन्धी कानूनहरूको अभावमा शिक्षामा ठूला पुर्नसंरचनाका कार्यहरू हुनसकेका छैनन् । शिक्षा क्षेत्रमा कानूनले पुर्नसंरचना नगरेसम्म ठूला मात्रामा बजेट तथा कार्यक्रमको पुर्नसंरचना सम्भव छैन । नयाँ कानूनको अभावमा नयाँ मैदानमा नयाँ खेल खेल्ने नभइ उपलब्ध मैदानमा उपलब्ध खेल मात्र खेल्न सक्ने सम्भावना रहन्छ ।
आगामी वर्षको बजेट तर्जुमा गर्ने क्रममा गर्नै पर्ने अर्को कार्यमा भएका शैक्षिक संस्थाको समायोजन गर्ने र त्यसबाट वचतहुन आएको रकम पुन लगानीका स्वभाव भएका कृयाकलापमा खर्च गर्न लाग्नु पर्छ भन्ने हो । यति मात्र गर्न सक्ने हो भने पनि अहिले भएकै बजेटबाट धेरै सुधारका काम गर्न सकिन्छ । माथि भनिएझैँ भएका शैक्षिक संस्थाको समायोजन गर्न राजनैतिक इकोसिस्ट तयार रहन सक्नुपर्छ । समायोजनको सफलता यहि प्रणालीको स्वीकारोत्तिमा भर पर्दछ ।
साथै भएकै बजेटबाट बढि भन्दा बढी उपलब्धि लिन तीन तहका सरकारका निकायहरूले संचालन गर्ने कृयाकलापहरूको वीचमा समन्वय र समपूरक भूमिका चाहिन्छ । कार्यक्रममा हुने दोहोरोपना हटाउन सक्नुपर्छ । तीन ओटै तहका वीचमा साझाधारणा बनाउन सक्नुपर्छ । भएका पूर्वाधारको उच्चतम प्रयोगमा ध्यान दिनुपर्छ । अति आवश्यक भएका स्थानमा बाहेक नयाँ निर्माणका काम थप्नु हुदैन । जहाँ निर्माण गरिन्छ तहाँ समयमै सक्ने ढंगवाट काम गर्नुपर्छ ।
यसैगरी मुलुकको विद्यालय शिक्षाको विकासमा दाता एवम् मनकारी समूह एवम् वर्ग व्यक्तिको चन्दा सहयोगको मात्रा अहिले घटे जस्तो देखिन्छ जसलाई बढाउन सक्नु पर्ने अवस्था छ । अहिले सहयोग भन्दा पनि बाध्यकारी रूपमा सहयोग लिने प्रचलन सामान्य जस्तै बनिसक्यो । विद्यालयले आफ्नो लागि सजिलो बाटो खोज्यो । विद्यार्थीको भर्ना एवम् परीक्षा लगायतका कार्यमा लगेर रकम टास्न थालियो । यस्तो रकम सबैका लागि समान एवम् बाध्यकारी बनाइयो । अभिभावकको तर्फबाट हेरिएन । चन्दा सहयोगलाई बाध्यकारी बनाइयो । यसमा सुधार चाहिन्छ । अभिभावक र चन्दादाताको सहयोग लिनसक्नु पर्छ । यसकालागि सबैलाइ बाध्यकारी नभइकन स्वेच्छामा आधारित बनाउन सक्नुपर्छ । यसबाट रकम मात्र नभइअपनत्व बढ्न सहयोग पुग्छ जुन शैक्षिक संस्था विकासका लागि सहयोग पुग्छ नै ।
भौतिक पूर्वाधारमा अवलम्बन गरिएको ढाँचा र लगानीका बारेमा पुनर्विचार आवश्यक देखिन्छ । अहिलेको ढाँचामा पूर्वाधार बनाउने हो भने यो कहिल्यै नसकिने प्रोजेक्ट बन्ने निश्चित छ । अबको २०,२५ बर्षको अवस्था अनुमान गरेर भौतिक पूर्वाधार बनाउनु पर्ने देखिन्छ । अहिले सबैलाई ठूला ठूला भौतिक पूर्वाधार चाहिएको छ । पातलो बस्ति भएका स्थानमा साना चुस्त र वलिया संरचना निर्माण गर्ने तर्फ ध्यानदिनु पर्ने रहेछ । मर्मत सम्भार गरेर चल्ने स्थानमा नयाँ बनाउनु भएन ।
