काठमाडौं/२३ बैशाख-शिक्षा, विज्ञान तथा प्रविधिीमन्त्री अशोककुमार राईले सरकार नयाँ विश्वविद्यालय खोल्न ऐन कानुनको तर्जुमा गरिरहेको बताएका छन् ।
सुन्दरहरैँचा गोठगाउँमा अवस्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा नबिल बैङ्कले निर्माण गरिदिने अडिटोरियम हल र बैङ्क भवनको शिलान्यास गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले भने प्राज्ञहरुको सुझाबअनुसार नै सरकारले कदम चालिरहेको छ । सरकारले मात्र विश्वविद्यालय सञ्चालन गर्न सक्दैन शैक्षिक प्रतिष्ठानहरु जनताले माया गरेर राख्नुपर्ने हुन्छ । जनताको माया पाउने गरी काम गर्नुपर्ने चर्चा गर्दै उनले राज्यबाट विश्वविद्यालयका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणमा सहयोग हुने बताए ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय सभाका सदस्य रमेशजङ्ग रायमाझी, सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाई, विश्वविद्यालयका साधन स्रोत परिषद्का अध्यक्ष एवं कोशी प्रदेशका पूर्वसभासद् र नबिल बैङ्कका प्रमुख कार्याकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बोलेका थिए ।
विश्वविद्यालय परिसरमा नबिल बैङ्क आफ्नो शाखा कार्यालयको भवन र विश्वविद्यालयका लागि सुविधासम्पन्न अडिटोरियम हल निर्माण गरिदिन लागेको हो । गोरखापत्रबाट



