फोटो बालेन शाहको वालबाट
काठमाडौं/१० बैशाख-काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरपालिकाभित्र पर्ने निजी तथा संस्थागत विद्यालयहरुले उपलब्ध गराउनुपर्ने छात्रवृति नियमसँगत रुपमा उपलब्ध गराउन आग्रह गरेको छन् । विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ नियम ५८ र ५९ को प्रावधान अनुसार निजी तथा संस्थागत विद्यालयहरुले अनिवार्य रुपमा छात्रवृत्ति उपलब्ध गराउन आग्रह गरेको हुन् ।
शाहले निजी तथा संस्थागत विद्यालयहरुले उपलब्ध गराउने छात्रवृत्ति अन्तर्गत प्रत्येक कक्षामा प्रथम र द्वित्तीय हुने विद्यार्थीहरूलाई क्रमशः शतप्रतिशत र पचास प्रतिशत शुल्क मिनाहा गर्ने तथा विद्यालयहरूले कुल विद्यार्थी संख्याको कम्तीमा दश प्रतिशतमा नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरिव, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द पीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने नियम रहेको बताउँदै छात्रवृति नियमसँगत रुपमा उपलब्ध गराउन हुन ध्यानाकर्षण गराएका छन् ।
साथै छात्रवृत्ति सम्बन्धित सम्पुर्ण जानकारी विद्यालयको वेबसाईट तथा सुचनापाटिमा टाँस गरि अभिभावक र विद्यार्थीहरुलाई सुचित गराउन समेत भनेका छन् । नियमको पालना गर्न, गराउन पहल गर्न सम्बन्धित विद्यालय,अभिभावक तथा सम्पूर्ण सरोकारवालालाई अनुरोध गर्दे, अन्यथा कानुन बमोजिम कारवाही अगाडि बढाउन महानगर बाध्य हुने उनले बताए । यस सम्बन्धि कुनै समस्या देख्नु भएमा काठमाडौ महानगर कलसेन्टर ११८० मा कल गरेर गुनासो गर्न सकिने छ ।