अबको २०,२५ बर्षको अवस्था अनुमान गरेर भौतिक पूर्वाधार बनाउनु पर्ने देखिन्छ । अहिले सबैलाई ठूला ठूला भौतिक पूर्वाधार चाहिएको छ । पातलो बस्ति भएका स्थानमा साना चुस्त र वलिया संरचना निर्माण गर्ने तर्फ ध्यानदिनु पर्ने रहेछ । मर्मत सम्भार गरेर चल्ने स्थानमा नयाँ बनाउनु भएन ।
शिक्षाका क्षेत्रमा खर्च गर्ने इकाइ वा कस्ट सेन्टर लगभग ३० हजारको हाराहारीमा छन् । जति धेरै कस्ट सेन्टर हुन्छन् मितव्ययीताको प्रश्न उठ्न सक्छ । समयको प्रश्न पनि उठ्छ । लागत प्रभावकारिताको प्रश्न उठ्न सक्छ । थोरै विद्यालय भएको स्थानीय तहमा शिक्षक तलव, भत्ता, पेन्सन जस्ता कार्यहरू स्थानीय तहवाट व्यवस्थापन गर्ने र विद्यालयको संचालन एवम् मर्मत खर्च मात्र विद्यालयमा जाने व्यवस्था गर्न सकिन्छ । यस्तो कार्यको परीक्षण साना विद्यालयबाट शुरु गर्दा हुन्छ जहाँ कम शिक्षक छन्, लेखा व्यवस्था गर्ने कर्मचारी छैनन् । यसले एकातिर आर्थिक व्यवस्थापन प्रणाली बलियो बनाउन सहयोग पुग्छ भने अर्कोतिर विद्यालयका शिक्षक एवम् प्रधानाध्यापकको समय शिक्षण सिकाइ कृयाकलापलाई बलियो बनाउन सहयोग पुग्छ ।
अन्तमा
शिक्षा मन्त्रालय यतिबेला माथि उल्लेख गरिएका बन्धन तथा सीमाभित्र रहेर शिक्षा क्षेत्रको बजेट तथा कार्यक्रम तर्जुमामा जुटिरहेको छ । सो सीमाभित्र रहनु भनेको ठूला संरचनागत परिवर्तन नगरिकन बजेट तथा कार्यक्रम तर्जुमा गर्नु हो । शिक्षामा संरचनागत परिवर्तन चाहिन्छ । तर अहिले तत्काल यो कार्य सम्भव देखिदैन । अर्को वर्ष ठूला संरचनागत परिवर्तन गर्ने गरी कानूनी संरचना निर्माण गर्न अहिलेदेखि नै लाग्नु पर्ने देखिन्छ । राजनैतिक इकोसिस्टममा प्रतिवद्धता खोज्न आजैबाट शुरू गर्नुपर्ने अवस्था छ । भ्यालु फर मनिको सोचबाट अहिलेदेखि नै निर्देशित हुनसक्ने वातावरण बनाउन लाग्नुपर्छ ।
अहिले बजेट बनाउदै गर्दा सबै तह र निकायमा कार्यरतहरू थप व्यवहारिक बन्नु पर्ने अवस्था छ । एकै पटक ठूलो मात्रामा बजेट बढ्ने सम्भावना पनि देखिदैन । तसर्थ भएकै बजेटको उच्चतम् सदुपयोगमा जोड दिनु पर्ने अवस्था छ । विद्यालय, स्थानीयतह, प्रदेश र संघको स्रोतको वीचमा समन्वय र साझेदारीता कसरी बनाउने भनेर बहस गरी उपाय सुझाउन र कार्यान्वयन गर्न बहस गर्न ढिला भइसकेको छ । विनियोजन भएको बजेट समयमै खर्च गर्न सक्ने वातावरण बनाउन सबै जना चनाखो बन्नु पर्ने अवस्था छ । जे कामका विनियोजन भएको हो । त्यसमा खर्च गर्नका लागि जवाफदेहीता बढाउनु पर्ने अवस्था छ । आर्थिक पारदर्शिता कायम गर्ने कार्यमा अत्यन्त चुस्त र बलियो बन्नु पर्ने अवस्था छ । भएकै कामबाट लाभ सृजना हुनका लागि माथिका कार्यमा ध्यानदिनु पर्ने अवस्था । यस्तै कार्यहरूको सँगालोबाट थपलाभ सृजनाहुने र त्यसैमा क्रमश थपहुदैँ जाने हो ।
(डा.हरिप्रसाद लम्साल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हुन् । यस लेखमा व्यक्त विचार लेखकका निजी विचार हुन ।)



